वन मासिदै गएपछि संरक्षणका लागि सामुदायिक वनको अवधारण आयो । त्यसले वन संरक्षणमा अभूतपूर्व सफलता प्राप्त भएको छ । केहि अपवादका घटनालाई छाडेर स्थानीय समुदायले संरक्षण गरेका वन नमूनाको रुपमा रहेका छन् । बोटविरुवाको संरक्षण, उपभोक्ताको गर्जो टार्ने र वनको क्षेत्र विस्तार गर्ने कार्यमा सामुदायिक वनले राम्रो प्रगति गरेको छ । वन क्षेत्र बढ्दा मानिस, जीवजन्तु मात्र होइन समग्र पृथ्वीलाई नै योगदान पुगेके छ । मानिसका लागि वन पैदावारसँगै स्वच्छ हावा, जीवजन्तुका लागि राम्रो बासस्थान र वातावरण सन्तुलन राख्न योगदान पु¥याएका वनजंगलले प्रत्यक्षसँगै अप्रत्यक्ष आम्दानी पनि गराएको छ । कार्बन व्यापारबाट नेपालले राम्रै रकम हात पार्न सफल भएको छ ।
प्रदूषित हावा अर्थात कार्बनडाइअक्साइड आफुले लिएर मानिसका लागि अत्यावश्यक स्वच्छ हावा अर्थात अक्सिजन रुखले दिइरहेको हुन्छ । पृथ्वीमा जति पनि कार्बन उत्सर्जन हुन्छ, त्यो वायुमण्डलमा पुग्छ, जसको फलस्वरूप पृथ्वी तातिँदै पनि गएको छ, वायुमण्डलको माथिल्लो भाग हरितगृह कमजोर बनिरहेको छ । पृथ्वीको तापक्रम बढ्न नदिने र वातावरण सफा राख्ने प्राकृतिक काम वनजंगलले गरिरहेको हुन्छ । रुखहरूले कार्बन सोसेर सञ्चिति गरिदिन्छन् । नेपालमा वन फैलनु अर्थात् रुखहरू धेरै हुनु भनेको धेरै कार्बन सञ्चिति हुनु हो । हाम्रो देशको कुल भूभागको ४५ प्रतिशत वन क्षेत्र भइसकेको छ । सन् २०३० सम्म ४५ प्रतिशत वन क्षेत्र पु¥याउने लक्ष्य ७ वर्षअघि नै पुगेको छ । त्यसबापत अर्थात् कार्बन सञ्चिति गरेस्वरूप नेपालले रुपैयाँ प्राप्त गर्दछ । वन क्षेत्र विस्तारबाट देशलाई रामैै आर्थिक फाइदा कार्बन व्यापारबाट भएको छ । कार्बन व्यापारमा नेपाल दक्षिण एसियामा पहिलो र एसियामा उत्कृष्ट १० मा परेको छ ।
कार्बन व्यापारका सम्भावना धेरै छन् । वनबाट मात्रै नभई नेपालले बायोग्यासलगायतबाट कार्बन व्यापार गर्न सक्छ, भने जलस्रोत विद्युत्, फोहोर व्यवस्थापनलगायत पनि यसमा जोड्न सकिन्छ । वातावरणीय योगदानसँगै आर्थिक फाइदा लिन सरकारले नीति बनाउने र नागरिकले त्यसलाई पालना गर्ने गर्नुपर्छ । सरकारले कार्बन व्यापारबाट कमाएको रकम यसै क्षेत्रमा खर्च गर्नुपर्छ । गरीवी निवारण, विकास निर्माणसँगै वन क्षेत्रबाट नोक्सानी ब्यहोर्नुपर्ने नागरिकमुखी कार्यक्रम आवश्यक छ । (सम्पादकीय)









