“सेनाको आक्रमण रोक्न सकिन्छ तर विचारको आक्रमण रोक्न सकिंदैन किनभने अब यसको पालो आएको छ ।” – भिक्टर ह्युगो ।
कुरो थालनी गरौँ है । मान्छेको सिङ्गो जीवन नै सिकाइको ठुलो माला हो । यसै क्रममा डोहोरिएर म पनि सञ्चारकर्ममा त्यो पनि पत्रकारितामा जोडिन पुगेँ । सायद २०५८/०५९ सालतिर हुनुपर्छ । सुरुमा खै के कसरी हो, आफूलाई रोजगार तुल्याउन बजार प्रतिनिधि भएर राष्ट्रिय दैनिक भावना पत्रिकामा काम सुरु गरेँ बुटवलमा । आफ्नो सिकारु अवस्था, कामको प्रकृति, झन्झट, व्यस्तता, आम्दानी आदिको प्रसङ्गतिर जानै परेन यतिबेला । त्यस पत्रिकाका प्रधान सम्पादक बद्रीनाथ पाण्डे हुनुहुन्थ्यो । प्रधान कार्यालय बुटवल मिलनचोक पश्चिम तिनकुनेमा थियो । मेरो बुटवल क्षेत्र हेर्ने गरी जिम्मेवारी थियो । कामसँगै कनीकुथी लेखनतर्फ रुचि दिन्थेँ । (मैले पूर्ण समाचार होइन समाचारोन्मुख सामग्री लेख्ने गर्थेँ । फाट्टफुट्ट छापिन्थे पनि बिनानाम) पछि बल्ल सहायक बजार व्यवस्थापक बनियो सायद । त्यसमा कार्यकारी सम्पादकका रूपमा बसन्त पोखरेल, दीपक ज्ञवाली हुनुहुन्थ्यो । भरत केसी, कविता पन्थी ज्ञवाली, विक्रम खड्का पनि कार्यरत हुनुहुन्थ्यो ।
अर्घाखाँचीबाट आफ्नै हातले लेखेका ऋषि आजादका लेखहरू हुलाक वा अन्य सहयोगी मार्फत प्राप्ति भइरहन्थे उक्त पत्रिकामा प्रकाशनार्थ । पछि उहाँ मरेङ उच्च माविको प्रधानाध्यापकका रूपमा सेवानिविृत्त बनेपछि बुटवल आएर पत्रिकामा बाक्लै भेटभाट हुन थालेको थियो हाम्रो । पत्रिकामा प्रमुख व्यवस्थापक रामप्रसाद प्रदीप हुनुहुन्थ्यो । उहाँको केही वर्षअघि र बसन्त पोखरेलको यसै वर्ष साउन ३१ गते देहान्त भयो । सञ्चारका क्षेत्रमा उहाँहरूका सुकर्म भने सदा बाँच्नेछन् । दीपक ज्ञवाली उक्त पत्रिकामा कार्यकारी सम्पादक रहेकै बेला एभरेस्ट इङ्लिस बोर्डिङ स्कुलमा नेपाली विषय अध्यापनरत अमृता पाण्डे (हाल कान्तिपुर पब्लिकेसनसँग सम्बद्ध स्थापित सञ्चारकर्मी अमृता अनमोल) आफ्ना लेख÷रचना लिएर प्रकाशनार्थ त्यहाँ आउजाउ गर्दा नै उहाँहरू एकअर्काका परिश्रमी स्वभाव, लगनशीलता र सक्रियताप्रति परिचित एवम् सम्मोहित बन्दै अन्तत यो जोडी दाम्पत्य जीवनमा प्रवेश गरेको हो कि झैँ महसुस हुन्छ । जे होस्, मेरो अध्ययनकर्म भने भैरहवामै थियो । बुटवलको यो बसाइ सकेपछि सोही पत्रिकाका निम्ति रूपन्देही कार्यक्षेत्र बनाई भैरहवाबाट २०६२ माघदेखि प्रतिनिधि (संवाददाता) भई कार्य गर्न थालेँ । त्यसमा मेरो परिचयपत्र नं. २७ थियो । सञ्चारगृह÷सञ्चारकर्मीमा अनेक समस्या आइहाल्छन् । भैरहवामा स्नातक तहमा मेरो कार्यमूलक पत्रकारिता अध्ययन चल्दै थियो ।
यता, भावना पत्रिकामा कार्यरत रहेकै बेला भैरहवामा वातावरण बचाउ आन्दोलनद्वारा सञ्चालित रूपन्ेदी एफएम १०२ मेघाहर्ज परीक्षण प्रसारणपछि नियमित प्रसारण सुरु भयो । त्यसमा काम गर्ने सोच आयो । सनसाइन स्कुलमा धेरै आवेदकहरूसँगै मैले पनि लिखित परीक्षा दिएँ । नाम निस्कियो । उक्त परीक्षामा निरीक्षकका रूपमा चिरन बराल, टिपी भुसाल लगायत हुनुहुन्थ्यो । पछि अन्तर्वार्तामा उहाँहरूसँगै संस्थाका प्रबन्ध निर्देशक ठाकुरप्रसाद खनाल पनि हुनुहुन्थ्यो । उहाँहरूका अनुभवी र खारिएका प्रश्नको सक्दो उत्तर दिएर म अन्तर्वार्ताबाट पनि छानिएँ । खुसी लाग्नु स्वाभाविकै हो । त्यतिबेला उक्त एफएम बर्मेलीटोलको हालको सुकदेव गुरुङपार्कको पश्चिम अर्थात् हालकै श्याम मिष्ठानकै विपरीत पश्चिममा थियो । मलाई प्रबन्ध निर्देशकको हस्ताक्षरमा २०६३ साउन १ गते ६ महिनाका निम्ति सुरुमा डेक्स रिपोर्टर भनेर करार नियुक्ति दिइएको थियो । काम त्यसअघि देखि नै गर्दै आएको थिएँ । बिदा आदि सुविधा चाहिँ परीक्षणकालका कर्मचारीसरह हुने भनी मलाई मासिक दुई हजार रुपैयाँ तलब तोकिएको मात्र थिएन करारमा नियुक्ति दिइएको उक्त पत्रसँगै संवाददाताको काम, कर्तव्य, अधिकार तथा संस्थाको विधानको परिच्छेद ८ अन्तर्गतको आचरण, अनुशासन तथा कार्यसम्पादन सम्बन्धी दुई पाना फोटोकपिसमेत नत्थी गरी दिइएको थियो । मैले काम गरेका यसअघि र पछिका सञ्चारगृहले यसरी आधिकारिक कागजात दिएको कतै पाइनँ । संस्थाको परिचयपत्र र विशेष अवस्थामा चाहिने विशेष प्रेसकार्ड मात्र दिइन्थ्यो । डेक्स रिपोर्टर बन्नुभन्दा अघि यसै रेडियोमा साहित्यिक कार्यक्रम सञ्चालन गर्थें–शब्द–सुधा । यस कार्यक्रममा अन्जु भुसाल पनि केही समय जोडिनुभयो भने मैले समाचारसमेत लेख्थेँ । त्यसै वर्ष साउनमा डेक्स रिपोर्टर बनेको म सोही मङ्सिरमा रिपोर्टर बनेँ आधिकारिक रूपमा ।
म २०६२ वैशाखदेखि दुई वर्ष मात्र आधिकारिक रूपमा न्युज रिपोर्टर र कार्यक्रम सञ्चालकका रूपमा रहेँ । स्टेसन म्यानेजरका रूपमा चिरन बराल, समाचार प्रमुख टिपी भुसाल, भोजपुरी समाचारमा खासगरी रामेश्वर भट्ट, उषा केसी, शिशिर केसी, अन्यमा उषाकिरण कँडेल, मुकेश पोख्रेल, अरुण ज्ञवाली, कार्यक्रमका कुशल प्रस्तोता÷प्राविधिक÷कर्मचारीहरूमा मनोहर गौतम, खेमराज रेग्मी, आश्विन गौतम, सुरज दीपशिखा, कृष्ण कुँवर, प्रकाश ज्ञवाली, शिशिर केसी, शङ्करप्रसाद पाण्डे, सम्झना शर्मा (पुष्पा), कोमबहादुर गुरुङ, सबिन बराल, जानकी बस्याल, रश्मि अर्याल, हृदय लेकाली, भगवती ज्ञवाली, भानु पौडेल, अन्जन, आरति,…. लगायतको टोली थियो । अपाङ्गता सम्बन्धी कार्यक्रम सञ्चालक मदन भण्डारी हुनुहुन्थ्यो । जो आफै दृष्टिविहीन तर बहुमुखी प्रतिभाशाली लाग्थ्यो