भैरहवाबाट मनाङ–तिलिचो यात्रामा निस्किँदा, मनमा एउटा मात्र लक्ष्य थियो — तिलिचो तालको डिलमा पुगेर धित मरुन्जेल रमाउने ।
तिलिचो लक्ष्य बोकेर भैरहवाबाट बाइकमा हिँड्दा बाटोको धुलो र हावामा साहस मिसिएको थियो । प्रत्येक मोडमा पहाडको सुगन्ध, झरनाको आवाज र नयाँ क्षितिजको आकांक्षा । तर त्यो आकांक्षा कति कठिन थियो, त्यो त खाङ्सार पुगेर मात्र थाहा भयो ।
दुई दिनको पैदल यात्रापछि जब बेसक्याम्प पुगें, शरीर थकिसकेको थियो, तर मन हौसिलो । भोलिपल्ट बिहानै सुनौलो Golden Sunrise सँगै तिलिचो ताल हेर्ने सपना साकार पार्ने सोचले मन फुरुङ्ग थियो ।

आराम गरेर निदाएँ तर बिहान आँखामै नपर्दै हिमपात सुरु भयो ।
त्यो क्षण लाग्यो — “प्रकृतिले हामीलाई परीक्षा लिइरहेछ ।”
सपनाको टुक्रा हिउँले छोपिदियो । तिलिचो पुग्ने लक्ष्य त्यहि रोकियो, तर यात्रा भने रोकिएन । हामीले बेसक्याम्पबाटै निर्णय ग¥यौं । हिउँ झरिरह्यो, बाटो हराउँदै गयो । पहिरो र ढुंगाझर क्षेत्र पुरै हिउँले ढाकिएको थियो । घोडा हिँडेका पाइलाहरूको निशान पछ्याउँदै, हिउँमा गोता मारी–मारी अघि बढ्यौं ।
त्यो बेला डर पनि थियो, थकान पनि । मनमा एकैचोटि दुई अनुहार चम्किरहेका थिए — आमा र मेरा बच्चा । सोचें — “यदि म नफर्के भने…?” त्यही सोचले हिम्मत बनायो ।
करिब ९ घण्टाको कठोर यात्रापछि जब खाङ्सार पुग्यौं, शरीर थकित थियो, तर मन हलुका भयो । त्यो क्षण थकान होइन, कृतज्ञता मात्र महसुस भयो । जीवन र सुरक्षाप्रति, अनि उनीहरूप्रति जो साथमा थिए ।
खाङ्सारको बसाइँ सन्तोषजनक रह्यो । बेसक्याम्पबाट सयौं यात्रु फर्किएकाले त्यहाँ गाँस–बासमा असहजता थियो । त्यही बेला मनाङका प्रमुख जिल्ला अधिकारी श्री नवराजज्यूको पहलमा गुम्बामा खानपिन र बस्ने व्यवस्था मिल्यो । हामी सुरक्षित थियौं, तर अरूका लागि गरिएको त्यो सहयोग देख्दा लाग्यो मानवता अझै बाँकी छ ।
अर्को दिन जिल्ला प्रशासन, प्रहरी र सशस्त्र प्रहरीको टोलीले बाटो पन्छाउँदै फर्कने व्यवस्था मिलायो ।
फर्कंदै गर्दा Blue Lake, Green Lake र Octopus Waterfall का दृश्यले सम्पूर्ण यात्राको थकान बिर्साइदिए । चामेदेखि हिलाम्मे बाटो र सिमसिमे वर्षासँगैको यात्रा कठिन भए पनि त्यसको सुन्दरता शब्दमा बाँध्न कठिन छ ।
तनहुँ हुँदै पोखरा, अनि अन्ततः भैरहवा फर्किँदा थकान, अनुभव र कृतज्ञताले मन भरिएको थियो । तिलिचो तालको दर्शन त हुन सकेन, तर त्यो बाटोमा मैले आफूलाई गहिरो रूपमा बुझें — डरभित्र लुकेको साहस, थकानभित्रको आत्मबल, र कठिनाइभित्रको कृतज्ञता ।
कहिलेकाहीँ यात्रा गन्तव्य होइन, आत्मपहिचानको कक्षा बन्दो रैछ र त्यो दिन हिमपातभित्र म आफूभित्रको साहससँग भेटिएकी थिएँ ।

(लेखक सामाजिक अभियन्ता तथा “श्री त्रिशुल बचत तथा ऋण सहकारी संस्था लि.” को प्रबन्धक हुनुहुन्छ । )









