साउन सक्रान्ति (लुतो फाल्ने दिन) र साउनब्रतको महत्व

साउन संक्रान्तिको धेरै महत्व मात्र लुतो फाल्ने नभएर, हाम्रो शरिर, मन, बचन र कर्मलाई शुद्ध, स्वस्थ्य र ध्यान योग्य बनाउने हो । यो दिन मात्र नभएर पुरा साउन महिना नै धार्मिक आस्थावानहरुले धार्मीक कर्महरु वा मन शान्ती गराउनका लागि जप र ध्यान र शरिर स्वस्थ्य बनाउन योग गर्नुका साथै खानपानलाई समेत सुधार गरि पुर्ण सात्विक हुने गरेको अवश्थामा अवश्य पनि केहि न केहि शारिरक मानसिक र भावनात्मक परिवर्तन देखिन्छ भन्ने सवैको विश्वास रहेको पाइन्छ ।
नारायण प्रसाद कोइराला

नेपाली संस्कतिको एक अनुपम दिन साउन सक्रान्ति, हरेक वर्ष साउन महिनाको पहिलो दिन जसलाई हामी लुतो फाल्ने दिन भनेर पनि सुन्दै वा परम्परागत तरिकाले मनाउदै पनि आईरहेका छौ । यो दिनलाई यानिकी साउन १ गते नेपाली संस्कृतिमा एक विशेष धार्मिक, साँस्कृतिक र मानवस्वास्थ्यसंग प्रत्यक्ष रुपमा सम्बन्धित एक पर्वको रुपमा पनि मनाउने गरिन्छ । साउने सक्रान्तिलाई विशेषतः शरीरिलाई शुद्धिकरण गर्ने, धार्मिक रुपमा भगवान शिवको महिना, बर्षा ऋतुको प्रभाव, शरिरमा आउने विभिन्न खाले घाउँ खटिराबाट निरोगी हुने जस्तो महत्वपूर्ण कुराहरुमा यसले यो दिन वा पर्वको महत्व राखेको छ ।
साउन १ गते हामीले परापुर्वकाल देखि सुन्दै र व्यवहारमा समेत विभिन्न धार्मिक मान्यता अनुसारका कार्यहरु गर्दै आइरहका छौ, यस दिनमा गरिने शुद्धि कर्मले शरीरमा लाग्ने गर्मीजन्य रोगका साथै छालासम्बन्धी रोग वा विकार (लुतो) लाई हटाउने कुरामा नेपाली जनविश्वास रहेको छ । लुतो फाल्नको लागी यो दिन बेलुका सानो काठ वा झिजाहरुले घरको नमुना बनाउने गाईको गोवरले लिपपोत गर्ने र त्यसमा विभिन्न जडिबुटी युक्त विरुवाहरु जस्तो आँप, पलास, तुलसी, बोजो, खयरका स–साना काठका टुक्रा वा सिन्का जलाउने र शरिरको वरपर घुमाएर खोल्सा, खोलानालाको छेउमा लैजा मेरो सवै लुतो भन्दै फाल्ने चलन छ । यसमा जलाईएका वस्तुहरुको धुवाँले शरिरमा कुनै पनि प्रकारको हानी नगरी बरु श्वासप्रश्वास, खोकी, शरिरको छाला सम्बन्धी रोगहरुलाई निको पार्ने जनविश्वास छ । यो परम्परा विशेषतः नेपालमा त्यो पनि पहाडी भेगमा अझ बढि चलनचल्तिमा रहेको छ । यसलाई विज्ञानले त प्रमाणीत गर्न सकेको छैन तर आयुर्वेद विद्यासंग भने धेरै मेल खाने देखिने हुनाले यसलाई धेरै पहिला देखि चलिआएको लोक परंपराको एक महत्वपूर्ण हिस्साको रुपमा लिने गरिन्छ । साउने संक्रान्ती अर्थात शरीरिक शुद्धिकरणको पर्व विशेष गरि लुतो पाल्ने दिनमा मानिसहरुले तातो पानीमा नुहाउने तितो एवमं झोलिलो खानेकुरा र जडीबुीयुक्त परिकारहरु खाएर शरिर स्वस्थ राख्ने चलन छ ।


साउन महिना धार्मिक रुपले पनि अति नै महत्वपूर्ण महिनाको रुपमा लिइन्छ हिन्दू धर्म संस्कार अनुसार यो महिना भनेको भगवान शिवको महिना हो यो महिना भर धेरै धर्मावलम्बीहरु शुद्ध भई शिवमन्दिरहरुमा गएर भगवानको पूजा अर्जना गर्ने गरेको पाइन्छ । यो महिनामा भगवानलाई जलमात्र अर्पण गरे पनि पुण्यदायी फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ । साउन महिनामा भगवान शिवलाई पूजा गर्नु पर्ने धेरै कारणहरु हिन्दू धर्मका धर्मग्रन्थहरुमा पाइन्छ । धर्मशास्त्र अनुसार देवता र असुरहरुको विचमा भएको सम्झौता अनुसारको समुन्द्र मन्थनको समयमा निस्केको हलाहल नामक अत्यन्त विशालु बिष जसले सार जगतलाई नै नष्ट गर्ने देखिए पछि सो बिषलाई भगवान शिवले सेवन गरि कण्ठमा राख्नु भएको थियो र सो घटना यहि साउन महिना भएको हुनाले यसलाई शिव पुजन महिनाको रुपमा महत्व दिएको धार्मिक परम्परा पाइन्छ । साउन महिनामा बर्षा ऋतु जाग्रित अवस्थामा रहेको र मानिसहरु धेरै जसो घरमै रहने हुँदा सो समयमा ध्यान जप र पुजा गर्ने समय प्रयाप्त हुँने र भगवान स्वयं पनि ध्यान जप र तपका प्रयायवाचि भएकाले गर्दा पनि यो महिनालाई भगवान नाम जप गर्नुलाई महत्वपूर्ण मानिन्छ । यो महिनामा पानी प्रयाप्त पर्ने हँुदा गंगाजल शुद्ध रहन्छिन्, बेलपत्र, आँकको पूmल, धतुरो, गाईको दुध पनि यो समयमा उपलब्ध हुने र यि सवै भगवान शिवका लागि अर्पण योग्य भएका कारण पनि साउन महिना शिवको प्रिय महिनाको रुपमा लिन गरेको अनुमान लगाउन सकिन्छ । यो महिनाको सोमबारको अझैबढि महत्व रहेको छ सोम अर्थात चन्द्रमा जो शिवको शिरमा विराजमान छन् त्यसैले तेज प्रताप र शितलताको प्रतिकको रुपमा सोमबारको ब्रतलाई अझ महत्वका साथ मनाउने गरिन्छ । यो महिना अझ विशेष सोमबार वर्त गर्नाले जानि नजानि गरेका पापकर्महरु नास हुने, परिवारमा सुख शान्ति र सम्बृद्धि हुनुका साथै शारीरिक रुपमा पनि निरोगी हुने कुरा धार्मिक मान्यता रहेको छ ।
साउन महिना आफैमा पवित्र महिना हुँदा हुँदै पनि यो महिनामा विशेष गरि धार्मिक रिति अनुसार बर्त बस्ने, मांस मदिरा नखाने, शुद्ध र सात्विक भोजन गर्ने र भगवानको भजन गर्ने र जप गर्ने पनि प्रचलन रहेको छ । हुन त हिन्दु धर्ममा मांस मदिरा वा तामसिक भोजनलाई बर्जित नै गरेको छ र पनि यो महिना बैज्ञानिक रुपले पनि बर्षा ऋतुमा बातावरणमा चिसोपन, सुर्यको किरणहरुको मधुरपनले गर्दा हाम्रो पाचन शक्ति कमोजर हुन जाने छ, बर्षाको समयले गर्दा खानेपानी, खानेकुरा र मासुमा छिटो व्याक्टेरीया र फंगसहरु लाग्ने गर्दछ, यो समयमा खोलानालाहरुमा बढि पानी हुने हुनाले माछाहरुको प्रजननको समय रहेको हुन्छ जसले गर्दा यो समयमा बढिमात्रामा भारि खानेकुराहरु खानाले पेटसम्बन्धी विभिन्न रोगहरु निम्त्याउने हुनाले पनि यो समयमा भारि खानेकराहरु कम खानको लागि पनि बर्त वस्ने र माछा मासु मदिरा नखाने हाम्रो संस्कार रहेको छ । त्यसलै यो साउन महिनामा माछा मासु नखाने परम्परा केवल धार्मिक मात्र होइन यो स्वास्थ्य सुरक्षा, रोग नियन्त्रण, प्रकृति संरक्षण र मानसिक आध्यात्मिक शुद्धिको एउटा समग्र प्रणाली हो । हाम्रो परम्पराले ऋतु अनुसार जीवनशैली परिवर्तन गर्न सुझाएको छ, जुन आजको वैज्ञानिक दृष्टिले पनि सार्थक र व्यवहारिक देखिन्छ ।
अन्त्यमा, साउन संक्रान्तिको धेरै महत्व मात्र लुतो फाल्ने नभएर, हाम्रो शरिर, मन, बचन र कर्मलाई शुद्ध, स्वस्थ्य र ध्यान योग्य बनाउने हो । यो दिन मात्र नभएर पुरा साउन महिना नै धार्मिक आस्थावानहरुले धार्मीक कर्महरु वा मन शान्ती गराउनका लागि जप र ध्यान र शरिर स्वस्थ्य बनाउन योग गर्नुका साथै खानपानलाई समेत सुधार गरि पुर्ण सात्विक हुने गरेको अवश्थामा अवश्य पनि केहि न केहि शारिरक मानसिक र भावनात्मक परिवर्तन देखिन्छ भन्ने सवैको विश्वास रहेको पाइन्छ । हर हर महादेव

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका