‘गुल्मीदरबारमा स्वास्थ्यको क्षेत्रमा केही नयाँ र रचनात्मक काम गर्ने योजनामा छौं’

मनोज कार्की

गुल्मी जिल्लामा २ नगरपालिका र १० गाउँपालिका गरेर १२ वटा स्थानीय तह रहेका छन् । आफ्नो क्षेत्रको समग्र विकास र नागरिकलाई सहज छिटो र छरितो सेवा प्रवाह गर्ने दायित्व नै अहिले स्थानीय तहको काँधमा छ । स्थानीय तह अहिले विकासका पूर्वाधार अन्तगर्त स्वास्थ्य,शिक्षा,रोजगारी,विद्यृत,सडक र खानेपानी लगायका क्षेत्रमा काम गरिरहेका छन् । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले जिल्लामै स्वास्थ्यको क्षेत्रमा केही नयाँ र रचनात्मक काम गरिरहेको छ । गुल्मीदरवारले स्वास्थ्य र पोषणको क्षेत्रमा उदाहरणीय काम गर्दै आएको छ । २०७६ साल फागुनमा १७ बुँदे प्रतिबद्धतासहित सुरु भएको अभियानले ३ वर्षको निरन्तर मेहनतपछि २०८० साल जेष्ठ ६ गते नेपालमै पहिलो पटक “पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका” घोषणा भएको थियो । गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरिरहेका काम, सफलता, चुनौती र आगामी योजनाबारे गौतमबुद्ध सन्देशकर्मी मनोज कार्कीले स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद अर्यालसंग गरेको कुराकानी :

१.गुल्मीदरबार गाउँपालिकामा हाल संचालित मुख्य स्वास्थ्य सेवा कार्यक्रमहरू के–के छन् ? ती सेवाहरूको पहुँच र प्रभाव कस्तो देखिएको छ ?
हाम्रो यस गुल्मीदरवार गाउँपालिकामा अहिले एउटा १५ शैयाको अस्पताल ६ वटा स्वास्थ्य चौकी एउटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र २ वटा सामुदायिक स्वास्थ्य इकाई संचालनमा रहेका छन । नेपाल सरकारको एक स्थानीय तह एक अस्पतालको अवधारणा अनुरुप निर्माण गरिएको १५ शैयाको अभारभूत अस्पताल विगत ६ महिनादेखि संचालनमा आएको छ । जसका कारण हाल यस अस्पतालमा आउने सेवाग्राहीको संख्यामा वृद्धि हुन थालेको छ । यस अस्पतालसंगै गाउँपालिका भित्र रहेका अन्य स्वास्थ्य संस्थाबाट पनि प्रवद्र्धनात्मक प्रतिकारात्मक र उपचारात्मक सेवाहरु प्रभावकारी रुपमा चलिरहेका छन् । सेवाको पहुँच पालिकाभित्रका आम नागरिकसम्म प्रभावकारी ढंगले सर्वसुलव रुपमा पुगेको छ भन्ने हामीले विश्वास लिएका छौं ।
२. गुल्मीदरबार देशभरमै पहिलो पटक “पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका” घोषणा भएको थियो ? यो कसरी सम्भव भयो ? यसका लागि पालिकाले के कस्ता कमद अगाडी सारेको थियो ?
हामीले गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरुलाइ पोषणमैत्री बनाउनको लागि यस गुल्मीदरवारले स्थापना कालदेखि नै पोषण सम्वन्धी बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका थियौं । जसअन्तर्गत समुदायमा पोषण प्रवद्र्धन गर्नका लागि प्रत्यक वडामा रहेका सुनौलो १००० दिनका आमाहरुलाइ समावेश गरेर पोषण तथा स्तनपानको महत्व बारेमा अभिमुखिकरण कार्यक्रम प्रत्येक वडाका नागरिकमा पुगेर गर्दै आएका छौं । यसमा सहभागी सबैलाई कोदो,चामल,चना, अण्डा,सावुन र नङ्कट सहितको पोषण प्याकेज बितरण, विद्यालयमा अध्यनरत छात्राहरुको समस्यालाइ मध्नजर गर्दै गाउँपालिका भित्रका सबैै माध्यामिक र निम्न माध्यामिक बिद्यायालयहरुमा सुरक्षित महिनावारी सम्वन्धि अभिमुखिकरण कार्यक्रम संचालन गर्न सफल भएका थियौं । हामीले त्यस अवधिमा प्रत्येक विद्यालयमा सेनिटरी प्याड बितरण गरेर गाउँपालिका अध्यक्ष सरोजकुमार थापाबाट महिनावारीका लागि सुरक्षित सामाग्रीयुक्त बिद्यायालय क्षेत्र गाउँपालिका घोषणा गरेका थियौं । त्यस लगत्तै गाउँपालिकाले पूर्ण संथागत प्रसुति अभियानको शुरुवात गरी गर्भवतिको घरमा गर्भवति झण्डा राख्ने,बर्थिङ्ग सेन्टरमा पुग्ने गर्भवतीलाई निशुल्क एम्वुलेन्स सेवा शुरुवात गरेको थियो । पालिकाभित्र रहेका ८३ वटा स्वास्थ्य आमा समुहलाई पुनर्जागरण , पिछाडिएका समुदायलाई लक्षित १० ठाँउमा ६८५ जनालाई स्वास्थ्य तथा पोषण प्रवद्र्धन सम्वन्धि अभिमुखिकरण,प्रत्येक महिनाको २८ गते तौल अनुगमन दिवस संचालन,सुनौलो १००० दिनका आमाहरुलाइ तौल अनुगमन , स्तनपान र पोषणको महत्वबारे अभिमुखिकरण, बालबालिकाहरुलाई अण्डा बितरण गर्ने लगायका कार्यलाई अगाडी बढाएका थियौं । त्यसपश्चात् पोषण सेवा खोप सेवा, सुरक्षित मात्रृत्व सेवा, परिवार योजना सेवा र सरसफाइलाई मध्यनजर गर्दै नेपालमै पहिलो पटक कस्तो छ आमा कार्यक्रम संचालन गर्न हामी सफल भएका थियौं । हाम्रो गाउँपालिकाले संचालन गरेका यी र यस्तै कार्यक्रमको प्रभावकारीताले नेपालमै पहिलो पटक पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणा गर्न सम्भव भएको थियो । उक्त कार्यक्रम अहिले मेरी आमा स्वस्थ आमा नामक कार्यक्रमको रुपमा संचालन भईरहेको छ ।
३. गाउँपालिकाभित्र सबै स्वास्थ्य संस्थाहरूको भौतिक पूर्वाधार, जनशक्ति र औषधि आपूर्ति अवस्था कस्तो छ ? सुधारका लागि के योजना छ ?
गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरुको भौतिक अवस्था सम्वन्धमा १५ शैयाको अस्पताल र प्रत्येक वडामा स्वास्थ्य संस्थाका भवनहरु नेपाल सरकारको मापदण्ड बमोजिम निर्माण सम्पन्न भैसकेका छन् । स्वास्थ्य चौकीहरुमा दरबन्दी अनुसारको जनशक्ति रहेका छन् । आधारभुत अस्पताल र सामुदायिक स्वास्थ्य इकाईहरुमा प्रर्याप्त जनशक्ति नहँुदा सेवा प्रवाहमा हामीलाई केही कठिनाइ भैरहेको छ । नेपाल सरकारले निःशुल्क लागु गरेका ९८ प्रकारका औषधिहरु पालिकाभित्रका सबै स्वास्थ्य संस्थामा सदैव उपलब्ध हुँदै आएका छन् । गाउँपालिकाले दिर्घ रोगीहरुका लागि निःशुल्क औषधि उपचार कार्यक्रम पनि संचालनमा ल्याएको छ । अहिले दिर्घ रोगीहरुका लागि नि
ःशुल्क औषधि उपलब्ध गराउने प्रयास भई रेहेको छ । दिर्घ रोगीहरुको दायरा फराकिलो रहेको र धेरै प्रकारका औषधिहरु यसमा पर्ने भएकाले बजेटको अभाव र रोगको निदानका कारण कुनै कुनै औषधि कहिलेकाँही नपाइन पनि सक्छ । त्यसको लागि पनि आगामी बर्षदेखि गाउँपालिकाबाट बिशेष पहल हँुदैछ ।
४. जिल्लामै पहिलो पटक एक स्थानीय तह एक अस्पतालको अवधारणा अनुरुपको १५ शैय्याको आधारभूत अस्पताल पनि संचालनमा आएको छ ? यहाँबाट पालिकाबासीलाई के कस्ता सेवा उपलब्ध छन् ? अस्पतालमा नागरिकको आर्कषण कस्तो पाउनु भएको छ ?
गुल्मी जिल्लामै पहिलो पटक संचालनमा ल्याइएको १५ शैयाको आधारभूत अस्पतालमा हाल एमविविएस डाक्टरद्धारा दैनिक बिरामीको स्वास्थ्य परिक्षण तथा उपचार ,ल्याव टेक्निसियनद्धारा प्रयोगशालाल्याव संचालन, एसविएद्धारा २४ सै घण्टा प्रसुति सेवा प्रवाह, तालिम प्राप्त नर्सद्धारा सुरक्षित गर्भपतन सेवा, ५वटा आधुनिक परिवार नियोजनका सेवा,सहुलियत सहित फार्मेसी सेवा लगायतका सेवाहरु प्रवाह गाउँपालिका बासीलाई उपलब्ध भईरहेका छन् । अहिले यस अस्पतालमा नागरिकको आर्कषण बढिरहेको छ । कुनैबेला गुणस्तरीय स्वास्थ्य सेवाको खोजीमा तम्घास,पाल्पा,बुटवल लगायतका शहरमा पुग्ने नागरिक पनि अहिले यहाँ सेवा लिन आईरहेका छन् । यस अस्पतालमा दैनिक २५÷३० जना विभिन्न रोगका बिरामीले सेवा लिईरहेका छन् । हालसम्म यस अस्पतालमा दर्जन बढि प्रसूति भएका मात्रै छैनन् यहाँ गाउँपालिका आसपासका क्षेत्रबाट समेत उपचारको लागि नागरिक आउने गरेका छन् । नागरिकको बढ्दो आर्कषणलाई केन्द्रित गरेर गाउँपालिकाले आधाभूत अस्पतालबाट थप गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गर्न आवश्यक पहल गरिरहेको छ ।
५.पाँच वर्ष मुनिका बालबालिकाको पोषण, तौल अनुगमन र भिटामिन ए वितरणजस्ता कार्यक्रमहरू कत्तिको प्रभावकारी छन् ?
५ बर्ष मुनिका बालबालिकाहरुको लागि पोषण कार्यक्रम निकै प्रभावकारी ढंगले संचालन भैरहेका छन् । नियमित सेवाको साथै प्रत्येक महिनाको २८ गते अभियानको रुपमा सवै वडाहरुमा मासिक तौल अनुगमन दिवस पनि मनाउने गरेका छौ । दिवसको अवसरमा स्वास्थ्य संस्थाबाट हामीले बालबालिकाको पोषण,तौल र भिटामिन बारे जानकारी दिनुका साथै आवश्यक स्वास्थ्य सम्बन्धि बच्चाका आमाबुबालाई परामर्श समेत दिदैं आएका छौ ।
६. गर्भवती र सुत्केरी महिलाका लागि पोषण, सुरक्षित प्रसूति सेवा, आइरन÷फोलिक एसिड वितरण लगायत सेवाहरू कत्तिको नियमित र प्रभावकारी छन् ?
गर्भवती सुत्केरी र २ बर्षभित्रको वालबालिकाहरुलाई लक्षित गरेर गाउँपालिकाले मेरी आमा स्वस्थ आमा कार्यक्रम संचालन गर्दै आएको छ । जुन कार्यक्रम अनुसार सुनौलो १००० दिन भित्रमा कम्तिमा ६० पटक स्वास्थ्यकर्मीले फलो अप गर्ने हँुदा उँहाहरुको लागि कुनै पनि सेवा छुट्ने सम्भावना नै छैन । हामीले संचालन गरेका स्वास्थ्यका कार्यक्रमले गर्भवती र सुत्केरी महिलामा ज्ञान बढाउन थप मदत पुगेको छ ।
७.स्वास्थ्य आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका र सामुदायिक सहभागिता कत्तिको प्रभावकारी छ ? तिनीहरूको भूमिकालाई अझ सशक्त बनाउन के प्रयास भइरहेको छ ?
स्वास्थ्य क्षेत्रको जग भनेकै स्वास्थ्य आमा समुह हुन् भन्ने हामीले बुझेका छौं । स्वास्थ्यका बलिया खम्बा महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका भएकाले उँहाहरु मार्फत संचालन भएका हरेका कार्यक्रम तथा गतिविधिले हाम्रो पालिकाको स्वास्थ्यमा देखिएको प्रभावकारिताले साच्चिकै हामीलाई गर्वको महसुश तुल्याउँछ । बिभिन्न स्वास्थ्य सम्वन्धि अभियान लगायतका नियमित कार्यक्रमले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामा समेत उर्जावान् क्रियाशिलता देखिन्छ । गुल्मीदरवार गाउँपालिकामा रहेका ८३ वटै स्वास्थ्य आमा समुहको बैठक प्रत्येक महिना १५ गतेदेखि २८ गतेसम्म नियमित संचालन हुन्छन् । जसमा हरेक महिना बिभिन्न रोगहरुबाट बच्नका लागि गर्नुपर्ने सामाजिक ब्यवहार परिवर्तनको बारेमा छलफल गरिन्छ ।
८.गाउँपालिकाले पोषणमैत्री स्थानीय शासन प्रवद्र्धन, मासिक तौल अनुगमन दिवस, पोषण कर्नर, विद्यालय दिवा खाजा कार्यक्रम जस्ता नविन अभ्यासहरूबाट के–कस्ता परिवर्तन देखिएको छ ?
गाउँपालिकाले संचालन गरेका पोषण सम्बन्धि बिविध क्रियाकलापले नागरिकको दैनिक खानपानमा समेत केही सुधार भएको हामीले विश्वास लिएका छौं । आजभोली नागरिकहरुले खानामा बिविधिकरण गर्ने हरेक बार खाना चार मिलाएर खाने गरेको पाइन्छ । पछिल्लो समय युवामा सर्वाधिक रुचाईने पत्रु खाना (जंङ्फुड) ले स्वास्थ्यमा हानी पुर्याउँछ भन्ने बारेमा चेतनास्तर बढेको पाइएको छ । जसले गर्दा कम तौलका बच्चा जन्मिने बालवालिकाहरुलाई कुपोषण हुने र किसोरीहरुलाई रक्तअल्पता हुने दर घटेको पाइएको छ । हामीले यसलाई पनि स्वास्थ्य क्षेत्रमा भएको एक उपलब्धिको हिस्सा दिने गरेका छौं ।
९. स्वास्थ्य सेवा सञ्चालनमा देखिएका प्रमुख चुनौतीहरू के–के हुन् ? जनशक्ति अभाव, बजेट, भूगोल, पहुँच लगायतका पक्षमा कसरी व्यवस्थापन भइरहेको छ ?
स्वास्थ्य सेवा संचालनमा केही न केही चुनौति त छन् नै । हामीले स्वास्थ्य सेवामा देखिएका प्रमुख चुनौतिहरुलाई गाउँपालिकाले ब्यवस्थापन गर्ने प्रयास गरिरहेको छ । आधारभूत अस्पताल संचालनको लागि करारमा जनशक्ति ब्यवस्थापन, स्वास्थ्य संस्थाको लागि आवश्यक औजार उपकरण खरिद गर्ने र बजेट ब्यवस्थापनको लागि बिशेष अनुदानको लागि संघीय सरकार र प्रदेश सरकारसंग समन्वय गर्ने कार्य भईरहेको छ ।
१०. अगामी वर्षका लागि गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा के–कस्ता प्राथमिकता, रणनीति र योजनाहरू छन् ?
आगामी आर्थिक बर्षमा १५ शैयाको आधारभुत अस्तपालको सेवालाई थप प्रभावकारी बनाउन २४ सै घण्टा इमर्जेन्सी सेवा, डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, इसिजी सेवा, माइनर अप्रेशन लगायतका सेवाहरु बिस्तारमा गाउँपालिकाले जोड दिएको छ । गाउँपालिका र प्रत्येक वडामा रहेका सवै स्वास्थ्य संस्थाहरुबाट प्रवाह भैरहेका स्वास्थ्य सेवाहरुलाइ थप प्रभावकारी वनाउने योजनामा हामी लागि परिरहेका छौं । रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु वेस भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै समुदाय स्तरमा सर्ने तथा नसर्ने रोगहरु बारे जानकारी रोकथाम र नियन्त्रणका लागिस्वास्थ्य प्रवद्र्धन कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउने हामीले रणनीति लिएका छौं । आगामी आर्थिक वर्षदेखि क बर्गका अपाङ्ग, ८० बर्ष माथिका जेष्ठ नागरिक र अशक्तहरुलाई दिदैं आएको सेवालाई थप व्यवस्थित गर्दै उनीहरुको आवश्यकताका आधारमा घरघरमै गएर सेवा दिने कार्यक्रम बनाएर गाउँपालिका अगाडी बढेको छ । आगामी बर्ष गुल्मी दरवारका विभिन्न वडाहरुलाई पोषणमैत्री स्थानीय शासन युक्त वडाहरु बनाउने लक्ष्य लिएका छौं । साथै शिक्षा, कृषि, पशु, खानेपानी तथा सरसफाइ, महिला विकास,शुसासन प्रवद्र्धन लगायत बहुक्षेत्रीय निकायहरुको सकृयतामा यस गाउँपालिकालाइ पूर्ण पोषणमैत्री स्थानीय शासनयुक्त गाउँपालिका बनाउने अभियान समेत संचालन गर्दैछौं । हामीले प्रत्येक वडाका विद्यालयमा र सरोकारवालासँग पोषणका विषयमा बहस पैरवी र अभियान सञ्चालन गर्ने स्वास्थ्य र सरसफाइसम्बन्धी तोकिएका सूचक पूरा गर्ने परिवारलाई सम्मान गर्ने नीति तथा कार्यक्रम समेत ल्याएका छौं ।
अन्त्यमा गुल्मीदरवार गाउँपालिकाको स्वास्थ्य क्षेत्रलाइ प्राथमिकतामा राखेर योजना बनाउन पहल गर्ने जनप्रतिनिधिहरु,कार्यक्रममा सहयोग पुर्याउने सम्पूर्ण राजनैतिक दलहरु, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक,सरकारी तथा गैरसरकारी संघसस्था,महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका,स्वास्थ्य आमा समुहका सदस्य,पत्रकार, नागरिक समाज लगायत आम नागरिकमा धन्यबाद व्यक्त गर्दछु । आगामी दिनहरुमा समेत गाउँपालिकाको स्वास्थ्य लगायत समग्रह विकासका लागि सबैको साथ रसहयोग रहने छ भन्ने अपेक्षा गरेको छु । धन्यबाद

 

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका