क्या रमाईलो ! तिलिचो बेसक्यापमा रहेको होटल मुनलेकको १०४ नम्बर कोठाको झ्यालबाट बाहिर हेर्दै मैले भनें । आकाशबाट परेको हिमपातले करिब २ फिट हिउँ भरिसकेको थियो । बिहान झिसमिसे उज्यालोमा देखिएका सेतो हिउँले मनलाई प्रफूल्लित बनायो । दुईवटा खाट जोडेर तीनजना सुतेकामध्ये म बीचमा थिएँ । टाउको तिरको ग्रिल बिनाको सिसा लगाएको झ्याल खोलेर हेरें । पर्दा आंशिक खुल्ला थियो । कुनापट्टी दाइने हातले प्रकाश दाईलाई घचघच्याएँ, उठ्नुभयो । बाहिर कुलमणि दाइ, सन्तोष दाइ र श्री सर उठेर आइसक्नुभएको रहेछ, ढोकानीरै । राती ढोका खुल्लै राखेर सुतेकोले बाहिरको आवाज प्रष्टै सुनिन्थ्यो ।
हिजो राती खाङ्सारदेखि करिब ७ घण्टाको पैदलयात्रापछि हामी यहाँ आएका थियौ । खाना खाने बेला राती हिउँ पर्ने सम्भावनाको गाईगुईले मन चसक्क बनाएको थियो । सुत्ने बेलातिरबाटै हिउँ पर्न थालिसेको रहेछ । साँझ ७ बजेदेखी हिमवर्षा सुरु भएको थियो । बिहान ३ बजे तिलिचो तालको यात्रामा जाने योजना लगभग समाप्त । राती नै हाम्रो भेलाले बिहानसम्म कुरौ न जान पाइहाल्छ की भन्ने भयो ।
अहिले बिहानको ६ बजेसकेको रहेछ । कुलमणि दाइ कोठाभित्र पस्दै, ताल जान असम्भव रहेको बताउनुभयो । हामीलाई बाहिर निस्कन भन्दै, निस्किनुभयो । हामी उठ्यौ । मुख सुख्खा भएको रहेछ, थर्मसमा रहेको पानी पियौं । पल्लो खाटमा सुतिरहनुभएको कमल दाईलाई उठायौं, उहाँको टाउको दुखिरहेको रहेछ । सिटामोल दियौं । राती छेउपट्टी सुत्ने मोहन दाइ छिनछिनमै उठ्नुहुन्थ्यो । पेटमा समस्या देखिए छ । कठ्याँग्रिने चिसोमा पनि प्रकाश दाइलाई गर्मीले अत्याएको थियो । राती नै अधिकांश कपडा खोलेर सुत्नुभएको थियो । मलाई रुघा लागेजस्तो भएको थियो, बढी नसताओस् भनेर साइनेक्स खाएँ । अघिल्लो दिन चामेमा एक मिनेट निदाउन नसकेको मलाइ भने आज राम्रैसँग निद्रा लाग्यो ।

कोठाबाहिर आएर सबै जम्मा भयौ । धेरैको स्वास्थ्यमा सामान्य समस्या देखिएछ । हिजो बिहान आधा–आधा खानुपर्ने अल्टीच्युटको औषधि पूरा खाएर हो की, हाम्रो आशंका । पर्यटकहरु हिउँको मज्जा लिइरहेका थिए । हामीले पनि फोटो र भिडियो खिच्यौं । केहीबेरमा तातो पानी अभाव हुने भएकाले तत्काल भरेर जोहो गर्नुपर्ने कसैले सम्झायो । अघिल्लो दिन भरेको थर्मस रित्ता छन् । थर्मस बोकेर डाइनिङ हलमा गयौं । पानी माग्दा होटल कर्मचारीले पैसा तिर्नुपर्ने बताए । हातमा रहेको थर्मस देखाउँदै सोधेँ कति लाग्छ ? उत्तर थियो, छ सय । यो दुई लिटरको, यो एक लिटरको–पाँच सय दिन्छु । उनले अनकनाउँदै हुन्छ भने । सन्तोष दाइले पनि दुई वटा थर्मस लग्नुभएको रहेछ उहाँको पनि पाँच सयमै कुरा मिल्यो । पानी दिदै कर्मचारीले भने–‘लाइन छैन, अहिले पानी खान पाउनुभयो, खानाको आशा नगर्नु ।’ हामी कोठातर्फ लम्कीयौ । साथीहरुलाई तताएको पानी सकिन लागेको छ रे, यस्तो बेलामा ग्याँस जमेर बल्दैन रे खाना खान पाइदैन रे भन्ने सन्देश पुर्यायौ । बाँकी साथीहरु पानी भर्न जानुभयो, थर्मसको साइज अनुसारको पैसा तिर्नुभएछ । कुलमणि दाइ भन्दा पछि गएकाले पैसा तिरेर पनि पानी भर्न पाएनछन् । मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालज्यूले हामीलाई होटलमा १५ प्रतिशत छुट र तातो पानीको पैसा नलाग्ने गरी होटलको बिल तिर्न भन्नुभएको थियो । हिउँ परेपछि भने पानीको पनि पैसा तिरियो ।
हामी अलमलमै थियौ । केही थान फोटो र भिडियो खिच्यौं । तल झर्ने लगभग निश्चित भइसकेको थियो । हिमपात बढ्दै थियो । माथी जान असम्भव । आजको दिन यही बस्यो भने भोली तालमा जान पाइन्छ की भन्ने झिनो आशा थियो । बस्ने की फर्किने दोधारमा थियौं । तिलिचो पुग्ने चाहना लगभग मेटिए पनि जे होस् एकातर्फ हिमपातको अनुभव लिइरहेका थियाँै । केही यात्रीहरु बिहानै खाङ्सारतर्फ फर्किसकेका रहेछन्, केही फर्किने तरखरमा । हामी केही खाना पाइन्छ की भनेर डाइनिङतर्फ लाग्यौं । हामीले सुप खाइ नसक्दै धेरैजना फर्किसकेछन् । हामी पनि फर्किने भयौं । ‘हामी पनि यहाँ बस्दैनौं, अब होटल बन्द गरेर जान्छौं । तपाईहरु पनि गइहाल्नुस्,’ होटलवालाहरुको भनाइले मन खिन्न भयो । कसरी फर्किने भन्नेमा मन अतालियो । फिक्का सुप पिउँदै गर्दा गन्तव्यमा पुग्न नसकेकोमा मन पनि फिक्का फिक्का भयो ।

हाम्रो गाडी चालक शिशिर अर्याल भाइ र हामीसँगै सँगै आउनुभएको अजय सुवेदी दाइलाई केही समय अगाडी पठाएर गाडीलाई सुरक्षित गर्ने भन्ने कुरा भयो । हामी केहीबेरमा हिसाबकिताब गरेर जाने भयांै । पानी छेक्नका लागी प्लाष्टिक पाइन्छ रे किनौ, कुलमणि दाइले भन्नुभयो । कमल दाइ, प्रकाश दाइ र म पसलतिर लाग्यांै । पसलमा प्लाष्टिक सकिएछ । मूल्य पनि अचाक्ली प्लाष्टिकको रु. चार सय, बोराको दुई सय । त्यती तिरेर पनि पाएनौ । ‘घोडा अगाडिअगाडि बाटो बनाउँदै जान्छ, हामी पछाडिपछाडि जाने हो’– कसैले भन्दै थिए । शिशिर भाइ र अजय दाइलाई भेटेर चाँडै निस्कन भन्यौ । हामी कोठामा आएर झोला बोक्यौ, कमल दाइले मकै खल्तीमा हालीदिनुभयो, बाटोमा खानका लागि । होटलको हिसाबकिताब फरफारक पारेर हिंड्यौ । कुलमणि दाइले भने टाउको छोप्न मिल्ने बोरा होटलवालासँग माग्नुभएछ । हामी भिज्दै ।
बेसक्याम्पबाट तिलिचो ताल पुग्ने बाटो एकपटक सरसर्ती हेरे । सेताम्य हिउँले ढाकेको डाँडामा २२ घुम्तीको बाटो देखियो । २२ घुम्ती कटेर डाँडामा पुगेपछि केही तेर्साे बाटो पार गरेपछि तिलिचो ताल देख्ने सपना आखिर सपनामै सीमित भयो । तालबाट तिलिचो, निलगिरी, खांग्सार तथा मुक्तिनाथ हिमाल पनि देखिन्थे रे । अन्नपूर्ण हिमश्रृंखलामा पर्ने अरु हिमालहरु पनि थिए । लामो सास तानेर छोडे, तिलिचोलाई विदाई गर्दै ।
छेउमै मस्र्याङ्दी नदी सुस्याउँदै बगिरहेको थियो । पुल तरेर अगाडी बढ्यौ । हिमवर्षाले भुँइमा कपास फिजारेझै भएको थियो । टेक्दा घुजुम घुजुम । डबल पाइला परेका ठाउँमा भने कडा ढुंगाजस्तै । अगाडी केही घोडाहरु हिंडे, हामी पछिपछि लाग्यौ । पछाडि केही घोडाहरु र मानिसहरु हिंड्ने तरखरमा थिए । बेसक्याम्प छोडेपछिको पहिलो डाँडामा आइपुग्दा ५० जनाको हाराहारीमा मानिसहरु बेसक्याम्पमा थिए होलान् । तिनिहरु सायद फर्किने तरखरमै थिए ।
हिजो जादाँ र आज फर्किदा बिल्कुल फरक वातावरण थियो । फर्किदा हिजो देखिएका उराठलाग्दा काला पहाडहरु हिउँले सेताम्य भएका थिए ।

पाइला छिटोछिटो चल्दै थिए । बाटो हिउँले छोपिसकेको थियो । अगाडि जानेहरुको पाइला पछ्याउँदै हिड्यौ । मनमा धेरै कुराहरु खेलेका थिए । मुटुले डर मानिरहेको थियो । माथि हेर्यो पहिरो खस्छ की भन्ने डर, साँघुरो बाटो बाटोबाट चिप्लियो भने तल मस्र्याङ्दी पुगिने । बेसक्याम्पबाट हिंडेपछि केही तेर्सो–उकालो बाटो हिंड्यौ । घोडाले मान्छे नलग्ने तर, झोलाहरु लग्ने भएछ । केही साथीहरुले घोडालाई झोला बोकाउनुभयो । मलाई भने खासै अफ्ठ्यारो नभएकोले आफै बोक्ने निर्णय गरे । मेरो झोलामा केही औषधि, खानेकुरा र पानी थियो । बाटोमा अफ्यारो पर्छ की भनेर पनि मैले झोला आफै बोके । केही घण्टाको हिंडाइमा ठूला चट्टानले बनेको उकालो र अफ्ठयारो बाटो आयो । उकालो चढ्दै गर्दा थकानले गलाइसकेको थियो । त्यो उकालोको तीन घुम्तीलाई पाँच ठाउँमा रोकिदै पार गर्ने क्रममा थियौ । माथिबाट केही हिउँका थुप्राहरु खसे । चिच्याएर तल भएकालाई रोकिन भन्यौ । धन्न थोरै मात्र हिउँ खसेर रोसकयो । मैले साथीहरुलाई पानी खाऔं भने । हिंडाइको धपडीले स्याँस्याँ बनाएको थियो । थर्मसको पानि गिलासमा खनाएर एक सुरुप पिएँ । बिहान उमालेको पानी भरिदिए होलान् भनेको मनतातो पानी भरिदिएका रहेछन्, होटलवालाले । उमालेको र चिसो पानी मिलाएर खाने सोच थियो । दुई लिटर पानी तीन जनाले खाँदा सकियो । अब त पानी पनि छैन, पानी भएका झोलाहरु घोडाले लगिसक्यो । बिहान कमल दाइले गोजीमा राखिदिएका मकै चपाउँदै उकालो पार गर्यांै ।
जब उकालो पार गर्यौं, मानिसहरु त्रसित देखिए । तल हेर्दा एकजना महिलालाई दुईजना मानिसले बोकेर माथि ल्याउँदै थिए । एकजनाले माथि डोरी फुकाउँदै थिए । महिलालाई हिमपहिरोले लगेछ । धन्न घोडावालाले देखेछन् र उद्धार गर्दै रहेछन् । हामीले देखेको भए के सक्नु । हामीलाई त्यहाँ नरोकिन भनिरहेका थिए । बाटोको अवस्था ठीक छैन, छिटो गइहाल्नुस्–कसैले भन्दै थिए । त्यही पहिरो गएको बाटो पार गर्दै जानुपर्ने थियो । सन्तोष दाइसँग भेट भयो । हाम्रो समूहको सबै सकुसल रहेको बताउनुभयो । केही साथीहरु अगाडि गइसक्नुभएको रहेछ । हामी पहिरो खस्ने डरले माथिमाथि हेर्दे अगाडी बढ्यौ । ठाउँठाउँमा ढुगां खस्ने स्थान भनेर बोर्डहरु लगाएका थिए । ती स्थानहरु साँच्ची नै जोखिमयुक्त थिए । हिजो ढुंगा खस्छ की भन्ने डर आज हिउँपहिरो जान्छ की भन्ने डर । अब केही उकालो र धेरै ओरालो हिंड्नुपर्ने थियो । हिमपात रोकिएको थिएन, अझ बढेको थियो ।

हिउमा चिप्लिएर यात्रीहरु लड्थे । कोही आफै उठ्थे । कसैलाई उठाउँथ्यौ । एकपटक अली ओरालो ठाउँमा प्रकाश दाइ र म अगाडि पछाडि थियौं । हामी चिप्लिदै झरिरहेका थियौं । एक्कासी एकजना पुरुषले मलाई समाउनुभयो, महिलाले प्रकाश दाइलाई । दुवै श्रीमान् श्रीमती हुनुहँुदो रहेछ । हामीलाई तल झारिदिनुहोस् भन्नु भो । बल्लबल्ल समालिएर तल झार्यौं । उहाँहरुको लठ्ठी पनि भाँचिएको र जुत्ता चिप्लिने खालको रहेछ । तल झरेपछि तपाईहरु जानुहोस्, हामी आउँछौ भन्नुभो ।
अब उकालो सकिएर ओरालो बाटो आइसकेको थियो । पुलमाथिको होटलमा एकछिन बस्यांै । सबै साथीहरु जम्मा भएका थियौ । बिहान हामी भन्दा अगाडि हिंड्नुभएका अजय दाइ र शिशिर भाइ भेट हुनुभो । बस्नुभन्दा लाग्नु नै बेस ठानेर अगाडी बढ्यांै । झोलुङ्गे पुल तर्नुभन्दा पहिले ओरालो झर्नुपर्ने थियो । मानिसहरुको खचाखच भिड । सम्हालिएर पार गर्यौं । अब भने केही राहत महसुस भए जस्तो भयो । पहिरोको जोखिम भए पनि अघिको जस्तो उच्च जोखिम थिएन । ओरालोमा सम्हालिएर हिंड्नुपर्ने थियो । लडेर कसैका नाकमा, मुखमा, हातमा, खुट्टामा चोट लागेछ भन्ने सुनिरह्यौ । म पनि दुईपटक लडेको थिए । धन्न चोट लागेन ।
करिब दिउँसोको २ बजेको थियो । हिंडाइको करिब साढे पाँच घण्टामा हामी खाङ्सार आइपुग्यौ । हिजोको भन्दा आज केही कम समयामा । हिजो आनन्दले हिंडेका थियौ, आज जतिसक्यो छिटो बाटो पार गर्नुपर्ने भएकोले छिटो आयौ । यहाँ मानिसहरुको भिडभाड थियो । पार्किङ गरेका साधनहरु हिउँले पुरिएका । हामी खाङ्सार होम होटलमा गयौ । कपडाहरु निथ्रुक्क भिजेका थिए । जाडोले हात चिसो भएको थियो । सुप र पानी खायौ । बाटोभरी हिउँ जमेको थियो, वर्षा रोकिएको थिएन । पैदल मनाङ जाने की भन्ने मोटामोटी सल्लाह भयो । गाडी निकाल्न सम्भव थिएन । वर्षा नरोकीए अझै कतिदिन बस्नुपर्ने हो ? बरु मनाङसम्म जान सके केही उपाय हुन्थ्यो की भन्ने थियो ।
कुलमणि दाइले सिडियो सरलाई फोन गर्नुभयो । उहाँ मनाङमा पर्यटक उद्वारमा खटेको, डोजर हिउँ पछ्याउँदै खाङ्सारतर्फ आइरहेको र केही घण्टाभित्रैमा हामी गाडी लिएरै जान पाउने कुरा बताउनुभयो । यहाँका होटलहरुमा कोठाहरु सबै प्याक भइसकेका रहेछन् । यदी बस्नुपर्यो भने हामीलाई कोठा पाउन मुस्किलै हुने देखियो । होटल व्यवसायीका अनुसार कोठा खाली नभएको, बस्नैपरे डाइनिङमा बस्न पाइने तर, ओड्ने ओछ्याउने कपडा दिन नसक्ने कुरा आयो । हामी सिडियो सरको भनाइ अनुसार गाडी लिएर जान पाउने आशमै बस्यौ । कपडा चेन्ज गर्यौं । केही होटलमा र केही गाडीमा हिटर चलाएर बस्यौ । आशैआशमा अध्यारो हुन लाग्यो । यसबीचमा पटकपटक सिडियो सर, वडाअध्यक्ष र डोजरका अपरेटरसँग कुरा भयो ।

करीब ६ बजेतिर सिडियो सरको फोन आयो । आज डोजर खाङ्सार बजारसम्म आएको तर, मोटरसाइकलहरु बाटोमै पार्किङ भएकोले माथि जानलाई समस्या भएकोले आज यतै बास बस्नुपर्ने भयो । अध्यारो भइसकेकोले पनि हामीले हस् भन्नुबाहेक अरु उपाय थिएन । सिडियो सरका अनुसार हामीलाई खाने र बस्ने व्यवस्था हुने भयो । केहीबेरमा वडाअध्यक्ष च्योल्पा गुरुङ हामीलाई खोज्दै आउनुभयो । आजको रात नजिकैको गुम्बामा बस्ने र खाने व्यवस्था गरिएको बताउँदै हामीलाई गुम्बामा लैजानुभयो । गुम्बामा आगो बलिरहेको थियो । केही स्थानीय युवाहरुले खानपानको व्यवस्थापन गरिरहेका थिए । हामीले आगो ताप्यौ । पानी, चिया, कफी खायौं ।
अध्यक्ष गुरुङले हामीलाई सान्त्वना दिदै आफूले सम्भव भएसम्मको व्यवस्था गर्ने बताउनुभयो । अलपत्र सबैलाई सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो । घरघरबाट एक दुईवटा कम्मल मागेरै भए पनि सुत्ने व्यवस्था मिलाउने बताउनुभयो । खानको लागि राम्रो प्रबन्ध गर्न खोजेको भए पनि हामीले दाल र भात मात्र भए पनि पुग्ने बतायौ । हामी यहाँ करिब ४० जना रहेछौ । डोजरका अपरेटरहरु पनि यही आउनुभएको रहेछ, उहाँहरुसँग भेट गर्यांै । भोली बिहान डोजर अगाडि बाटो सफा गर्दै जाने, अरु गाडीहरु पछिपछि जाने कुरा भयो । हामी ढुक्क भयौं । लाइन थिएन, जेनेरेटर चलेन । आगोको उज्यालोमा बस्यौं । साथीहरुले केही भिडियो रिपोर्टहरु बनाउनुभयो । केहीबेरमा खाना पाक्यो । खानामा दाल, भात तरकारी रहेछ, खायौं । सुत्नको लागी नजिकैको स्कूलमा व्यवस्था गरिएको अध्यक्षज्युले जानकारी दिनुभयो । राती अबेर भइसकेकोले निद्रा र थकान लागेको थियो । एक जना स्थानीयको पछि लागेर सुत्न विद्यालयमा गयौं । विद्यालयमा के पुगेका थियौ, यहाँ सबै नअटीने भएकोले पत्रकारको ९ जनाको टोलीलाई अन्तै व्यवस्था गरिएको जानकारी पायौं । फेरी हामी उनैको पछि लागेर हिड्यौ ।
होटलको दुईवटा कोठा हाम्रो लागि व्यवस्था गरिएको रहेछ । हाम्रो एउटा कोठाको खाटमा तीनजना र भुँइमा दुईजना गरेर सुत्यौ । अर्काे कोठामा चारजना । दिनभरीको थकाइले च्यापेको थियो । दिनभर नै आफन्त र शुभेच्छुकहरुको फोनहरु आइरहेको थियो । हामी सुरक्षित भएको बताइरहेका थियो । फेसबुक खोले इन्टरनेटले राम्रोसँग काम गरेन, सुत्यांै ।
राती केही अप्ठ्यारो भएजस्तो भयो । उठे । ढोका नजिकै बसे । बाहिरको हावाले केही सहज बनायो । सँगै सुत्नुभएको कमल दाइ उठ्नुभयो, एकछिन बस्यौ । सुते, निद्रा लागेन ।

यथिबेला बिहानको ५ बजिसकेको रहेछ । सबै जाग्यौ । उठेर गफ गर्यौ।
६ बजेतिर अर्काे कोठाबाट कुलमणि दाइ र अजय दाइ आउनुभयो । डोजरका अपरेट पनि हाम्रै होटलमा बस्नुभएको रहेछ । बोलाएर कतिबेला जाने भनेर सोध्यौ । हिजो भनेजस्तै गरी केही बेरमा जाने भन्ने कुरा भो । सिडियो सरले गाडी त्यही छोडेर हिड्दै आउन भन्नुभएको कुरा कुलमणि दाइले सुनाउनुभयो । हामी भने गाडीसँगै लिएर जानेमा आशावादी थियौं । ८ बजेतिर हामी होटलबाट बाहिर निस्कियौं । हिमवर्षा रोकिएछ । तर, हिउँ भने जम्ने तरखरमा । जमेको हिउँ पग्लिएपछि चिप्लिदो रहेछ । होटलमा गएर सुप र पानी खायांै । नजिकै जेनेटरबाट मोबाइल चार्ज गर्ने व्यवस्था गरिएको रहेछ । साथीहरु मोबाइल चार्ज गर्न जानुभो । म पनि गएको थिए तर, ठाउँ खाली रहेनछ । गाडीमा गएर चार्ज गरेँ ।
मोटरसाइकल भएका व्यक्तिहरु मोटरसाइकल निकाल्दै थिए । कसैको स्टार्ट नै नभएर समस्या पारिरहेको थियो । मोटरसाइकलहरु डोर्याउँदै, तीनचार जनाले समाउँदै तल झारिरहेका थिए । गाडी हिंड्न सक्ने अवस्था थिएन । स्थानीयहरु घरमाथि जमेको हिउँ बेल्चा लगाएर हटाउँदै थिए । कोही घरको आँगन सफा गर्दै थिए । हामीले वरपर घुमेर केही फोटो–भिडियोहरु खिच्यौै । मैले केही फोटोहरु फेसबुकमा राखेर बिहानको खाङ्सारको अवस्था र हिउँ पर्न रोमिएको जानकारी दिएँ ।
घडीले १० बजाउँदै थियो । डोजर माथी आउला र सँगै जाउँला भन्ने सोचिरहेका थियौं । दाइहरुले अब हामी हिंडेर जाँदै गरौ, गाडी डोजर सँगसँगै आउँछ भन्नुभयो । चालक भाइ शिशिर र मोहन दाइ गाडीमा आउने हुनुभो । हामी पैदल हिंड्यौ । बाइकमा आउनुभएको अजय दाइ अरु मोटरसाइकलहरुसँगै केहीबेर अघि नै बाटो लागिसक्नुभएको थियो । हामी झोला गाडीमै छोडेर मनाङततर्फ झर्यौं ।
बाटोमा मोटरसाइकल हिंड्दा खाल्डो परेको थियो । खाल्डोबाट हिउँ पग्लेर बनेको पानी बगिरहेको थियो । केहीले डोर्याउँदै बाइक झारिरहेका थिए । कोही पैदल यात्रामा थिए । केही तल झरेपछि थाहा पायौ, डोजर त मनाङ फर्किसकेको रहेछ । करिब दुई घण्टा ओरालो झरिसकेपछि बाटो सफा गर्दै गरेको डोजर देखियो । राहतको महसुस गर्यौ । डोजरको पछिपछि जिल्ला सुरक्षा समितिको टीम आएको रहेछ । सिडियो सरसँग भेट भयो । उहाँले हिजोको डोजर जान नसकेकोले फिर्ता गरी अर्काे डोजरले बाटो सफा गरेको जानकारी दिनुभयो । उहाँले अबको एक घण्टामा बाटो पुरै सफा हुने र अलपत्र सबैको उद्वार गरिने जानकारी दिनुभयो । संक्षिप्त कुराकानीपछि उहाँले अगाडिको होटलमा गएर बस्दै गर्न भन्नुभयो । हामी त्यही अनुसार गर्याै ।

मनाङ नजिकै हिमाल पारीको क्याफेमा हामी पुग्यौ । त्यहाँ पुगेर पानी र सुप पियौं । मोबाइल चार्ज गर्यौं । खानाको लागि समय लाग्ने भएकोले फ्राइ राइस अर्डर गर्यौ । बस्दै गर्दा शिशिर भाइ र प्रकाश दाइको कुरा भइरहेको थियो । डोजर नआएकोले वडाअध्यक्षले तीनवटा बेल्चाको व्यवस्था गरिदिएको र आफुहरुले बाटो सफा गर्दै गरेको बताए । गाडी तल ल्याएको । सिडियो सरसँग भेट भएको । एउटा बोलेरोले बाटो ओगटेर पार्किङ गरेकाले समस्या पारेको । बोलेरोको चालक फेला नपरेको । पछि डोजर गएर अर्काे बाटो बनाएर गाडी अगाडि बढाएको लगायतका रिपोर्टिङ गरिरहे । दिउँसोको २ बजे गाडी हामी भएको ठाउँमा आइपुग्यो । गाडीको पछाडिको टायर पञ्चर भएको रहेछ । अब कत्ति पनि विलम्ब नगरी हामी जिल्ला कट्ने सुरमा थियौ । त्यही भएर हामीले छिटोछिटो गरी टायर फेर्ने, झोला बाध्ने, खाना खाने काम गर्यौं ।
गाडी अगाडि बढिरहेको थियो । गन्तव्यको अधुरो यात्रालाई सम्झदै हामीले विस्तारै जिल्ला छोड्दै थियौ । हिउले टल्किएका हिमालहरुलाई पछाडि पार्दै हामी अगाडि बढ्यौं । सदरमुकातिर भने हिजो राती पानी परेको रहेछ । अहिले रोकिएको भए पनि बाटो भने हिलो भएको थियो । चामेदेखी लमजुङको बेशीसहर आइपुग्दा पनि बाटो हिलो थियो । अध्यारोमा बाहिर नदेखिए पनि बाटो भने प्रष्टै देखिन्थ्यो । केही ठाउँमा गाडी हिलोमा लर्किएर झसङ बनाउँथ्यो । बेशीसहर पुग्दा रातीको साढे ९ बजेको थियो ।

बेशीसहर पुग्दा हामीलाई अजय दाइले कुरिरहनुभएको रहेछ । उहाँको बाइकमा समस्या देखिएछ । त्यहीको घामछायाँ रेष्टुरेण्टमा खाना खायौ । फर्किएका यात्रुहरुले कोठाहरु भरिसकेका रहेछन् । हामीले कोठा पाउँन सकेनौ । अजय दाइलाई भने होटल साहुजीले अर्काे होटलमा कोठाको व्यवस्था गरिदिनुभएछ । हामी त्यहाँबाट बिदा भएर निस्कियौं । भोलीदेखि चक्रपाथ ‘मोन्था’ को असरले वर्षा हुने मौसम पुर्वानुमान महाशाखाले सूचना जारी गर्दै सचेत हुन आग्रह गरेको थियौ । त्यसकारण पनि हामीले रातीसम्मै भए पनि भैरहवा पुग्ने निर्णय गर्यौ ।
तिलिचो पुग्ने सपना अधुरो भएको थियो । फेरी आउन सकिएला वा नसकिएला मनले यस्तै यस्तै सोच्दै थियो । हिमपातको राम्रो अनुभव लिन पाएपनि बेसक्याम्पबाटै फर्कदा भने मन खिन्न भइरहेको थियो ।
फर्किदा मुग्लिङ–नारायणघाट हुँदै बिहान ६ बजेतिर भैरहवा पुग्यौ ।









