नेपालमा प्रविधि र युवा जनशक्तिको सम्भावना

अहिले कामअनुसारको ज्ञान हुनु आवश्यक छ । सवारी साधन, सवारी लाइसेन्स र कम्प्युटरसम्बन्धी ज्ञान अनिवार्य जस्तो नै भइसकेको छ।
विष्णु भट्टराई

प्रविधिको प्रयोग बढ्दो छ। अहिले हरेक दिन नयाँ प्रविधिसँग जुध्नुपर्ने अवस्था छ। सरकारीदेखि अन्य कार्यालय र व्यक्तिगत प्रयोगमा डिजिटल प्रविधिहरूको प्रयोग भइरहेको छ। प्रविधिको विकासले कामलाई सहज बनाएको छ। प्रविधिको प्रयोगसँगै आफ्नो सीप र क्षमतालाई कसरी अगाडि बढाउने भन्ने विषयमा अहिलेका युवापुस्ताले गम्भीर रूपले सोच्नुपर्ने स्थिति आएको छ। प्रविधिको प्रयोग बढे पनि अन्तरनिहित क्षमता भने खुम्चिँदै जानु अहिलेको मुख्य चुनौती हो।
प्रविधिले ल्याएको सहजतासँगै मानिसहरूमा आलस्यपना पनि उत्तिकै थपिएको देखिन्छ। नेपालको परिप्रेक्ष्यमा सरसर्ती हेर्दा युवापुस्ता प्राविधिक ज्ञानमा अगाडि छन्, तर व्यवहारिक ज्ञानमा भने कमजोर देखिन्छन्। युवा जनशक्तिको ज्ञान फराकिलो भए पनि रोजगारदाताको माग भने उनीहरूको जस्तो छैन । यो लेखमा सरकारी सेवा वाहेकका सामान्य रोजगारका क्षेत्रमा कस्तो जनशक्तिको माग छ भन्ने विषयलाई आधार बनाइएको छ ।

नेपालको सन्दर्भमा अधिकांश रोजगारदाताहरू पुरानै शैलीमा चलिरहेका छन्, तिनीहरूलाई विकसित प्रविधिभन्दा पनि व्यवहारिक रूपमा काम गर्ने कामदारहरू आवश्यक छन्।
पछिल्लो दशकलाई हेर्ने हो भने अधिकांश युवा जनशक्ति विदेश पलायन भइसकेका छन्। प्राविधिक ज्ञानका प्रखर जनशक्ति देश छोड्ने मुडमा छन्। यसरी युवाशक्ति विदेश पलायन भइरहँदा प्रविधिको प्रयोग जति गर्नुपर्ने हो, त्यति गर्न सकिएको छैन। रोजगारीका क्षेत्रहरूमा युवाहरूको उपस्थिति न्यून छ, दिने र लिने बीचको दूरी बढ्दो छ। जनशक्तिले खोजे अनुसारको सेवा–सुविधा पाउन सक्दैनन्, रोजगारदाताले दिन सक्दैनन्। यसको मुख्य कारण रोजगारदाताले विकसित प्रविधि पछ्याउन नसक्नु वा विश्वस्त हुन नसक्नु नै हो। अर्को कारण जनशक्ति अभाव।

नेपालमा मिश्रित व्यवसायहरू सञ्चालनमा छन्। साना तथा घरेलु, मझौला र ठूला उद्योगहरू। ठूला उद्योग–कलकारखाना न्यून छन्, साना तथा घरेलु र मझौला उद्योगहरू धेरै भए पनि कम लगानीमा सञ्चालनमा छन्। ती व्यवसायहरूले नयाँ जनशक्ति उत्पादन गर्नुभन्दा पनि आफ्ना उत्पादन कसरी टिकाउने भन्नेतर्फ नै चिन्तित देखिन्छन्। जसले गर्दा अनुभवी कर्मचारी वा दक्ष कर्मचारीको माग गरेको देखिन्छ। नयाँ (फ्रेश) कर्मचारीले मौका कमै पाउँछन्।

आधारभूत ज्ञान सिकौं
अहिले कुनै सङ्घसंस्थाले जनशक्ति आवश्यक परेमा अनुभवीलाई विशेष ग्राह्यता दिने गरेको देखिन्छ। सूचनामै अनुभवी कर्मचारीलाई विशेष ग्राह्यता लेखिएपछि नयाँ (फ्रेश) ले आवेदन दिनै हिचकिचाउने गरेको पाइन्छ। केहीले ‘काम नगरी कसरी अनुभव लिने?’ भन्ने कुराको आक्रोश नै व्यक्त गरेको पनि हामी देख्ने गर्छौं। तर त्यसो भने होइन। तपाईंसँग अहिलेको परिस्थितिअनुसार केही सीपहरूमा दक्षता भएमा रोजगारदाताले रोजगारीका लागि उपयुक्त ठान्नेछन्। सवारी साधन, सवारी लाइसेन्स र कम्प्युटरसम्बन्धी ज्ञान अहिले अनिवार्य नै छ। यी कुराहरूमा तपाईं सक्षम हुनुहुन्छ भने रोजगारीका लागि पहिलो चरण तपाईंले पूरा गरिसक्नुभएको छ। अर्को सम्बन्धित विषयमा जानकार हुनु अति आवश्यक छ। तपाईं प्रशासनिक काममा रुचि राख्नुहुन्छ भने तपाईंलाई लेखासम्बन्धी ज्ञान हुनु आवश्यक छ। तपाईं मार्केटिङमा रुचि राख्नुहुन्छ भने तपाईंको बोलाइ र लेखाइमा निखारता ल्याउनुहोस्। प्राविधिक क्षेत्रमा काम गर्न मन छ भने प्राविधिक कुराहरूको सीप हुनु जरूरी छ। अहिले धेरै इन्स्टिच्युटहरूले रोजगारमूलक र सीपमूलक तालिमहरू प्रदान गरिरहेका छन्। ती इन्स्टिच्युटहरूमा सम्पर्क गरेर पनि तपाईंले ज्ञान लिन सक्नुहुन्छ।

समय दिनुहोस्
धेरैजसो रोजगारदाताहरूको गुनासो ‘काम सिकाएपछि छोड्यो वा अन्त गयो वा आफ्नै गर्यो’ भन्ने सुनिन्छ। त्यसका लागि तपाईं नियुक्त हुने समयमै आफूले काम गर्ने निश्चित समय तोक्नुहोस्। त्यो समय पूरा दिनुहोस्। समयावधि सकिएपछि तपाईंले थप सेवा–सुविधा लिएर निरन्तरता दिन सक्नुहुन्छ वा विकल्प खोज्न सक्नुहुनेछ। त्यतिवेला तपाईं काममा अनुभवी हुनुहुनेछ। सिकेको सीप कहिल्यै खेर जाँदैन।

सहनशील हुनुहोस्
कुनै पनि सङ्घसंस्थाले आफ्नो सफलताका लागि तपाईंको सहयोग लिएको हुन्छ। त्यससँगै तपाईंलाई समेत रोजगार दिएको हुन्छ। काम गर्ने क्रममा केही समस्या र अप्ठ्याराहरू आउन सक्छन्। ती समस्याहरूलाई सहज तरिकाले समाधान गर्ने तर्फ लाग्नुहोस्। सहज हुँदा मात्तिने र समस्या पर्दा आत्तिने कहिल्यै नगर्नुहोस्। आफूभन्दा अग्रजहरूको सहयोग लिनुहोस्। अनावश्यक टिप्पणी नगर्नुहोस्, सहनशीलताको गुण आत्मसात गर्नुहोस्।

काममा प्रोफेशनल हुनुहोस्
सुरु–सुरुमा केही गल्तीहरू हुन्छन्। ती गल्तीहरूबाट पाठ सिकेर फेरि सकभर नदोहोर्याउनुहोस्। आफूलाई दिएको जिम्मेवारी सहज तरिकाले सम्पन्न गर्नका लागि ज्ञान र सीपमा दक्ष बन्नुहोस्। अग्रजहरूबाट सिक्नुहोस्, बढी समय दिएर सिक्नुहोस् वा सम्बन्धित विषयज्ञातासँग तालिम लिनुहोस्। जसबाट रोजगारदाताले तपाईंबाट बढी काम लिन सकोस् साथै तपाईंको सेवा–सुविधामा वृद्धि गर्न सकोस्। तपाईं यस्तो बन्नुहोस् कि तपाईंले काम होइन, कामले तपाईंलाई खोजोस्।

योजनाहरू बनाउनुहोस्
तपाईं सङ्घसंस्थाको कर्मचारी मात्र नभई रोजगारदाताको सल्लाहकार पनि हो भन्ने कुरा बुझ्नुहोस्। लगानीकर्तालाई सबै ज्ञान हुन सक्छ, तर तपाईंले गर्ने कामको बारेमा ज्ञान नहुन सक्छ। सङ्घसंस्थाको हितका विषयमा तपाईंले अनुसन्धानहरू गर्नुहोस्, प्रयोग गर्नुहोस् र रोजगारदातासँग छलफल गर्नुहोस्। तपाईंको सल्लाह–सुझावले सङ्घसंस्थालाई थप उचाइमा लैजान मद्दत गर्नेछ। तपाईंको उचित योजना तपाईं आफैंलाई सधैं काम लाग्छ। जसलाई तपाईंले सपनाको रूपमा देख्न सक्नुहोस्। आखिर देख्नेहरूकै सपना पूरा हुन्छ।

माथि उल्लिखित केही व्यवहारिक ज्ञानले तपाईंलाई ऊर्जाशील जनशक्तिको रूपमा विस्तार गर्नेमा कुनै दुई मत छैन। तपाईंले व्यवहारिक ज्ञानसँगै, सैद्धान्तिक र प्राविधिक ज्ञानको दक्षता हासिल गर्न सकेमा बेरोजगार बनेर भौतारिनुपर्दैन।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका