भैरहवा । नेकपा (माओवादी) को तर्फवाट (रुपन्देही–३) का प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर प्रसाद ज्ञवालीले वर्तमान संसदीय व्यवस्था असफल भएको दाबी गर्दै राष्ट्र जोगाउने उद्देश्यले आफ्नो उम्मेदवारी दिएको बताएका छन् । उनले संविधान संशोधन गरी कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने आवश्यकता औंल्याएका छन् ।
ज्ञवालीले जनताले चाहेका धेरै विषय संविधानले पूरा गर्न नसकेको उल्लेख गर्दै केही प्रावधान कटौती गरेर संविधान पुनर्लेखन गर्नुपर्ने धारणा व्यक्त गरे। ‘श्रम आफै गर्नुपर्छ, आफ्नै माटोमा बाँच्नुपर्छ भन्ने हाम्रो मूल विचार हो,’ उनले भने ।
उनले एमसिसी संसदबाट पारित हुनु नै जनस्तरमा असन्तुष्टि बढ्नुको कारण बनेको दाबी गरे। ‘एमसिसी पास भएपछि जेनजी आन्दोलन भयो। देश नै नरहने स्थिति आउन थालेको महसुस गरेर हामी फेरि जनताको आवाज संसदमा पुर्याउन चुनावमा आएका हौँ,’ उनले बताए ।
ज्ञवालीले आफ्नो पार्टीले पहिलो संविधानसभाको निर्वाचनपछि लामो समय बहिष्कारको नीति अवलम्बन गरेको स्मरण गर्दै अब संसदमा प्रवेश गरेर जनताको आवाज सशक्त रूपमा उठाउने योजना रहेको बताए । एमसिसीको विरोधका क्रममा पार्टीका केही नेता–कार्यकर्ता जेल परेको र केही सहिद भएको उल्लेख पनि उनले गरे ।
उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यले न्यूनतम ग्यारेन्टी दिनुपर्ने माग अघि सारे । ‘शिक्षा र स्वास्थ्य नेपाली जनताको आधारभूत अधिकार हो। राज्यले यसको जिम्मेवारी लिनुपर्छ,’ उनले भने ।
भ्रष्टाचार नियन्त्रणलाई प्रमुख एजेन्डा बनाएका ज्ञवालीले भ्रष्टाचारीलाई आजीवन कारागारको व्यवस्था गर्नुपर्ने बताए । साथै, विगतका भ्रष्टाचारका मुद्दाहरू छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याई सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने उनको भनाइ छ ।
स्थानीय तहको बजेट फजुल खर्चमा गएको दाबी गर्दै उनले त्यसलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याए । ‘जनताको करको पैसा दुरुपयोग हुन दिनु हुँदैन,’ उनले भने ।
कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै ज्ञवालीले नेपाल सुहाउँदो समाजवादको मोडेल विकास गर्नुपर्ने धारणा राखे । ‘हाम्रो पार्टी कृषि आधारित छ । कृषि आधुनिकीकरण भएपछि मात्र उद्योगधन्दा चल्छ,’ उनले बताए । गाउँपालिकाले कृषि उत्पादन र बजारीकरणको ग्यारेन्टी गर्नुपर्ने, बिचौलिया हटाउनुपर्ने तथा किसानलाई मल, खाद, बीउबिजन सहज उपलब्ध गराउनुपर्ने उनको माग छ ।
रुपन्देही–३ मा ‘गुलाबको फूल’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका ज्ञवालीले मतदाताबाट उत्साहजनक प्रतिक्रिया पाएको दाबी गरे। ‘राष्ट्र बेच्नका लागि त जसलाई भोट दिए पनि हुन्छ, तर राष्ट्र जोगाउन हाम्रो उम्मेदवारी हो,” उनले भने ।
उनले मतदातामा परिवर्तनको चाहना देखिएको उल्लेख गर्दै आफूले उठाएका एजेन्डा जनताले सकारात्मक रूपमा लिएको बताए ।









