नेपाल जैविक विविधताले भरिएको राष्ट्र हो । विश्व जैविक विविधतामा नेपाल ४९ औं स्थानमा छ । विश्वको कुल भू–भागको ०.०३ प्रतिशत ओगटेको नेपालमा २२ हजार भन्दा बढी वनस्पति अर्थात विश्व जैविक विविधताको १.३ प्रतिशत रहेका छन् । फूल फुल्ने बिरुवा प्रजातिहरूको मात्र हिसाब गर्ने हो भने नेपाल विश्वमा २७ औं र एसियामा १० औं स्थानमा छ । क्षेत्रफलमा सानो देश भएर पनि अनुपातिक रुपमा जैविक विविधतामा नेपाल धनी देशमा पर्दछ । जैविक विविधतामा धनी हुनुमा भौगोलिक विविधता, जलवायुको विविधता, वनस्पतिको धनात्मकता, वन्यजन्तुको विविधता, संरक्षित क्षेत्रहरूको समुचित संरक्षण, युनेस्कोको विश्व सम्पदा क्षेत्रमा पर्नु र वनस्पति एवं जीवजन्तुका लागि उपयुक्त परिस्थिति मुख्य कारण मानिन्छन् । जैविक विविधता संरक्षण गर्न राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र संरक्षण क्षेत्रहरू स्थापना गरिएको छ ।
नेपालमा ६ हजार भन्दा बढी प्रजातिका बनस्पति, दुई सय आठ प्रजातिका स्तनधारी, आठ सय ६७ प्रजातिका पन्छी, एक सय ३० प्रजातिका सरीसृप र एक सय २५ प्रजातिका माछा रहेका छन् । बंगाल बाघ, एक सिङ्गे गैंडा, रेड पाण्डा, हिउँ चितुवा, सारस, गिद्ध जस्ता विश्वमै लोपोन्मुख मानिएका वन्यजन्तु पनि उपलब्ध छन् । चरा अवलोकनकर्ताहरूको लागि स्वर्ग पनि भनिन्छ । तर पछिल्ला दिनहरुमा जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रहरुमा देखिएको परिवर्तनले जैविक विविधता संरक्षणमा भने चुनौति देखिएको छ । वनस्पति, जीवजन्तु र सीमसार क्षेत्रहरु जलवायु परिवर्तनले ल्याएको चुनौतिको सामना गर्न संघर्षरत छन् । यसै सन्दर्भमा विश्वब्यापी रुपमा जैविक विविधता दिवस मनाइएको छ । यो दिवस अन्तर्राष्ट्रिय जैविक विविधता दिवस तथा जैविक विविधताको महत्व र यसको संरक्षणका लागि आवश्यक प्रयासहरू प्रतिविम्बित गर्ने अवसरको रुपमा लिन सक्नुपर्नेमा त्यसो भइराखेको छैन । जैविक विविधता संरक्षणसँग आर्थिक विकासलाई सन्तुलनमा राख्ने भूमिका सरकार मात्र होइन नागरिकको पनि रहन्छ । सीमसार क्षेत्रहरुको संरक्षणले जीवजन्तु र वनस्पतिको संरक्षण हुन्छ । हिमाल, पहाड, चुरे, जल, जंगलको संरक्षण आजको आवश्यकता हो । वर्तमानको लागि मात्र होइन, भविष्यको पुस्ताका लागि समेत जैविक विविधताको संरक्षण अपरिहार्य छ । त्यसका लागि तीन तहका सरकारको प्रयासमा नागरिक स्तरबाट पनि सघाउन आवश्यक छ । जैविक विविधताको संरक्षण गर्नु आफ्नै संरक्षण हो भन्ने बुझाउन र नागरिक प्रति यसको महत्व बुझाउन एक दिन मात्र होइन नियमित कार्यक्रम गरिनुपर्छ । (सम्पादकिय)









