“सुन्दर बिहानीले सुन्दर दिनको संकेत गर्छ” भने जस्तै, सानै उमेरदेखि घास दाउरा र गोठालो जाँदा आफ्नो परिवेशलाई शब्दमा टिप्दै हराउने बालक बिष्णु भण्डारी आज गीत लेखनको विशाल आकाशमा विचरण गरिरहेका छन्।
गुल्मी जिल्लाको धुर्कोट गाउपालीका ५ बस्तुमा पिता कृष्णप्रसाद भण्डारी र माता चुमकला भण्डारीको कोखबाट जन्मिएका भण्डारी सानैदेखि साहित्य सिर्जनाप्रति झुकाव राख्थे। सानैदेखि उनी निरन्तर लेखनमा लागिरहे। विद्यालयबाट फर्केपछि घन्टौँ दोहोरी र अन्ताक्षरी लेख्ने बानी थियो। उनी भन्छन् गृहकार्य गर्ने कापीको अगाडिबाट गृहकार्य पछाडि बाट गीत/कबिता हुन्थे। बाल्यकालमा संगै बसेर लेख्ने गुनगुनाउने साथि विषाल भण्डारीसँग बिताएका ती पलहरू अझै पनि उनलाई विशेषरूपमा सम्झना आउँछन्।
पढाइ र जीवन संघर्षका लागि काठमाडौं छिरेका भण्डारीको यात्रा सजिलो भने थिएन। उनी भन्छन, नगरेको काम र नभोगेको सायदै कमै होला। होटल, सडक व्यापार, सामान डेलिभरीजस्ता थुप्रै काम गर्दै उनले आफ्नो पढाइ र लेखन यात्रा निरन्तर अगाडि बढाइरहे।
उनको औसत स्कुले शिक्षा पछी उच्च शिक्षामा भने सधैँ अब्बल रहयो। व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका भण्डारी हाल बैंकिङ पेशामा संलग्न छन्।
स्कुल क्याम्पसका हरेक कार्यक्रमा बिष्णुका गजल कविता सदैव प्रतिक्षामा हुने गर्थे। अनामण्डली, मधुवनजस्ता साहित्यिक मञ्चहरूमा नियमित गजल, कविता वाचन गर्दै सिक्ने र लेख्ने कार्यलाई निरन्तरता दिइरहेका भण्डारीले सन् २०६५ सालमै गीत रेकर्ड गर्ने सपना देखेका थिए, जुन २०७७ सालमा मात्र साकार भयो। रेडियोका साहित्यक कार्यक्रम , पत्र पत्रीकामा आफ्ना रचना सार्वजनिक गर्दै निरंतर लेखनमा रम्दै आएका भण्डारी आफुलाई साहित्य संगीतको साधक भन्न रुचाउछन।
उनी सम्झन्छन्, पहिलो गीत रेकर्ड भएको दिन म सुत्नै सकिनँ। ठूलो सपना साकार भए जस्तो भयो। एक हप्ता सम्म आफ्नै गीत नै सुनिरहे र सुनाएँ। संगीतकार सरोज पोखरेलसँगको सहकार्यबाट सुरु भएको संगीत यात्रामा हालसम्म उनले १०० भन्दा बढी गीत रेकर्ड गराइसकेका छन्।
उनका गीतहरूमा सरोज पोखरेल, अर्जुन पोखरेल, दीपक राज विश्वकर्मा, खेम सेन्चुरी, विनोद बाजुराली लगायत थुप्रै चर्चित संगीतकारहरूको सङ्गीत रहेको छ। अन्जु पन्त, सुगम पोखरेल, प्रमोद खरेल, देवी घर्ती,प्रविशा अधिकारी, शान्तिश्री परियार, अस्मिता अधिकारी, प्रताप दास, समीक्षा अधिकारी, रचना रिमाल, अनु चौधरी, एलिना चौहान लगायत ख्याती प्राप्त गायक गायिकाहरूले उनका गीतहरूमा आवाज दिएका छन्।
रास्ट्रीय भावना,प्रेम ,बियोग विषयक गीतदेखि चलचित्रसम्म काम गरिसकेका भण्डारीका बिस्तारै बिस्तारै, जाली माया, मायाको गाउँ, मायाको देशैमा, चिसो मौसममा, डाली नुगायो चरीले, एक कदम आदि गीतहरू निकै चर्चित छन्। चाहे लोक चाहे आधुनिक होस या गजल भण्डारी हरेक बिधाको लेखनमा अब्बल छन् ।
गीतकार संघ नेपालद्वारा प्रदान गरिने “भैरवनाथ रिमाल कदम वर्ष गीत पुरस्कार २०८०” बाट सम्मानित स्रस्टा भण्डारीले बिन्दवासिनी म्युजिक अवार्ड, उपमा म्युजिक अवार्ड, म्युजिक खबर अवार्डलगायत थुप्रै अवार्ड तथा सम्मान प्राप्त गरिसकेका छन्।
आफ्ना सृजनालाई सन्तान जत्तिकै सम्झिने सर्जक भण्डारी
गीत लेखनसँगै संगीत पनि सिक्दै गरेको र आफ्नै सङ्गीतमा समेत दर्जन गीत रेकर्ड भइसकेको बताउछन् ।इमान्दारितापूर्वक कर्ममा विश्वास गर्ने भण्डारीको अध्यात्म, दर्शन र अर्थशास्त्रप्रति पनि गहिरो रुचि छ।
उनी भन्छन्, संगीत र साहित्य त साँच्चिकै नशा रहेछ। हरेक मानिसमा कुनै न कुनै लत हुन्छ — मेरो लत भनेको संगीत र साहित्य हो।बैंकिङ पेशामा समर्पित भण्डारी इमानदारीतालाई आफ्नो आभुषण सम्झिन्छन।









