सम्पादकीयः पूर्वराष्ट्रपतिमाथिको छेकवार

कूलमणि ज्ञवाली

नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने चाहनालाई छेकबार लगाइदिएको छ । एमाले केन्द्रीय कमिटी बैठकले पूर्व राष्ट्रपतिको पदीय गरिमालाई मध्यनजर गर्दै राजनीतिमा सक्रिय हुन नहुने तर्क गरेको छ । पछिल्लो समय देशको राजनीतिमा धुव्रीकरण बढ्दो छ । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन माओवादी केन्द्रको उपाध्यक्ष बनेर राजनीतिमा सक्रिय छन् । पूर्वराष्ट्रपति भण्डारी पार्टीमा सक्रिय बनेर नेतृत्वमा पुग्ने दाउमा थिईन् । उनलाई पाटीको संस्थापन इतरका एमाले नेता कार्यकर्तादेखि अन्य वामपन्थीहरुसहित सिंगो महिला वर्गको समर्थन थियो । तर पुनः पार्टी अध्यक्ष बन्ने बाटोमा भण्डारीलाई अवरोध देखेपछि अध्यक्ष ओलीले केन्द्रीय कमिटीबाटै सक्रिय राजनीतिमा छेकबार लगाउने प्रयास गरे । हुन त नेपालको संविधानले राष्ट्रपतिको पदलाई निष्पक्ष, समावेशी र सर्वमान्य संस्थाको रूपमा परिभाषित गरेको छ । राष्ट्रपतिको भूमिकालाई राजनीतिक विवादभन्दा टाढा राख्ने अपेक्षा गरिएको छ । राष्ट्रिय एकताको प्रतिकको रूपमा मानिएकी पूर्व राष्ट्रपति भण्डारीको पछिल्लो समयमा देखिएको राजनीतिक सक्रियताले नेपाली समाज दुई धारमा बांडिएको थियो ।

पूर्व राष्ट्रपतिको हैसियतले हुने काम कारवाहीमा गरिमा, सन्तुलन र निष्पक्षताको प्रतिविम्ब देखिनु जरुरी हुन्छ । त्यसले गर्दा एमालेको राजनीति गर्दा त्यो गरिमा कायम नरहन सक्छ भन्ने धारणा एकातिर छ भने अर्कातिर संविधानले पूर्व राष्ट्रपतिको भूमिकालाई स्पष्ट रूपमा पार्टी राजनीतिमा संलग्न नहुने भनेर निषेध गरेको छैन । संवैधानिक रोकतोक नभएको कारणले राजनीतिमा जान मिल्छ नै । राष्ट्रपतिले कार्यकाल समाप्तिपछि पुनः सक्रिय राजनीतिमा फर्किने परिपाटी बसाल्ने हो भने आगामी राष्ट्रपतिहरू पनि तटस्थता भुलेर भविष्यको राजनीतिक आधार बनाउन राष्ट्रपति पदको उपयोग गर्न सक्ने जोखिम रहन्छ । पूर्व राष्ट्रपतिहरूले राजनीतिक पार्टीभन्दा माथि उठेर, मुलुकका साझा सवालमा नीतिगत सल्लाह दिने, शिक्षाद्वारा प्रेरित गर्ने र राष्ट्रिय सहमतिका विषयमा पुल बन्ने भूमिका निर्वाह गर्नु उपयुक्त हुन्छ भनेर नै एमाले संस्थापन मात्र होइन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समेत भण्डारीको राजनीतिक सक्रियता उचित नभएको भनिरहेका छन् । नैतिकताको खडेरी परिरहेको बेलामा समन्वयकारी भूमिका र लोकतान्त्रिक आन्दोलन मात्र होइन राजनीतिमा महिला सहभागिता बढाउन ऐतिहासिक काम गरेकी भण्डारीप्रति देखिएको समर्थनले एमालेले तत्कालै राजनीतिमा आउन रोकेपनि भविष्यमा संभावनाको ढोका खुलै हुनेछ ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका