प्राक्कथनः
वि.सं. २०३४ वैषाख २८ गतेका दिन गुल्मी जिल्लाको धुर्काेटमा जन्मिई हाल भैरहवामा स्थायी रुपमा बसोबास गर्दै आएकी कवि सिर्जना खनाल धेरै पहिलेदेखि नै साहित्यप्रति सानिध्यता रहँदै आए पनि मुलतः २०७५ सालबाट छन्दोबद्ध कविताहरु लेख्न थालेकी हुन् र यसैबाट उनको काव्यिक यात्राको थालनी भएको हो । शिक्षा क्षेत्रमा लामो समय विताएकी कवि सिर्जना खनाललाई मुलतः परिवार, साहित्यिक संघसंस्था र साहित्यकारहरुको सङ्गत एवम् प्रेरणाबाट साहित्य क्षेत्रमा लाग्न उत्प्रेरित गरेको हो । शब्दयात्रा प्रकाशन, काभ्रेबाट प्रकाशित “अङ्कुरित सृजना” उनको पहिलो कविता सङ्ग्रह हो ।
पछिल्लो समय सञ्चारमाध्यम एवम् सामाजिक सञ्जालको विकाससँगै छन्दप्रतिको मोह बढ्दै गएको देखिन्छ । छन्द सिक्ने र सिकाउने परम्पराको विकासले पनि यसलाई मलजल दिएको हो । छन्दमा कविता सिर्जना गर्ने र भाखा हाली गाएर रेकर्ड गरी सामाजिक सञ्जाल मार्फत् व्यापकता पाउने अभ्यासले पनि छन्द आम पाठक र स्रोतावीच लोकप्रिय बन्दै गएको छ । यही मेसोमा कवि सिर्जना खनालका केही कविताहरु सामाजिक सञ्जालमार्फत् लोकार्पण भएका छन् । यस्तै सङ्गतिले पनि कविको कवित्वलाई थप मलजल गरेको देखिन्छ ।
अङ्कुरित सृजनाको संक्षिप्त परिचयः
अङ्कुरित सृजना कविता सङ्ग्रहमा जम्मा छिहत्तर बटा छन्दोबद्ध कविताहरु छन् । सङ्ग्रहका कविताहरु शाद्र्रूलविक्रीडित, पञ्चचामर, अनुष्टुप, मालिनी, वसन्ततिलका, शिखरिणी, मन्दाक्रान्ता लगायतका एक्काईसवटा छन्दहरुमा रचना गरिएको छ । हरेक कविताहरुको शिर्षकसँगै छन्दको नाम र उक्त छन्दको सुत्रसमेत समावेश गरिएको हुँदा छन्द बुझ्न समेत यो सङ्ग्रहले सहयोग गर्ने देखिन्छ । सङ्ग्रहित कविताहरुमा परिष्कारवादी शिल्प र स्वच्छन्दतावादी चेत मिश्रित भएको देखिन्छ । अग्रजको स्तुतिगानसँगै परिवार, समाज, देश, राजनीति, प्रकृति, मानवताजस्ता विविध विषयहरुले कवितामा स्थान पाएका छन् । कविताहरुमा कतै आध्यात्मिक त कतै नारीवादी चेत र कतै मानवताको भाव प्रष्फुटन भएका छन् । कविताहरुले प्रेम, सम्बन्ध, प्रकृति, राष्ट्रभाव, शान्तिको कामना, विदेशिनुको पीडा, मातृत्व, स्वतन्त्रता, विकृति र विसंगतिको विरोधजस्ता विषयहरुलाई पनि उठान गरेका छन् । छन्दको उचित प्रयोग र भाषिक सरलता सङ्ग्रहभित्रका कविताहरुका विशेषता बनेका छन् ।
अङ्कुरित सृजनाका कविताहरुको भावः
पहिलो कविता ‘सरस्वतीको आराधाना’ कवितामा कविले विद्या, वुद्धि र ज्ञानकी देवी सरस्वतीको स्तुतिगान गरेकी छन् । दोस्रो कविता ‘मातृवन्दना’ हो । यसमा अनेक कष्ट व्यथा सहेर आमाले आफ्ना सन्तानलाई हुर्काउने र अगाध माया ममता खन्याउने भएकाले आमालाई भगवानसँग तुलना गरिएको छ । यही क्रममा ‘मुटुभित्र बाबा’ शिर्षकको कविताले कर्म दिने पिताको महिमा गान गरेको छ भने ‘गुरु’ कविताले असल गुरु प्राप्त भएमा जीवन नै चकमन्न हुने कुरा बताइएको छ । ‘दृढ इच्छा’ कवितामा कवि सृजनाले जीवनलाई सार्थक बनाउन सिर्जनामा लागिरहन चाहेको कुरा बताएकी छन् भने कविमा देशभक्ति र परोपकारी बन्ने चाहना पनि छ । त्यतिमात्र होइन कविले सकरात्मक सोचका साथ जीवनलाई सुन्दर दृष्टिले हेरेकी पनि छन् ।
‘प्रकृतिको सुषमा’, ‘छन्दगुरु’, ‘नारी’, कविताहरुमाा क्रमश प्रकृति, छन्द सिकाउने गुरु र नारीको बखान गरिएको छ । ‘परदेशीको पीडा’ कवितामा कविले आफ्नो परिवार, साथी, आफन्त सबै छोडी जीवन निर्वाहको दौरानमा परदेशिनुपर्दाको दुःख, कष्टलाई शब्दचित्रमा उतारेकी छन् । ‘सहिद’ कविताले सहिदको योगदानबारे चर्चा गरेको छ भने मनमा नराम्रो भाव छ भने त्यसलाई हटाएर चित्त शुद्धि बनाएमा जीवन सुन्दर बन्नसक्ने कुरा ‘मनको विचार’ शिर्षकको कवितामा प्रस्तुत गरिएको छ । त्यसैगरी ‘जीवनसाथी’ कवितामा कविले परिवार सुन्दर बनाउन पतिपत्नीको अहम् भूमिका हुने कुरा बताएकी छन् ।
‘शीतलहरी’ कवितामा चिसो हावापानीको प्रभाव उल्लेख गरिएको छ भने ‘कवि’ शिर्षकको कवितामा कविले आफ्ना सिर्जना मार्फत् समाजको यथार्थमात्र चित्रण गरेको हुँदैन बरु समाजलाई प्रगतिको मार्गमा हिड्न पनि सिकाएको हुन्छ भन्ने कुरा कलात्मक ढंगले शार्दूलविक्रीडित छन्दमा प्रस्तुत गरिएको छ । सङ्ग्रहको पन्ध्रौँ कविता हो ‘बुद्ध पुकारौँ’ । यसमा समाजलाई सुन्दर बनाउन बुद्धका विचारहरुको सान्दर्भिकता प्रस्तुत गरिएको छ । नेपालीहरु एक भएमा मात्र विकास र समृद्धि हासिल गर्न सकिने कुरा ‘भै एक ढिक्का जुटौँ’ शिर्षकको कवितामा प्रस्तुत गरिएको छ । ‘समस्या’ शिर्षकको कविताले समस्या आएमा निराश भएर बस्ने होइन बरु त्यसको समाधानका लागि पहल गर्नुपर्ने सन्देश दिएको छ ।
‘वसन्त’, ‘काव्यरस’ र ‘जीवन’ शिर्षकका कविताहरुले क्रमशः वसन्त ऋतु, साहित्य सिर्जना र जीवन दर्शनका कुराहरुलाई दर्शाएका छन् । मन कोमल हुन्छ र सानोसानो कुराले पनि यसलाई सजिलै दुखाउँछ भन्ने कुरा ‘चसक्क दुख्छ’ भन्ने कवितामा प्रस्तुत गरिएको छ । ‘प्रेमको भाव’ कविताले जीवनलाई प्रेमको रङ्गले इन्द्रेणीभैmँ रङ्गीन बनाउन सकिने कुरा बताएको छ । ‘सङ्गीत’, ‘नववर्षप्रति’, ‘कालो कारोना’ र ‘श्रमिक’ जस्ता कविताहरुले शिर्षकलाई न्याय गर्नेगरी विषयगत कुराहरुको उठान गरेका छन् । त्यसैगरी ‘मातामा प्रणाम’ कविताले आमाको महिमा गान गाएको छ ।
ध्यान, धर्म, सरलता, असल चिन्तन र निश्चिन्त मनले जीवन सफल बन्ने कुराको वकालत ‘मनुश्य चोला’ शिर्षकको कविताले गरेको छ । ‘वर्षाको उदारता’ शिर्षकको कवितामा वर्षायामको महिमा गान गरिएको छ । ‘जनलहर’ कवितामा नेतृत्व वर्गले जनताको आवाजलाई सम्बोधन गर्नुपर्ने कुरा उल्लेख गरको छ भने ‘म यस्तो बनूँ’ कवितामा सिर्जनाका माध्यमले जीवनलाई सार्थक तुल्याउन सकिने कुराको वकालत गरिएको छ । ‘योग’, ‘तिज’ र ‘पसिना’ कवितामा विषयत कुराको काव्यिक उठान सान्दर्भिक ढंगले गरिएको छ । त्यसैगरी कविले ‘हे युवा’ शिर्षको कवितामा युवाहरुलाई असल कर्ममा लाग्न प्रेरित गरेकी छन् ।
‘चित्त नै हर्दछौ कि?’ कवितामा प्रेमका विषयहरु उद्गार गरिएको छ भने ‘छोरीको बिदाइ’ कवितामा आफ्नी प्राणभन्दा प्यारी छोरीलाई पराइघरमा सुम्पदा मातापिताका मनमा उत्पन्न हुने पीडाभावलाई काव्यिक रुपमा प्रस्तुत गरिएको छ । त्यसैगरी ‘प्यारो मान्छे बन्न देऊ मलाई’ कवितामा जीवनसाथीलाई प्रेमिल सम्बोधन गरिएको छ । सभ्यताको द्योतक मान्दै ‘मान्छे’ कवितामा मानिसले गरेको विकास र प्रगतिलाई प्रस्तुत गरिएको छ भने कवि सिर्जनाले ‘धर्तीको ध्वनि’ कवितामा संसारमा असतको हार र सत्यको जीतको कामना गरेकी छन् । यही क्रममा ‘दीपावली’ कवितामा कविले किवताका माध्यमबाट तिहार पर्वको चित्र कोरेकी छन् । ‘सत्कल्पना यो गर’ कवितामा नारीमाथि भइरहेको उत्पीडन, शोषण र दमनको अन्त्यको कामना गरिएको छ ।
बैवाहिक दिनको सम्झना गराउने कविता हो ‘विशेष दिन’ र ‘दासता’ कविताले स्वतन्त्रताको पक्षमा वकालत गरेको छ । विद्या, ज्ञान र विवेकबाट सभ्यताको विकास हुने कुरा ‘सभ्यता’ शिर्षकको कवितामा उल्लेख गरिएको छ भने ‘भ्रष्टाचार’ कविता मार्फत् कविले भ्रष्टाचारको अन्त्य नगरेसम्म मुलुकको उन्नति हुन नसक्ने दाबी गरेकी छन् । त्यसैगरी ‘ओरालो लागेको छ माया’ कविताले छोराछोरीप्रतिको माया ममताको सीमा नहुने कुरा उल्लेख गरेको छ र अध्ययन वा रोजगारीको सिलसिलामा विदेशी भूमिमा पुगेका युवाहरुलाई स्वदेश जानुभन्दा आफ्नै माटोमा पसिना बगाउन उत्प्रेरित गर्ने कविता हो ‘अनिकाल’ ।
‘शिल्पसाधना’ कवितामा साहित्य लेखनमा परिस्कारवादको अपेक्षा गरिएको छ । त्यसैगरी ‘हेमन्ती कहर’ कविताले हेमन्त ऋतुको प्रभावले जीवनलाई कष्टमय बनाउने चिन्तन प्रस्तुत गरिएको छ । ‘सन्तानप्रतिको आशा’ कवितामा कविले छोराछोरीहरुले शिक्षा, संस्कार र सभ्यतालाई कहिल्यै पनि विर्षन नहुने कुरालाई शालिनी छन्दमा शालिन तरिकाले प्रस्तुत गरेकी छन् । शक्ति, स्वतन्त्रता, शान्ति, शिल्प र नीतिको व्यवस्थाको रुपमा लोकतन्त्रको सदुपयोग गर्नुपर्ने कुरालाई ‘प्रजातन्त्र’ कविताले बताएको छ । ‘होस् स्वच्छ चिर्वाचन’, ‘मनमा बुद्ध पाल्नुछ’, ‘सम्झनामा सिद्धिचरण’ र ‘शुभकामना छोरीलाई’ कविताहरुले शिर्षकलाई न्याय गरेका छन् । ‘धन’ कवितामा धनभन्दा ज्ञान र विवेक ठुलो हो भन्ने भाव बोकेको छ भने ‘दौँतरी’ कविताले असल संगत गर्नुपर्ने कुराको वकालत गरेको छ ।
‘हे काव्यका भूषण’ शिर्षकको कविता सङ्ग्रहको ६१ औँ कविता हो । यसमा आदिकवि भानुभक्तको भाषिक एवम् साहित्यिक योगदानको चर्चा गरिएको छ । जीवनयात्रा सहज गराउन मानिसलाई कसै न कसैको सहारा चाहिने कुरा ‘सहारा’ शिर्षकको कविताले बताएको छ भने ‘छोरालाई अर्ती’ कवितामा कविले ज्ञानी, निडर, स्वाभिमानी र शान्त बन्न सन्तानलाई उत्प्रेरित गर्न खोजेकी छन् । ‘एकता खल्बलिन्छ’ कवितामा नेपालीहरु आपसमा मिलेर देश विकासका लागि कर्म गर्नुपर्ने सन्देश प्रवाह गरिएको छ । ‘अभिलाषा’ कवितामा कविले आफ्नो चाहना प्रस्तुत गरेकी छन् भने ‘नदी’ कविताले नथाकी कर्तव्यमा लम्किरहेमा गनतब्य भेट्न सकिने कुरा बताएको छ ।
‘स्वागतम् शरद’ कविताले शरद ऋतुको महिमा गान गरिएको छ । साहित्यमा नातावाद कृपावाद र अहम्वाद फैलँदै गएको हुँदा यसबाट टाढा रहनुपर्ने कुराको सन्देश ‘साहित्य पेवा भयो’ शिर्षकको कविताले बताएको छ । ‘नवरात्र’ कविताले नवरात्रीको सुन्दर पक्षको चित्रण गरेको छ । ‘नेता र नेतृत्व’ कवितामा नेताले देश विगारेको आरोप छ । ‘राष्ट्रभक्ति’, ‘राष्ट्रकवि’ र ‘वीर’ कविताले शिर्षक अनुसारको काव्यिक भाव प्रस्तुत गरेका छन् । ‘बन्ने छु ताजा’ कवितामा कविले जीवनमा जतिसुकै दुःख कष्ट आइपरे पनि नित्य रुपमा कर्म गर्दै अगाडि बढ्नुपर्ने कामना गरिएको छ । ‘अङ्कुरित सृजना’ शिर्षकको कविता, कविता सङ्ग्रहको नामाङ्करण गरिएको कविता हो । आफूले जानेको, बुझेको र पढेको ज्ञानबाट साहित्य सिर्जना गर्दै अगाडि बढ्दै गएको र यसैको परिणामस्वरुप कविता सङ्ग्रहको जन्म भएको कुर कवितामा उल्लेख गरिएको छ । अनुष्टुप् छन्दमा लेखिएको सङ्ग्रहको अन्तिम कविता हो ‘दृष्टान्त’ । यस कवितामा जीवनलाई सार्थक बनाउन अपनाउनुपर्ने कुराहरुलाई लक्षणाशक्तिको प्रयोगबाट सुन्दर ढंगमा प्रस्तुत गरिएको छ ।
केही कवितांशमा सृर्जनाको कवित्वः
कवि सृजनालाई साहित्यको जादुले तानेको छ । त्यसैले साहित्य सिर्जनामा मग्न हुने चाहना छ उनको । अक्षरसँग खेल्दै काव्यिक यात्रालाई अडाडि बढाउने र जीवनरुपी बगैँचालाई फुलाउने र सुगन्धित बनाउने उनको मनोकाक्षा प्रकटित भएको छ । त्यसैले उनी भन्छिन्,
मेरो मस्तक होस् सिलोटसरिको टीका बनून् अक्षर
होस् मुस्कान उषासमान जहिल्यै साहित्य होस् सुन्दर
हेरुँ हर्दम नेत्रले म कविता लेखूँ नहोऊन् क्षति
होऊन् पङ्क्ति सबै सुपुष्प सुकिला उद्यानका सम्पत्ति (दृढ इच्छा, पृष्ठ ६)
सत्यको साथमा शिल्प झन् दिव्य छ
ज्ञानले कर्मको दिव्यता टिप्दछ
काव्यको सारले जन्म होस् साधन
शिल्पले मानको हुन्न है मर्दन (शिल्पसाधना, पृष्ठ ६४)
कविलाई नारी भएकोमा गर्व छ । धर्तीलाई अनुपम कलाका साथ सिर्जनाले भर्ने काम नारीले गर्दछिन् । नारीका रुप अनेक छन् । कहिले नारी सीताजस्तै सहनशील बन्छिन् त कहिले राधा जस्तै प्रेमिल पनि बन्दछिन् । घरको अर्थतन्त्र चलाउने लक्ष्मी वा दानवीय पवृत्तिको अन्त्य गर्ने चण्डिका नारी नै हुन् । त्यसैले नारीको महिमा गान गर्न कवि पछि परेकी छैनन् । त्यसैगरी नारी पुरुष दुबै बराबरी हुन् र सिर्जनाका लागि दुबैको उक्तिकै योगदान छ भन्ने नारीवादी सहित यथार्थवादी चेत पनि छ कविमा, जुन निकै कम नारी कविहरुमा पाइन्छ । यस्ता भावमा उनको कवित्व यसरी पोखिएको छ,
नारी हुन् झलमल शशी, फूल, झर्ना, बिहानी
यो धर्तीकी अनुपम कला हुन् सुनौला कहानी
सीता, राधा, अतुल भृकुटी, चण्डिका, फेरि लक्ष्मी
बन्छिन् आमा सरलपनले कल्पनाकी तिलस्मी (नारी, पृष्ठ १०)
नारीमाथि थिचोमिचो भइरहे संसार चल्दैन रे
माटामा जल सुस्तरी नफिँजिए खाद्यान्न फल्दैन रे
नारी या नर होस् दुवै मन मिली बाँडौँ ससाना व्यथा
पक्का पढ्न म पाऊँला समयमै ढुङ्गा फुलेको कथा (जीवन साथी, पृष्ठ १६)
भगवान गौतम बुद्धको देशमा शान्ति, मेलमिलाप र एकताको कमी भएको हुँदा सबैले बुद्धका विचारहरुलाई आत्मसाथ गर्नुपर्ने कुराको आह्वान गरेकी छन् कविले । प्रेमले सद्भाव बढ्छ, आनन्दको सञ्चार गराउँछ र मनलाई सन्तुष्ट बनाउँछ, जीवनलाई रसमय बनाउँछ भन्ने कविको मान्यता छ । यस्ता सन्दर्भलाई कविले आफ्ना कवितामा यसरी प्रस्तुत गरेकी छिन्,
आशा छ आऊ बन्छ बगान
राख्छु तिमीमा तेज समान
बुद्धथलो नै शून्य छ आज
लौ न जगाआँै बुद्ध समाज (बुद्ध पुकारौँ, पृष्ठ २१)
स्वर्णका टाकुरा झैँ बनोस् यो मन
गीत गाऊँ सदा प्रेम होस् कन्चन
फूल झैँ मौनको हर्ष आनन्दले
थप्न पाऊँ सुधा प्रेममा चित्तले (प्रेमको भाव, पृष्ठ २९)
कवि स्वभावैले राष्ट्रप्रेमी हुन्छ । कवि सृजनाका कविताहरुमा पनि त्यो कवित्व झल्किएको छ । देशको कुनाकुनामा राष्ट्र नसल्बलाएसम्म देशको उन्नति हुन नसक्ने कविको जिकिर छ । पाखुरा बजाएर सिर्जनामा लग्नसक्यो भने मात्र देशले विकास गर्न सक्छ । त्यसैले वीर बनेर देशको रक्षार्थमात्र होइन निर्माण र समृद्धिको लागि नेपालीहरुलाई जागरुक हुन आह्वान गरिएको छ ।
मेचीको जलको घडा जतनले बोकेर रारा उठोस्
कालीको तटको शिला सहजमा निर्माण नौलो खुलोस्
नेपाली जनका विशाल मनका फक्रून सबै चाहना
हाम्रो देश झलल्ल स्वर्गसरि होस् राखेँ यही कामना (मेरो देश, पृष्ठ ४६)
न बन्न सक्छ रक्त यो न जल्न सक्छ पाखुरा
डटेर लड्न वीर छन् नहेप यो वसुन्धरा
उमङ्ग देख्छु आँतमा ज्वलन्त शक्ति हौ तिमी
लिएर राष्ट्र हातमा चहार्दछौ सबै जिमी (वीर, पृष्ठ ९१)
केही कविताहरुमा मानवताको पक्षमा वकालत गरिएको छ । आफ्नो आत्मालोचना गर्दै आफैमा सुधारको अपेक्षा पनि गरिएको छ । कतै नदीजस्तै निरन्तर कर्ममा खटिनुपर्ने चिन्तन छ त कतै सामाजिक विकृति र विसंगतिको चिरफार गर्दै समाज रुपान्तरणको कामना पनि गरिएको छ । हेरौँ केही कविताहरु,
स्वयम्को समस्या स्वयम्मै थुपारी
बनेको छ मान्छे सदाको भिखारी
निशामात्र रोज्ने ससङ्कोच चाला
समीक्षा नगर्दा तलै खस्न जाला (समस्या, पृष्ठ २४)
सरस नदीका भाव बटुल्दै
अलि पर सर्दै आँचल चुम्दै
अमृत घुलेको सौम्य छ भाव
वदन सुनौलो छैन प्रभाव (जीवन, पृष्ठ २७)
उपसंहार
वि.सं. २०७५ सालदेखि लेखिएका कविताहरुको संगालो अङ्कुरित सृजना कविता सङ्ग्रहबाट औपचारिक रुपमा आफूलाई कविका रुपमा दर्ज गराएकी सृजना खनालले आफ्ना कविताहरुबाट साहित्य, सम्बन्ध, परिवा, समाज, देश, काल र परिस्थिति एवम् प्रकृतिसँग सम्बन्धित रहेर छन्दोबद्ध कविताहरु पस्केकी छन् । कविताहरुको सङ्ख्या धेरै छ । धेरैजसो कविताहरुमा कवि ईश्वरप्रति आस्तिक देखिन्छिन् । कविताहरुमा परिस्कारवादको चेतना देख्न सकिन्छ भने कतिपय कविताहरुका विषयवस्तुहरुमा समानता पनि भेटिन्छ । अधिकांश कविताहरुमा अविधा शव्दशक्तिको प्रयोग भएका छन् । सरल भाषशैलीको प्रयोगले अङ्कुरित सृजना कविता सङ्ग्रह आम पाठक वर्गका लागि पठनयोग्य बनेको छ । छन्दको यथोचित एवम् न्यायोचित प्रयोग र उत्कृष्ट काव्यिक धारले कविताहरुलाई सुन्दर बनाएका छन् । साधनाबाट नै कविमा परिपक्कताको विकास हुने भएकाले आगामि दिनहरुमा विषयगत चयन, भावको गाम्भिर्यता र प्रगतिशील चेतको सन्दर्भमा कवि सृजनाबाट थप अपेक्षा गर्न सकिन्छ । ecosuraj@gmail.com









