भैरहवाको महोत्सवले दिएको पाँच सन्देश

महोत्सवको १ लाख २० हजार बढीले अवलोकन गरेका छन् भने १० देखी १२ करोडको कारोवार भएको आयोजकले जनाएको छ ।
विष्णु भट्टराई

यही मंसिर ३ देखि २१ गतेसम्म रुपन्देहीको भैरहवामा सञ्चालन भएको सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा सम्पन्न महोत्सवले भैरहवालाई केही हदसम्म चलायमान बनाउन सघाएको छ । महोत्सवको १ लाख २० हजार बढीले अवलोकन गरेका छन् भने १० देखी १२ करोडको कारोवार भएको आयोजकले जनाएको छ ।
‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने नाराका साथ यो महोत्सव आयोजना गरिएको थियो । यस वर्षको महोत्सवको आकर्षणमा फिस टनेल, जलपरी, आईफील टावर लगायत बाल उद्यानको मनोरञ्जन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो । त्यस्तै महोत्सवमा यस क्षेत्रको रैथाने खेलको रुपमा परिचित कुस्ती प्रतियोगिता तीन दिनसम्म सञ्चालन भयो । जसमा महिला पहलमानको पनि सहभागीता रहेको थियो ।
लुम्बिनी क्षेत्रका पर्यटकीय स्थलको विकास गर्ने र लुम्बिनीलाई यस क्षेत्रको आर्थिक पर्यटनको रुपमा विकास गर्ने, परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गरी राष्ट्रिय, साना तथा घरेलु उद्योग र व्यापारको प्रोत्साहनस्वरुप प्रवद्र्धन गर्ने लगायत महोत्सवको मुख्य उद्देश्यले मेला आयोजना गरिएको थियो ।
उद्घाटनपूर्व झाँकीसहितको र्याली निकालिएको थियो । जसमा यस क्षेत्रका विद्यालय तथा विभिन्न संघ–संस्थाहरुको राम्रो उपस्थिति रह्यो । महोत्सवल अवलोकनमा दर्शकहरुको राम्रो उपस्थिति रह्यो । महोत्सव सफल बनाउनका लागि आयोजककोतर्फबाट ३५ वटा उपसमिति बनाइएको थियो । समग्र रुपमा भैरहवाको महोत्सव सफल भएको मान्न सकिन्छ । महोत्सव सञ्चालन भइरहदा यसले केही सन्देशहरु दिएको छ । जसलाई मुख्यतः पाँच बुदाँमा बुझ्न सकिन्छ ।
१. बजार चलायमान
यहाँका उद्योगी–व्यवसायीका संस्थाहरुले वार्षिक रुपमा सञ्चालन गर्ने महोत्सव एकप्रकारको चाडपर्व जस्तै देखिएको छ । स्थानीयहरुले हरेक वर्ष यस्ता किसिमका मेला महोत्सवको पर्खाइमा रहने गरेका छन् । हरेक वर्ष आयोजना हुने मेला–महोत्सवले बजार चलायमान बनाउन ठूलो सहयोग गरेको छ । यसबाट समयसमयमा साना–ठूला मेला, महोत्सव, प्रदर्शनी आयोजना हुनुपर्छ भन्ने सन्देश दिएको छ ।
२. मनोरञ्जन र साँस्कृतिक प्रस्तुती
विशेषत: मेला महोत्सव मनोरञ्जनका लागी आयोजना गरिएको हुन्छ । नवप्रतिभाले आफ्नो प्रस्तुती देखाउने थलोका रुपमा पनि यसलाई लिने गरेका छन् । फलस्वरुप यिनै कलाकारहरु भविष्यमा राष्ट्रियस्तरमै पुगेको उदाहरणहरु प्रशस्तै छन् । अर्कोर्फ स्थानीय संस्कृति, प्रस्तुत गर्ने थलोको रुपमा पनि महोत्सवलाई लिइन्छ । यसकारण मनोरञ्जन र साँस्कृतिक प्रस्तुतीका लागी मेला–महोत्सवको आवश्यकता छ भन्ने सन्देश दिएको छ ।
३. स्थायी संरचनाको आवश्यकता
भैरहवा मण्डपको आवश्यकताका विषयमा यहाँका संघ–संस्थाले पटकपटक आवाज उठाउँदै आएका छन् । केही वर्षदेखि भैरहवामा सार्वजनिक जग्गा नहुँदा निजी जग्गामा महोत्सव सञ्चालन हुदै आएका छन् । अस्थायी संरचनामा लाखौ रकम खेर गइरहेको छ । स्थायी संरचना भएमा बहुउपयोगी मेला महोत्सव आयोजना गर्न सहयोग गर्छ । यसबाट भैरहवामा स्थायी मण्डपको आवश्यकता छ भन्ने सन्देश पुनः यस महोत्सवले दिएको छ । यसमा सरकारको ध्यान जान जरुरी छ । निजी (व्यक्ति) को जमिनमा कहिलेसम्म यस्ता मेला महोत्सवहरु गरिरहने ? उद्योग–व्यवसाय चलायमान गराउन तिनै तहका सरकारको उत्तिकै भूमिका रहन्छ । संघीय, प्रदेश र स्थानीय सरकारले यसमा हातेमालो गरेर स्थायी मण्डपको व्यवस्था गरिनुपर्छ ।
४. घरेलु र साना उद्योगलाई प्रोत्साहन
यस वर्षको महोत्सवमा करिब तीनसय स्टलहरु रहे । जसमा अधिकांश घरेलु र साना उद्योगका उत्पादनहरु देखिए । घरेलु तथा साना उद्योगीहरुले आफ्ना उत्पादनको प्रदर्शनी गर्ने र सहभागीहरुलाई जानकारी दिन सफल भए । भोलीका दिनमा बजारमा यस्ता किसिमका वस्तुहरुको माग बढ्ने र व्यवसाय विस्तारका लागी सहयोग गर्ने छ । त्यस्तै ठूला व्यवसायी र संस्थाहरुले पनि आफ्ना उत्पादन तथा सेवाको विषयमा जानकारी दिने थलोका रुपमा पनि महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । उपभोक्ताले पनि धेरै कुराहरुको जानकारी एकै स्थानबाट लिन सकेका छन् । यसबाट कम खर्चमा धेरै जानकारी लिन र दिनका लागी उल्लेख्य योगदान रहेको सन्देश दिएको छ ।
५. सरकारलाई चुनौती
यस्ता किसिमका बहुउपयोगी महोत्सवहरु आयोजना गर्ने मुख्य दायित्व सरकारकै हो । सम्बन्धित निकायहरुलाई परिचालन गर्दै उत्पादक÷उत्पादनलाई उपभोक्ता समक्ष जोड्नका लागि भूमिका खेल्नुपर्ने हो । तर, त्यसो भने हुन सकेको छैन । निजी क्षेत्रले नै यसको दायित्व निर्वाह गरिरहेका छन् । सरकारी निकाय मुख्य आयोजक हुने र व्यवस्थापनको जिम्मा निजी संस्थालाई दिने हो भने महोत्सवको प्रभावकारीता अझ बढ्छ । आवश्यकताका आधारमा स्थानीय, प्रदेश र संघीय सरकारले यस्तो खालको भूमिका खेल्न सक्छन् भन्ने सन्देश पाउन सकिन्छ ।
माथि उल्लेखित कुराहरुबाहेक महोत्सवका केही राम्रा र नराम्रा पक्षहरु छन् । रोजगारीको अवसर, नविनतम प्रविधिहरुको जानकारी, पुर्नताजकी, अध्ययन–अवलोकन लगायतका राम्रा पक्षहरु छन् भने पछिल्लो समय देखासिकीका भरमा विभिन्न नामका महोत्सवहरु आयोजना गर्ने प्रचलन बढ्दो छ । जसकारण मेला–महोत्सवको महत्व हराउने हो कि भन्ने चिन्ता पनि छ । महोत्सव आयोजना गर्नुपूर्व प्रयाप्त अध्ययन हुनु जरुरी छ । मेला–महोत्सवहरु एउटा हाटबजारको रुपमा परिणत भएको गुनासो पनि आउने गरेको छ । यस्ता महोत्सवले उद्योग–व्यवसाय प्रवद्र्धन गरिरहेका हुन्छन् । केही व्यक्ति वा संस्थाको लहडका कारण मात्र आयोजना हुने त्यस्ता महोत्सवले सीमितलाई फाइदा त होला तर अरुलाई भने हानी नै गर्छ ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका