पार्टीभित्र अब खुलेरै बहस गरौ

यो समयमा राजनीतिक नेतृत्वका विषयमा पनि धेरै कुराहरु बाहिर आएका छन् । राजनीतिक नेतृत्व परिवर्तन गर्नुपर्ने माग छ । शिर्ष दलहरुमा वर्षाैदेखि देखिएको एकल नेतृत्वलाई दोस्रो पुस्तामा हस्तान्तरण गर्नुपर्ने विषय आइरहेको छ । हुन त यो विषय विगतमा पनि नआएका भने होइनन्, अहिले प्रष्टै देखिएको छ । अहिले आम पार्टी सदस्यले खुल्ला रुपमा नेतृत्व परिवर्तनको माग राखिरहेका छन् ।
विष्णु भट्टराई

अहिले देश नयाँ मोडमा छ । अप्रत्यासित रुपमा भएको जेनजी आन्दोलनले अन्तरिम सरकार गठनको अवस्थासम्म ल्याएको छ । भ्रष्टाचारविरुद्ध गरिएको आन्दोलनले अप्रत्यासित भौतिक र मानवीय क्षति व्यहोर्नुपर्यो । यतिबेला पूर्व प्रधान न्यायाधीश शुशीला कार्की प्रधानमन्त्रीको रुपमा रहेकी छन् । उनको नेतृत्व सरकारलाई पूर्णता दिने क्रममै रहेको छ । अहिलेको सरकारको मुख्य काम भनेको तोकिएकै समयमै मध्यावधि निर्वाचन गरी नेतृत्व हस्तान्तरण गर्नु नै हो ।
फागुन २१ गतेका लागि निर्वाचन मिति तोकिएको छ । यसबीचमा सरकारलाई पूर्णता दिनु र आसन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नु छ । देशमा शान्ति सुव्यवस्था कायम गर्दै जनताको आधारभूत आवश्यकता पूरा गर्नु सरकारको दायित्व हो । तर, केही घटनाक्रमले भने सरकार र जनताबीच बेमेलको अवस्था सिर्जना गरिरहेको छ । यसैको पछिल्लो उदाहरण हो, जेनजी आन्दोलन ।
जेनजीको आन्दोलन मूलतः देशमा व्याप्त भ्रष्टाचारविरुद्ध थियो । भ्रष्टाचारको जालोमा फसेकाहरुले देशलाई निकास दिन नसकेको कुरा जनजनको मानसपटलमा छ । देखेका, भोगेका समस्यालाई एक जमातले उठाइदिदा आक्रोशित हुनु स्वभाविक हो । जेनजी आन्दोलन शान्तिपूर्ण हुने विश्वास गरिएको थियो । तर, आक्रोशित भिड उत्तेजित हुँदा÷बनाइँदा र उच्छृंखल मानिसहरुको प्रवेशले अवस्था नियन्त्रणबाहिर जान पुग्यो । जसकारण, ऐतिहासिक सम्पदाहरु, महत्वपूर्ण हस्तावेजहरु र धनसम्पत्तिहरु क्षति भयो । मानवीय क्षति भयो । अहिले पनि धेरै घाइतेहरु उपचाररत छन् ।
देशमा विभिन्न कालखण्डमा विभिन्न आन्दोलनहरु भए । तीनै आन्दोलनको उपज हामी यो अवस्थासम्म आइपुगेका छौ । ती आन्दोलनले व्यवस्था त परिवर्तन गरे तर, जनताको उद्देश्य अनुसारको आवश्यकता भने पूरा गर्न सकेनन् । नेतृत्वमा रहेका र सार्वजनिक पद धारणा गरेकाहरु नै भ्रष्टाचारमा लिप्त रहेको आम जनमानसको बुझाइ छ । जनताको बुझाइलाई प्रष्ट पार्ने गरी भएका गतिविधिहरुको भेलले गत हप्ता बाढी ल्यायो । आन्दोलनरुपी बाढीमा केही निर्दाेष व्यक्ति र सम्पत्ति पनि परे । यसको नियमन सम्बन्धीत निकायले गर्ला । दोषीलाई कानूनअनुसार कारवाही होला । तर, सत्य कुरा नेपालमा भ्रष्टाचार मौलाउँदो छ, यसलाई जरैदेखि चिर्नु नै पर्छ । अबका दिनमा यस्ता किसिमका मागहरु राखेर पुस्तौ पुस्ता आन्दोलन गर्नु नपरोस् । अबका दिनमा नेतृत्वले भ्रष्टाचारमुक्त नेपालको कल्पना गर्नै पर्छ । पारदर्शीता र जवाफदेहीताको संस्कृतिलाई स्थापित गर्नै पर्छ ।
यो समयमा राजनीतिक नेतृत्वका विषयमा पनि धेरै कुराहरु बाहिर आएका छन् । राजनीतिक नेतृत्व परिवर्तन गर्नुपर्ने माग छ । शिर्ष दलहरुमा वर्षाैदेखि देखिएको एकल नेतृत्वलाई दोस्रो पुस्तामा हस्तान्तरण गर्नुपर्ने विषय आइरहेको छ । हुन त यो विषय विगतमा पनि नआएका भने होइनन्, अहिले प्रष्टै देखिएको छ । अहिले आम पार्टी सदस्यले खुल्ला रुपमा नेतृत्व परिवर्तनको माग राखिरहेका छन् । राजनीतिक दल–स्पष्ट विचार र सिद्वान्तको आधारमा चल्नुपर्छ । सोही बमोजिम पार्टी सदस्य । पाटिभित्र भएका सामान्य विषयवस्तु नमिल्दा समूह बनाउने, नेतृत्वलाई असहयोग गर्ने, अर्काे पार्टी गठन गर्ने प्रवृति पनि देखिन्छ । त्यो सरासर गलत हो । विचार र सिद्वान्त मिल्ने जति सबै एक हुनुपर्छ भन्ने आम शुभेच्छुकहरुको विचार हो ।
त्यस्तै नेतृत्वमा रहेकाले पनि संगठनात्मक संरचनाका आधारमा अधिकारहरु प्रत्यायोजन गर्दै सामूहिकताको भावनामा पार्टीलाई चलायमान बनाउनुपर्छ । मै एक्लो हुँ भन्ने भावना त्याग्नुपर्छ । उच्च तहमा रहेका सधै सत्ता र पावरमा रहने, तल्लो तहका सधै कार्यकर्ता नै रहने भन्ने भाष्य चिर्नुपर्छ । राजनीति–पार्टीको विचार र सिद्वान्तको आधारमा गर्नुपर्छ नकी व्यक्तिको ।
पछिल्लो समयमा देखिएको नेतृत्व परिवर्तनको बहसले केही परिवर्तन ल्याउनेमा आश्वस्त हुन सकिन्छ । दोस्रो पंक्तिका नेताहरुले नेतृत्व लिन तयार भएको अवस्थामा आम सदस्यले सहयोग गर्नेछन् । जसका लागि आफ्नो क्षमता र तत्परता देखाउनुपर्छ । नेतृत्व दिए हुन्थ्यो भन्ने तर भन्न डराउने हो भने मनको लड्डु मनमै खानु जस्तै हो । पार्टी बनाउने सोही पार्टीका सदस्यहरुले हो । आफ्नो संगठन कस्तो बनाउने चिन्तन सबैमा हुनु जरुरी छ । गलत गर्नेलाई सचेत गर्ने, राम्रो गर्नेलाई राम्रो भन्ने प्रवृति हुनु जरुरी छ । नेतृत्वले जे गरे पनि ठीक भन्ने प्रवृत्ति त्याग्नुपर्छ । पार्टीमा भएका गतिविधिलाई पार्टीभित्रै बहस गरी निष्कर्ष निकाल्नु जरुरी छ । सम्बन्धित ठाउँमा बहस नगर्ने तर, झुण्डझुण्ड र सामाजिक सञ्जालमा विरोध मात्र गर्ने सच्चा पार्टी सदस्य हुनै सक्दैन । यस विषयमा अब पार्टीभित्रै बृहत बहस गरौं । देखिएका समस्याहरुको समाधान गरौ ।
भर्खरैको जेनजी समूहको आन्दोलनले धेरै कुरा संकेत गरेको छ । दल र पार्टीका नेताहरु सच्चिनुपर्ने दबाब दिएको छ । नेपालको दलीय राजनीतिप्रति जनताको वितृणाजस्तो देखिएको छ । त्यसलाई चिर्दै जानुपर्छ । यद्यपी नेपालको बहुदलीय व्यवस्थालाई नकार्न सकिदैन । तर, दलहरु सच्चिनुपर्ने अवश्य छ । लामो संघर्षपछि बनेको नेपालको संविधानलाई आत्मसात गर्नुपर्छ । आवश्यक संशोधन गर्दै जाने र अक्षरशं पालना गर्नु सबैको कर्तव्य हो । गलत गर्नेलाई कानूनले सजाय दिनुपर्छ, अपराधिक तरिकाले होइन । निर्वाचन नजिकिदैछ । उम्मेदवारी छनोट गर्दा सक्षम व्यक्ति छनौट गरौं जसले देश र जनताको लागि निस्वार्थ काम गर्न सकोस् ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका