भैरहवादेखि खाङसारको रमाईलो

हिमालपारीको जिल्ला मनाङको यात्रा मेरो लागी नौलो थियो । टाढाबाट देखिएका हिमालहरु नजिकैबाट छुन पाउने अभिलाषा थियो । कस्तो होला हिमाल, मनमनै कल्पना गरिरहेको थिए । नेपालमा हिमाली क्षेत्रको यात्रा मेरो पहिलो थियो ।
विष्णु भट्टराई

तिहारको पर्सीपल्ट अर्थात कार्तिक ९ गते आइतबार बिहान ४ बजे नै यात्रामा निस्किने योजनाअनुरुप हामी तयार भयौं । अघिल्लो दिन नै झोला तयार भएकोले बिहान नित्यकर्मबाहेक अरु समय लागेन । मनाङ प्रस्थानका लागी हामीले आधा घण्टा ढिलो गरी भैरहवा छोड्यौ । हाम्रो मुख्य गन्तव्य पदयात्रा गर्दै तिलिचो ताल पुग्नु थियो । भ्रमणमा हामी पत्रकार तथा शुभेच्छुकसहितको ७ जनाको समूह थियो ।

एकदिन साँझपखको भेटमा सहकर्मी गौतमबुद्ध सन्देश दैनिक पत्रिकाका सम्पादक कुलमणि ज्ञवालीले तिलिचो जाने प्रस्ताव गर्नुभयो । यो वर्ष तिहारको टीका नभएकोले मैले पनि सहर्ष रुपमा हुन्छ भने । गोल्डेन फ्युचर ओपन स्कूलका संस्थापक नारायणप्रसाद कोइराला सरसहित हामी तीनजनाले मोटामोटी रुपमा छलफल गर्यौं । कसरी, कहिले, को को जाने भन्ने विषयमा भोलीसम्म निर्णय गर्ने सल्लाह भयो । भोलीपल्ट नारायण सरले तत्काल आफू जान नसक्ने अवस्था बताउनुभयो । पर्सीपल्ट लुम्बिनी प्रेस क्लबको सौराहा (चितवन) अवलोकन भ्रमणको कार्यक्रम रहेकोले सौराहाबाट फर्किएपछि सल्लाह गर्ने कुरा भयो । सौराहामा घुम्दै गर्दा कुलमणि दाइले लुम्बिनी प्रेस क्लबका पूर्वअध्यक्ष तथा सल्लाहकार नरेश के.सी., अध्यक्ष कमल रायमाझी, महासचिव प्रकाश न्यौपाने, सहकोषाध्यक्ष रविन्द्रप्रताप गुप्तासँग मनाङ भ्रमणको प्रस्ताव गर्नुभएको रहेछ । सौराहाबाट फर्किएको भोलीपल्ट मलाई प्रकाश दाइले फोन गरेर समता टेलिभिजनमा आउन भन्नुभयो । त्यहाँ पुग्दा भ्रमणको छलफल भएको रहेछ । आगामी शुक्रबार सम्भव नभएको, शनिबार लामो यात्राको लागि उचित नभएकोले आइतबारका लागि सहमति गर्यौं । सोही बमोजिम आवश्यक तयारीतर्फ लाग्न सबैलाई निर्देशन भयो ।

लुम्बिनी प्रेस क्लब, भैरहवामा रहेर पत्रकारिता गर्ने सक्रिय पत्रकारहरुको संस्था हो । भैरहवासहित लुम्बिनी, मर्चवार र धकधई क्षेत्रका ४४ जना पत्रकार यस संस्थामा आबद्ध छन् । २०७२ सालको तिहारमा देउसीभैलो खेल्ने क्रममा स्थापित भएको यो क्लबले हालसम्म पनि देउसीभैलो कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । संस्थाले पत्रकारिता क्षेत्रसँगै सामाजिक क्षेत्रमा पनि विभिन्न कामहरु गर्दै आइरहेको छ । यस वर्ष पनि देउसीभैलो खेल्ने निर्णय भएकोले लक्ष्मीपूजाको दिन हामीले वरिष्ठ इञ्जिनियर शैलेन्द्र प्रसाद श्रेष्ठको घरबाट देउसीभैलोको शुभारम्भ गर्यांै । सबैजना देउसीभैलोमा रमाइरहेका थियौं । नाच्ने क्रममा अचानक नरेश केसी दाईको खुट्टामा समस्या आयो । उहाँलाई केही साथीहरुले तुरुन्त अस्पताल लैजानुभयो । उहाँको खुट्टाको लिगामेन्टमा समस्या देखिएछ । उपचारपछि एकहप्ता आराम गर्नुपर्ने डाक्टरको सुझाव आएको थाहा पायौ । शिघ्र स्वास्थ्य लाभको कामना गर्दै देउसीभैलोलाई निरन्तरता दियौं ।

तिहार सकिएसँगै मनाङ जाने कुरा के भयो भनेर कुलमणि दाईलाई फोन गरे । उहाँले ‘नरेशजी स्वास्थ्यको कारण नजाने हुनुभो, हामीलाई जान भन्नुभएको छ’ हामी जाने हो तयारी गर्नुस् भन्नु भो । शनिबार राती नै मैले आफ्नो झोला तयार पारी सुते ।

हिमालपारीको जिल्ला मनाङको यात्रा मेरो लागी नौलो थियो । टाढाबाट देखिएका हिमालहरु नजिकैबाट छुन पाउने अभिलाषा थियो । कस्तो होला हिमाल, मनमनै कल्पना गरिरहेको थिए । नेपालमा हिमाली क्षेत्रको यात्रा मेरो पहिलो थियो । केही वर्ष पहिले सिक्किमको छेङ्गु लेक गएको थिए । समुद्री सतहबाट ३ हजार ७ सय ५३ मिटर उचाईमा रहेको छेङ्गु लेकमा पहिलोपटक हिउँ खेलेको थिए । आजको यात्रा विश्वकै अग्लो स्थानमा रहेको तालको यात्रामा थिए । ४ हजार ९ सय १९ मिटर उचाईमा रहेको तिलिचो तालको यात्रामा ।

तिलिचो पुग्न दुई वटा पदमार्ग छन् । मुस्ताङको जोमसोम–ठिनी–नमखुलेक, निलगिरी आइसफल, छेमा ताल, मसोकोन्दो पास हुँदै तिलिचो ताल पुग्न सकिन्छ । हामी मनाङ सदरमुकाम चामेदेखि खाङसार हुँदै तिलिचो पुग्ने योजनामा थियौं ।

बुटवल–नारायणघाट सडक निर्माणको क्रममा रहेकोले सवारी जाम हुने सम्भावना थियो । नारायणघाट–मुगिलङ हुँदै तनहुँको डुम्रे पुग्न सकिन्थ्यो । तर, हामी बुटवल, तानसेन हुँदै कालिगण्डकी करिडोरको बाटो रामपुर पुग्यांै । रामपुरबाट तनहुँको भिमाद, डुम्रे हँुदै लमजुङको सदरमुकाम बेसीसहर पुगेर खाना खायौ ।

बेसीसहर, लमजुङ जिल्लाको सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्र पनि हो । यो तनहुँ जिल्लाको डुम्रे बजारदेखि ४२ किलोमिटर उत्तरमा पर्दछ । बेसीसहरबाट मस्र्याङ्दी गाउँपालिकामा रहेको सुरुङ्ग मार्ग, हामखोला झरनाको अवलोकन गरी मस्र्याङ्दी नदीको तिरैतिर हिंड्यौ । लमजुङको च्याम्चे, मनाङको म्यादीभिर, खोत्रो, बगरछाप, तिमाङ हुँदै ६५ किलोमिटर यात्रा गरी गन्तव्य जिल्ला मनाङको सदरमुकाम चामे पुग्यौं । यो सडक मनाङ जिल्ला पुग्ने एकमात्र गाडी हिंड्ने सडक रहेछ । पहिलो दिनको बास त्यहीको घले दरबार होटलमा बस्यौं । मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौडेल सरसँग त्यही होटलमा भेट पनि गरियो । नवराज सर पहिले भैरहवाको आन्तरिक राजस्व कार्यालय र सिद्धार्थनगर नगरपालिकामा कार्यरत रहँदा चिनजान भएको र हाल चामेमा सिडिया भएकाले पनि हामीलाई हिमाल यात्रामा रहज हुने विश्वास थियो । त्यसैअनुसार उहाँसँग हामी नियमित सम्पर्कमा थियांै । विशेष गरी कुलमणि दाइले सहजीकरण गरिरहनुभएको थियो । बेसीसहरदेखि बाटोको अवस्था अली बिग्रिएको थियो । रात पर्ने क्रममा थियो । त्यसकारण पनि सिडियो सरले बाटोमा नभुली आउन सुल्झाउनुभएको थियो । हामीले बाटोमा पर्ने अक्टोपस झरना लगायतका अन्य झरना, हाइड्रोहरु, प्राकृतिक सौन्दर्य र हिमालहरुलाई गाडीबाटै अवलोकन गर्यौं ।

मनाङ, हिमालपारीको सुन्दर जिल्लाको रुपमा परिचित छ । नेपाल सरकारको मापदण्ड अनुसार दुर्गम जिल्ला अर्थात ‘क’ वर्गको जिल्लाको रुपमा यो जिल्ला पर्दछ । जिल्लाको भौगोलिक विकटताको साथसाथै अत्यन्तै मनमोहक भौतिक एवं साँस्कृतिक विशेषताहरुले यो जिल्ला भरिपूर्ण छ । प्राकृतिक छटाले भरिपूर्ण हिमालको काखामा अवस्थित यस जिल्लामा अग्ला भिराला पहाडहरु र उच्च हिमश्रृंखलाहरुले लाखांै स्वदेशी तथा विदेशी पर्यटकहरुको गन्तव्य मार्ग, बहुमुल्य जडीबुटी र वन सम्पदा, अपार जलश्रोत र जौविक विविधताले भरिपूर्ण छ । विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल तथा अन्य असंख्य कुण्ड एवं स–साना तालहरुको बेजोड संगम भएको यो जिल्लाको कुल क्षेत्रफल २२४६ वर्ग किलोमिटर छ ।

मनाङ जिल्ला प्रवेश गर्नका लागि गोर्खाको सामा, कास्कीको सिक्लेस, मुस्ताङको मुक्तिनाथ, जोमसोम, दामोदरकुण्ड, तिब्बतको क्याङचुमी र लमजुङको बेसिशहर मुख्य नाकाहरु रहेका छन् ।

चामेमा प्रमुख जिल्ला अधिकारी नवराज पौडेलसँग भेटेपछि हामीलाई अभिभावक पाएको महसुस भयो । उहाँले जिल्ला र पदयात्राको वस्तुस्थितिको बारेमा सामान्य कुराहरु बताउनुभयो । भोली बिहान ६ बजे नै हिंड्नुपर्ने उहाँको सुझाव थियो । तराईदेखि एकै दिनमा हिमाल पुग्दा हामीलाई असहज जस्तो भएको थियो । भैरहवाको गर्मीबाट मनाङको चिसो ठाउँमा पुग्दा असहज हुनु स्वभाविक नै थियो । हामीले बाक्लो कपडाहरु लगाएका थियौं । न्यानोबाट त जोगियौ । तर, स्वासप्रश्वासमा भने केही असहज भएजस्तो लागेको थियो । केहीको टाउको दुखिरहेको थियो । साथीहरुले सामान्य औषधिहरु खानुभयो । होटलमा तातोपानी र खाना खायौं । करिब १५ घण्टाको सवारले शरीर थकित थियो । सुत्न गयौं ।

दोस्रो दिन हामी बिहान ६ बजेनै तयार भयौ । फापरको रोटी तरकारी खाजा खायौ । उच्च भागमा अक्सिजनको समस्या नहोस् भनेर औषधि खाएर ३ हजार ७ सय ५६ मिटर उचाईमा रहेको मनाङ ङिस्याङ गाउँपालिका–९ मा पर्ने खाङ्सार गाउँतर्फ लाग्यौ । खाङ्सार, सवारीसाधनबाट पुग्न सकिने जिल्लाको अन्तिम स्थान हो । चामे–खाङ्सार ३१ किलोमिटर दुरीमा पर्दछ । बाटोमा जादाँ ब्लु लेकको अवलोकन गर्यांै । तालमा सफा आकाशको छाया पर्दा निलो देखिने भएकोले ब्लू लेक भनिएको होला । ग्रीन लेक, विमानस्थल, स्याउ फर्म, विभिन्न गाउँहरु, गुम्बा लगायतका ठाउँहरु गाडीबाटै अवलोकन गर्यांै । कच्ची र साँघुरो बाटो अप्ठ्यारो नै थियो । ठूलाठूला डरलाग्दा पहाड । नदीको किनारैकिनार जानुपर्ने ।

यात्रामा भौगोलिक विकटता भए पनि प्राकृतिक सौन्दर्यले मनमोहक बनायो । डाडापाखा, वनजंगल, सूस्याँउदै बगेको मस्र्याङ्दी, माथिमाथि देखिने सुन्दर हिमाल, सडक छेउका घर होटल व्यवसायहरु, मानिसहरु, रहनसहन, भेडाका बथानहरु, चौरीगाईहरुले हाम्रो यात्रालाई थप आनन्द थपिदिए । बाटोमा पदयात्रा गरिरहेका विदेशी पर्यटकहरु देख्दा अझ उल्लास थपियो । विदेशीहरुको नेपाल मोह र उनीहरुको पदयात्राले उर्जा दिइरहेको थियो । अधिकांश विदेशी पर्यटकहरु बेसीसहरबाटै पदयात्रा गर्दा रहेछन् । भरियालाई सामान बोकाएर आफूहरु पैदल हिंड्दा रहेछन् ।

करिब ३ घण्टाको सवारी यात्रामा हामी खाङ्सार पुग्यौं ।

खाङ्सार । सवारी यात्राका लागी अन्तिम ठाउँ । ३ हजार ७ सय ४० मिटर उचाईसम्म सवारी लैजान मिल्ने । यहाँको एक निजी पार्किङस्थलमा हामीले गाडी राख्यांै । केही साथीहरुले यहाँ रहेको स्वाथ्य चौकीमा स्वास्थ्य जाँच गर्नुभयो । स्वास्थ्य ठीक भएकोले जान अनुमति पायौं । लोभलाग्दो प्राकृतिक सौन्दर्य, अग्ला–ठूला हिमालहरु, चुचुरोेमा चाँदीझै टल्किएका हिउँ । वरिपरीबाट हिमालले घेरिएको अदभूत ठाउँ । आँखाको ठ्याक्कै अगाडी देखिएका हिमालको मुस्कानले यहाँसम्मको सबै दुःख बिर्साइदिए । ‘चश्मा लगाउनुहोला है, आखाँ खाइदिन्छ’–एक अधबैसे महिलाले भन्नुभयो । हामीले चश्मा लगायौं । १२ बजेपछि हावा चल्छ, ख्याल गरेर जानुहोला, उहाँको अर्काे सुझाव । हावा चल्दा धुलाका कर्णहरु आखाँमा लाग्छ रे, माथिबाट ढुंगा खस्ने डर पनि हुन्छ रे ।

यो ठाउँ यार्चागुम्बा पाउने विशेष क्षेत्रको रुपमा पनि परिचित छ । यार्चागुम्बा नेपाल र तिब्बतको हिमाली भागमा पाइने एक प्रकारको बहुमुल्य जडीबुटी हो । यो समुन्द्र सतहबाट ३ हजार देखि ६ हजार मिटरको उचाईमा पाइन्छ । यार्चागुम्बा एक प्रकारको झुसिलकिराको टाउकोबाट ढुसी उम्रिएर बन्दछ । हिमाली भेगमा हिउँद सकिएपछि वैशाखतिर हिउँ पग्लन्छ र बिरुवाहरू उम्रिएर फूल फूल्न सुरु गर्छ, त्यही समयमा पुतलीहरूले फुल पार्न थाल्छन । सोही पुतलीको लार्भा अवस्थामा रहेको झुसिलकिरा जमिनमुनी पुग्छ र उक्त झुसिलकिराको टाउकोमा ढुसी उम्रन्छ । यसको जमिन माथिको ढुसी च्याउ खैरो रंगको र जमीन मुनिको भाग पंहेलो रंगको हुन्छ । जमिनमुनीको भाग ४ मि. मि. मोटो र ४ से. मि. जति लामो तथा माथिको भाग मसिनो ५–६ से. मि. जति लामो हुन्छ । यार्चागुम्बा यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुवै हुन्छ र यो कहिल्यै पनि मर्दैन । समुद्र सतहदेखि ३८ सय मीटरदेखि ४८ सय मिटरसम्मको उचाइमा यो पाइन्छ । यो अमूल्य जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ । जमिनमुनी प्राणी र जमिनमाथि वनस्पति हुनाले शेर्पा भाषामा यसलाई ‘यार्चागुम्बा’ भनिन्छ ।

खाङ्सारबाट हाम्रो पदयात्रा बिहानको १० बजेदेखी सुरु भयो । पहाडको उकालो र साघुँरो बाटोबाट हिंड्नुपर्ने भएकोले अत्यावश्यक सामान र खानेकुरा बोकेर हामी बाटो लाग्यौ । तारे गुम्बा हुँदै करिब दुई घण्टामा हामी ४ हजार २ सय मिटर उचाईमा रहेको श्रीखर्क पुगी माउण्टेन इको कटेजमा खाना खायांै । करिब एक घण्टाको हिंडाइमा माथिल्लो श्रीखर्क हुँदै जीया डाडाँमा रहेको होटल ब्लू सीपमा पुग्यौ । त्यहा हामीले पानी र चिया पियौं । यतिबेला हामीले लगभग आधा बाटो कटिसकेका थियौ । अब उकालोसँगै केही ओरालो बाटो पनि हिंड्नुपर्ने फर्किदै गरेका यात्रुहरुले बताए । यद्यपी जोखिमयुक्त बाटो भएको भनाइले भने मनमा केही त्रास भयो ।

यतिबेला हाम्रो थकाई बढेको थियो । खुट्टाका पाइला सार्न कठीन हुँँदै थियो । केही पाइला चाल्दै–रोकिदै अगाडी बढ्यौ । दिउँसोको १२ बजेपछि शिरशिर हावा चल्न थालेको थियो । उत्साहपूर्ण यात्रामा हामीलाई हावाको प्रवाहले रोक्न सकेन । हामी हिंडिरह्यौ ।

बाटोमा आउने जानेको लर्काे नै थियो । फर्किनेहरु तिलिचो ताल पुगेर फर्किएका, जानेहरु भोली पुग्ने सपना बोकेका । फर्किनेहरुलाई अझै कति समय लाग्छ ? कस्तो छ बाटो ? भन्दै सोध्थ्यौ । उनीहरुमा मिश्रित जवाफ आउँथ्यो । ४ घण्टादेखि १० घण्टामा पुगेका यात्रीहरु । हिमाली बाटो ठीकै छ भन्ने पनि भेटिन्थे, कठीन छ भन्ने पनि भेटिए । खैर, हामी नयाँ ठाउँमा जस्तो होला जानै पर्याे, साँझसम्म त पुगिएलानी भन्थ्यौ ।

उकालो–ओरालो, साँघुरो– कतै अलि ठूलो बाटोमा लठ्ठी टेकेर केही बेर सुस्ताउँथ्यौ । २०–३० पाइला हिंडेपछि स्याँस्याँ हुन्थ्यौ । १०–१५ सेकेण्ड रोकिएपछि सास आउँथ्यो । केही सेकेण्डको रोकाइमा पारिपारि आँखा डुलाउँदा फेरी हिड्ने आँट आउथ्यो । बेलाबेला फोटो भिडियो खिच्थ्यौ । अलि वर्ष पहिले मनाङमा जागिर गरेर हाल भैरहवामा रहनुभएका प्रमोद ज्ञवाली दाईले ‘त्यहाँ त पाइला नापेरै हिड्ने हो’ भन्नुभएको थियो । कतिबेला कतिबेला त्यस्तै हुन्थ्यो ।

हाम्रो ७ जनाको समूह तितरबितर भएर तीन भाग भएको थियो । म अन्तिममा थिए । हाम्रो गाडी चालक शिशिर अर्याल भाई र म सँगै थियौ । उमेरले २६ टेकेका शिशिर भाईसँग जोडि मिलेको थियो । हामी रमाइलो गफ गर्दै हिड्थ्यौ । कतिबेला उश्रृङ्खल कुरा । कतिबेला विकास र निमार्णका, कतिबेला भविष्यका । हामीले भोलीको हिंडाइका लागि शक्ति बचाउनुपर्छ, बेसक्याम्प त रातीसम्म पुगे पनि हुन्छ भन्थ्यौ । त्यही अनुसार शरीरलाई कम भार पारेर रोकिदै हिंडेका थियौ । ढिलो हिंड्नुको अर्काे फाइदा थियो । हामी मज्जाले हिंडाइको र हेराइको मज्जा लिइरहेका थियौ । बाटोमा विदेशी पर्यटकहरु पनि उत्तिकै भेटिन्थे । कोही लठ्ठी बिनै हिंडेका, कोही दुईवटा टेकेर । युवा उमेरका पनि, पाका उमेरका पनि विदेशीहरु ।

साझँको करिब ५ बजे हामी ४ हजार १ सय ५० मिटरमा रहेको बेसक्याम्प पुग्यौ । यहाँ पुगेपछि एउटा युद्ध जितेजस्तै भयो । अर्काेतर्फ प्रकृतिको अनुपम आनन्द ।

तिलिचो ताल केवल प्राकृतिक सौन्दर्यका दृष्टिले मात्र अद्वितीय छैन, यो धार्मिक रूपमा पनि अत्यन्त पवित्रस्थल मानिन्छ । हिन्दु धर्मका प्राचीन ग्रन्थहरू तथा स्थानीय मौखिक परम्पराहरूमा तिलिचोको विशेष धार्मिक सम्बन्ध उल्लेख पाइन्छ । रामायणका कथनहरू अनुसार त्रेता युगको वनवास अवधिमा भरतले यही तिलिचो क्षेत्रमा केही समय बास बसेर स्नान एवं तपस्याको अभ्यास गरेको विश्वास छ । यस कारण तिलिचो ताललाई ‘पवित्र जलधारा’ तथा आध्यात्मिक शुद्धीकरणको स्रोतका रूपमा लिइन्छ ।

त्यस्तै हिमाली क्षेत्रका थकाली, गुरुङ र लामा समुदायले पनि तिलिचोलाई जीवन–चक्र, प्रकृति र देवत्वसँग जोडिएको ‘पवित्र आत्मिक स्थल’ मान्दछन् । उनीहरूको साँस्कृतिक मान्यतामा तालको पानी ‘धरती र आकाशको मिलन’ को प्रतीक हो, जहाँ जलमा देवताको वास रहेको विश्वास गरिन्छ । स्थानीय पहिचान, आस्था भाव र वार्षिक पूजा–अनुष्ठानहरूले तिलिचोलाई केवल पर्यटकीय गन्तव्य होइन, साँस्कृतिक सम्पदा र आध्यात्मिक यात्राको पवित्र स्थल बनाएको छ ।

हुन त मनाङमा ५० भन्दा बढी तालहरू छन् रे । तिलिचोमाथि डेढ किलोमिटर लम्बाइको कजिन सारा लेक पनि फेला परेको छ भनिन्छ । त्यसको उचाइ ५००२ मिटर छ । यद्यपी त्यसले प्रामाणिकता भने अझै पाएको छैन । यदी त्यसले प्रामाणिकता पायो भने तिलिचोको कीर्तिमानता तोडिनेछ । यसको कीर्तिमानता तोडिए पनि सर्वोच्च उचाइमा रहेको तालको कीर्तिमान नेपालभूमिबाट चुँडिएर अन्त भने जाने छैन ।

बेसक्याम्पमा पर्यटकहरुको भिडभाड थियो । केही बास बस्ने कोठाको खोजीमा भौतारीरहेका थिए । हामीले पहिले नै होटल मुन लेकमा कोठा सुरक्षित गरेकोले समस्या भोग्नुपरेन । थकाई र भोक लागीरहेको थियो । हामीले खाना खायौं । राती हिमवर्षा हुने अनुमानको गुनगुनले हाम्रो मनमा चिसो पस्यो यद्यपी भोली बिहान ३ बजेनै तिलीचो यात्रा गर्ने निर्णय गरी आ–आफ्नो विस्तरामा पल्टियौ ।

हाम्रो कोठामा ४ जना थियौ । दिनभरीको यात्राको बारेमा कुरा गर्यौं । सुत्नुभन्दा अगाडी भोलीको २२ घुम्तीको यात्रापछि तिलिचो तालमा गएर फोटो खिचेको कल्पना गरे । साथीहरुले पनि त्यस्तै सोच्नुभयो होला ।

रातीको करीब ११ बजे कोठा बाहिर मानिसहरु बोलेको आवाज आयो । साँच्चै हिमवर्षा सुरु भएको रहेछ । हामी उदास मिश्रित आशा बोकेर पुनः सुत्यौं । बिहान २ बजे बाहिर करीब २ फिट हिउँ भरिसकेको रहेछ । अब भने हामी गन्तव्यमा पुग्न नसकिने निश्चित भयो । यद्यपी झिनो आशा राख्यौ । बिहान उठेर हेर्दा सबैतिर बाक्लो हिउँ थियो । हिउँमा पर्यटकहरु रमाइरहेका थिए । हामीले पनि फोटो र भिडियो खिच्यौं । बिहान ८ बजेतिर अधिकांश पर्यटक फर्किने तरखरमा थिए । बिहानैदेखि कतिपय फर्किसकेका रहेछन् । यता होटल व्यवसायीले जतिसक्यो छिटो निस्कन सल्लाह दिइरहेका थिए । हिमपातको बेग बढिरहेको थियो । हामी पनि गन्तव्यलाई विदाई गर्ने निर्णय गर्यांै ।

फर्किदा हिजो देखिएका उराठलाग्दा काला पहाडहरु हिउँले सेताम्मे भएका थिए ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका