भैरहवा ।
रुपन्देहीको छपिया पछिल्लो समय ‘माछा गाउँ’ रूपमा परिचय बनाएको छ । जिल्लाको सियारी गाउँपालिका वार्ड नम्बर ४ र ५ पर्ने छपियामा माछा उत्पादनको परिचय बनाएसँगै माछासँगै जोडिएर पर्यटकीय गन्तव्य विकास भएको छ ।
बुटवलको पश्चिम तामनगर,तिलोत्तमा र भैरहवाबाट वाट छपिया पुग्नको लागि १५ देखी २० किलोमिटर दुरी रहेको यो गाउँपालिका माछा पालन, माछाको परिकार विक्री,आकर्षण रेष्टुरेन्ट निर्माण भएपछि नेपाल भारतीय सीमाबाट नजिकै भएकाले छपियामा नेपालीसँगै भारतीय पर्यटक पनि आउने गरेका हुन् । उनीहरूले ताजा, स्वादिलो माछा खानेसँगै यहाँको मनोरम दृश्य हेर्न आउने गरेको सियारी ४ का स्थानीय युवा उमेश थारु बताउँछन् ।
ग्राहकहरू माछा किन्न र खानपनि आउने भएपछि यहाँ माछा पोखरीको डिलमा रिर्सोट खुल्ने क्रम बढेको छ । माछाका परिकार खानपिनसँगै आवासीय सुविधा प्रदान गर्न यस्ता रिर्सोट सञ्चालन गरिएका छन् । छपियामा अहिले आकर्षक रिसोर्ट र रेस्टुरेन्टका लागि परिचित हुन थालेको स्थानीय आत्माराम चौधरीले बताए । बुटवल, भैरहवा तथा भारतबाट आउनेहरूको लागि यहाँ रहेका रिसोर्टमा परिवार सहित घुमफिर गर्नेसँगै खानपान गर्ने व्यवस्था रहेको छ । कतिपय रिर्सोटमा माछा पोखरीमाथि संरचना निर्माण गरेका छन् । जसले थप घुम्न जानेहरूको लागि थप लोभ्याएको छ ।
उत्तरमा चुरे पहाड, दक्षिण सीमावर्ती सहर छन् । सम्मे ठाउँ छपियामा आकर्षक दृश्यहरू हेर्दै माछाको झोल, फ्राई,माछाको सेकुवा,स्टिम माछा, माछा तावा, माछाको मम, माछा चिल्ली, बोनलेस,फिस बल, फिस फिङ्गर, माछाको छोइला, सुकुटी लगायत डेढ दर्जन परिकार उपलब्ध रहेको व्यवसायी रमेश खनाल बताउँछन् ।
यहाँको लुम्बिनी प्यालेस रिर्सोटले ढुङ्गामा चढेर कोठासम्म पुग्ने र पोखरीको बिचमै रहेको कोठामा रात बिताउन मिल्ने‘पोन्ड भिल्ला’तयार गरेको छ । स्थानीय माछा पालक गौरव गौतमले २०७४ देखी सियारी ४, शिवपुरमा रिर्सोट सञ्चालन गरिरहेका छन् ।
मत्स्य व्यवसायी सङ्घ रुपन्देहीका निवर्तमान अध्यक्ष पुण्यप्रसाद चौधरीले ०५८ सालबाट माछा पालन थालेका थिए । ७ बिघामा भुरा उत्पादन तथा ह्याचरी सञ्चालन गरिरहेका छन् । चौधरीले नै ७ करोड रुपैयाँ लगानी गरेर सखिया फिस रिर्सोट समेत सञ्चालन गरेका छन् ।
चौधरीका अनुसार उक्त वडा सियारी गाउँपालिकाको सँधियार वडा हो । यसलाई पनि छपिया माछा क्षेत्र भनेर चिन्ने गरिन्छ । ‘पालिका अर्को भए पनि माछा उत्पादन गर्ने क्षेत्र भएकाले छपिया माछा गाउँ नै भन्ने गरिन्छ,’उनले भने, ‘हामीले पनि त्यहीँ भनेरै चिनाउँछौँ ।’चौधरीका अनुसार सियारीमा साना–ठुला गरेर १० वटा रिसोर्ट सञ्चालनमा छन् ।
ती रिसोर्टमा ५ देखि ९ करोड रुपैयाँसम्म लगानी भएको उनको भनाई छ । उनले भर्ने यहाँ कुनै रिसोर्टमा ५ करोड लगानी छ कुनैमा ८,९ करोड पनि छ ।
यहाँको माछा बुटवल, भैरहवा, कपिलवस्तु, पाल्पा बाहेक भारतीय ग्राहकहरूको उस्तै रोजाइमा परेको छ ।
सुनौली नाका हुँदै भारतीयहरू घुम्न आउँदा छपिया क्षेत्रमा माछा खानको लागि जाने गर्छन् । भारतीयले माछा आयातमा औपचारिक रूपमै रोक लगाइएको छ । तर नेपालबाट अनौपचारिक रूपमा भारतमा समेत माछा निर्यात हुने गरेको व्यवसायीहरू बताउँछन् ।
भारतको गोरखपुर,नैतुहवा आदि सहरमा माछाको सिजनमा यहाँको ताजा र स्वादिलो माछा सीमावर्ती क्षेत्रकाबाटै थुप्रै ग्राहकले लैजाने गर्दछन् । उनीहरू मध्ये धेरैले पाहुरको रूपमा आफन्तहरूलाई पठाउने गर्दछन् ।
रुपन्देही माछा व्यवसायी सघका अध्यक्ष दीप भुसालले विगतमा काठमाडौँ,पोखरा पठाउने गरे पनि पछिल्लो सडकका कारणले उता पठाउन अप्ठ्यारो परेको बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मत्स्य सुपर जोन कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत नारायण काफ्ले पछिल्लो समयमा माछा खाने संस्कार बढिरहेकोले पनि माछा पालन व्यवसाय फस्टाइरहेको दावी गर्छन् ।
सुपर जोन कार्यालयका अनुसार यहाँ ८ सय ८७ हेक्टर क्षेत्रफलमा माछा उत्पादन भएको छ । जसमा माछा सुपर जोनमा कुल उत्पादन ५४०२ मेट्रिक टन भएको छ । जसमा ४८६१ मेट्रिकटन माछा बजारीकरण भएको छ । जसको मूल्य ९७ करोड २३लाख रहेको कार्यालय प्रमुख नारायण काफ्लेले जनाए । परियोजनाले माछा ढुवानीको सहजताका लागि एउटा गाडीसमेत जलदेवी मत्स्य कृषि सहकारी संस्थालाई प्रदान गरेको छ । सुपर जोन लागू भएपछि जिल्लाका सियारीसँगै,गैडहवा, मायादेवी, सुद्धोधनमा पनि व्यवसायीलाई उत्साहित भएका छन् ।
सियारी गाउँपालिकाले यहाँ माछा उत्पादनलाई प्रोत्साहन गर्ने नीति ल्याएको छ । माछा पालक किसानलाई उत्पादनमा आधारित रकम दिने गरेको छ ।
सियारी गाउँपालिका साना माछा किसानहरूलाई प्रोत्साहन गर्नको लागि उत्पादनमा आधारित अनुदान कार्यक्रम चलाएको कृषि तथा पशु अधिकृत गणेश प्रसाद खनालले बताए ।
गाउँपालिकाले यहाँप्रति केजी ५ रुपैयाँ अनुदान किसानलाई दिएको छ । गत साल त्यसबाट ३ सय ७५ किसानले लाभ लिएर उनले बताए । उनले किसान पोखरी अनुगमन गर्ने र उत्पादन भएपछि गाउँपालिका निवेदन दिएकाहरू रकम प्रदान हुने गर्दछ । यो आर्थिक वर्षमा पनि उक्त कार्यक्रम चलिरहेको छ ।
उनले यहाँ रहेका ठुला किसानलाई माछा सुपर जोन लगायतका अरू कार्यक्रम समेट्न भएपछि साना किसानहरू आफूहरूले प्रोत्साहन गर्न उक्त कार्यक्रम ल्याएको बताए ।
नेपाल सरकार कृषि मन्त्रालय र प्रदेश कृषि मन्त्रलाले माछा कहिले पशुमा राख्ने,कहिले पन्छीमा राख्ने गरेको छ । जसबाट माछा पालनलाई सरकारले प्राथमिकता नै नदिएको किसानको गुनासो रहेको छ ।
माछा किसानहरूलाई उद्योग रूपमा दिँदै नेपाल विधुत प्राधिकरणले मिटर प्रदान गरेको छ । माछा व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष एवं पछियाका माछा पालक किसान दीप भुसालले माछापालक किसानलाई कृषिको कार्यविधि नराखेपछि समस्या भएको बताउँछन् ।
उनले माछालाई पानी खुवाउने किसानले उद्योग सरह विद्युतको विल तिरेर कसरी माछा पाल्न सक्छन् भन्दै प्रश्न गरे । प्राधिकरणले विद्युत मिटरलाई उद्योगमा राख्दा माछा पालकले नचाए पनि नचलाए पनि बिल तिर्नुपर्ने हुन्छ । तर कृषिमा राख्दा चलाउँदाको विल तिर्नुपर्ने हुन्छ । उनले माछामा खुवाउने दानाको गुणस्तरको बारेमा सरकारले ध्यान दिनुपर्ने बताए । उनले माछामा कस्तो गुणस्तरको दाना खुवाएको, कति मूल्यमा खुवाएको कुनै लेखा जोखा विना परम्परागत रूपमा माछा पालन भएको उनको भनाई छ ।उनले बजारको विषयमा पनि सरकारले सहजी करण गरिदिनु पर्ने बताउँछन् । à
छपिया: मत्स्य पर्यटनको गन्तब्य
छपियामा नेपालीमात्र होइन भारतीय पर्यटक पनि आउने गरेका छन् ।

गौतमबुद्ध सन्देश