उहाँ मलाई । रिपोर्टरभन्दा माथि पनि पुगियो । तलब पनि वद्धि भयो तर राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन व्यवस्था सुरु भएकाले समाचारमा पनि सेन्सर लाग्न थालेपछि एफएमले अघोषित रूपमा कर्मचारी कटौती वा तलब कटौती गर्नुपर्ने अवस्था आयो अनि त्यहाँको बसाइ थप लम्बिएन । प्रबन्ध निर्देशक खनाल र शिशिर केसी पनि आज हामीबिच भौतिक संसारमा हुनुहुन्न ।
केही समयपछि भैरहवामा सिद्धार्थ एफएम ९८.८ खुल्यो । त्यसमा टिपी भुसाल, उषाकिरण कँडेल आदि टोलीको सुरुआती चरणबाटै संलग्नता रह्यो । म पनि केही पछि जिम्मेवारीसहित पुगेँ । त्यो सम्यक् मिडिया प्रालिले सञ्चालन गरेको रेडियो थियो । भुसाल, उषाकिरण, म, गिरिराज पँगेनी, श्यामशङ्कर पाण्डे, अरुण ज्ञवाली, भेषराज कार्की, शोभाकान्त रेग्मी, इन्दु कुँवर, मेरिना राना, विश्वनाथ सिंह ढाडी, सीता क्षेत्री, दिपेश पछाई, हेमन्त गिरी, श्याम पौडेल, कृष्ण कुँवर, विजय थापा, विजय अधिकारी, प्रेम बस्नेत, मार्टिना चौधरी, राजन चौधरी, सृष्टि प्रधान, गोमा परियार, रोशिका क्षेत्री, शान्ति पुन, त्रिविक्रम रावल, देवी घिमिरे ….आदि थियौँ । मूलतः समाचार/रिपोर्ट र जनआवाजका निम्ति समाचार शाखाका हामी भ्याइनभ्याइ गरी निक्कै खट्थ्यौँ । निक्कै उत्साह, पेसागत मयार्दा र संस्थागत व्यावसायिक सोच थियो हामीमा । एक एक घण्टाका अपडेट बुलेटिन बाहेक पनि दैनिक तीन चार ओटा ठुला समाचार प्रसारण गथ्र्यौँ ज्यादै दुःखकष्टका साथ ।
सिद्धार्थ एफएममा सामान्य रिपोर्टर र कार्यक्रम प्रस्तोताका रूपमा काम सुरु गरी २०६४ देखि ३ वर्ष सहायक सम्पादक, न्युज रिपोर्टर र कार्यक्रम प्रस्तोताका रूपमा काम गरियो । पछि स्वाधीन साप्ताहिक (बुटवल) का लागि नेपालभर कला संवाददाताका रूपमा काम गरेँ २०७० मा । सानो संलग्नता वातावरणीय पत्रकार समाजमा २०६२ मै थियो मेरो । तर यसको रूपन्देही शाखाले त्यति स्थायित्व र सक्रियता देखाएन । यो मृत प्रायः छ अहिले । २०६३ मा बुटवलमा दीपक ज्ञवाली (दीप कदम) को अध्यक्षतामा साहित्यिक पत्रकार समाज (सापस) रूपन्देही गठन भयो । सचिव यानेन्द्र जिसी । त्यसको म कार्यसमिति सदस्य थिएँ । त्यसको २०६३ साउन ८ गते सोमबार कार्यसमितिको पहिलो बैठक बुटवलमा सम्पन्न बसी लगत्तै एउटा भव्य कार्यक्रम त सम्पन्न भयो । तर त्यसयता भने उक्त संस्था गज्जबले हाँक्ने (हाँस्ने होइन) मानिसहरू पर्खेर बसेजस्तो देखिन्छ । राष्ट्रिय दैनिक भावनाका कार्यकारी सम्पादक दीपक ज्ञवाली (उनै दीप कदम) ले दिएको २०६२ जेठ १६ को पत्रानुसार बिए तेस्रो वर्षको ऐच्छिक विषयअन्तर्गत राष्ट्रिय दैनिक भावनामा एक महिना प्रयोगात्मक अभ्यास पूरा गरेको उल्लेख छ । भैरहवा बहुमुखी क्याम्पसमा उक्त विषय अध्यापन गराउने डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ सरले मलाई उक्त पत्रिकामा खटाउनुभएको थियो । प्रशिक्षार्थी पत्रकारका रूपमा भावना दैनिकमा काम गरेपछि लुम्बिनी दैनिकमा २०६२ मङ्सिरदेखि २०६६ सम्म भैरहवाबाट संवाददाताका रूपमा काम गरेँ । यसमा काम गर्दा सायद सुरुमा यानेन्द्र जिसी, पछि दीपक ज्ञवाली कार्यकारी सम्पादक हुनुहुन्थ्यो । त्यहीँ रामप्रसाद आचार्य, विक्रम खड्का, रुद्रहरि कुँवर, सुनिता चुँदाली (प्रतिबिम्ब) आदि हुनुहुन्थ्यो बुटवलमा । यसको भैरहवामा कार्यालय बर्मेलीटोलको सविता मिनी मार्केटको माथि थियो । पछि बुद्धचोकको सरल स्टेसनरीभित्र सारियो । शाखा व्यवस्थापक राममिलन यादव हुनुहुन्थ्यो । यस पत्रिकाको वार्षिकोत्सवमा कहिले केन्द्रीय कार्यालय (बुटवल, मिलनचोक) त कहिले बुटवल फूलबारीमा भव्य औपचारिक कार्यक्रम/अनौपचारिक वनभोज हुन्थे । ती खुब अविस्मरणीय छन् । ऋषि ज्ञवाली सरको उच्च स्तरको व्यवस्थापकीय कला, खटनपटन र चुस्तदुरुस्त सक्रियता बिर्सनै नसकिने खालको हुन्थ्यो । भावना दैनिक भैरहवामा प्रमुखका रूपमा बद्रीनाथ पाण्डेका भाइ गोविन्द पाण्डे हुनुहुन्थ्यो । कपुर ज्ञवाली नियमितजसो यस पत्रिकाको कार्यालय (नयाँ सडक, हालको बुद्धज्योति स्कुल जानेतर्फ) आउनुहुन्थ्यो । अनेक गफ गर्दै चिया सुक्र्याउँदै चुरोट पिउँदै तत्कालै समसामयिक विषयका लेखहरू लेखेर प्रकाशनार्थ छाडेर जानुहुन्थ्यो । एकपटक हालको शिक्षा कार्यालयको पश्चिमतर्फ मायादेवी एफएम सञ्चालन गर्नेगरी त्यस्तै संरचनामा निर्माण गरिएको आफ्नो निजी निवासमा लैजानुभएको थियो मलाई । अब त आफै स्वर्गीय भैसक्नुभयो उहाँ । पछि भैरहवाबाटै प्रकाशन आरम्भ गरेको लुम्बिनीखबर (समीक्षात्मक साप्ताहिक) मा कला/कलम स्तम्भमा लेख्न थालेँ केही समय । हाल यो पत्रिका अर्ध साप्ताहिक रूपमा सञ्चालित छ भने यसै पत्रिकाका सञ्चालकहरू र अन्यसमेत मिली हाल करिब डेढ वर्षयता समता टेलिभिजन गज्जबले नियमित रूपमा प्रसारण भइरहेको अवस्था छ । यस अघि भैरहवामै मुकेश पोख्रेल सम्पादक रहेको सिद्धार्थ सन्देश दैनिकमा भाषा सम्पादक र स्तम्भलेखनका हैसियतमा काम गरेँ केही वर्ष । त्यस्तै ठ्याक्कै मिति सम्झिएन समाचार लेखन र भाषा सम्पादकका रूपमा दीपक घिमिरे सम्पादक रहेको लुम्बिनी पोस्ट साप्ताहिकमा पनि केही समय संलग्न रहेँ ।
भैरहवा क्षेत्रमा रही पत्रकारिता र सञ्चारकर्ममा संलग्न रहँदा केही न केही अनुभव प्राप्ति भएकै छन् । लामो समयदेखि यस पेसामा म संलग्न रहे पनि अन्य कतिपय पत्रकार साथीहरू जस्तो भनसुनको व्यवहारमा अभ्यस्त नहुने र त्यसमा पटक्कै विश्वास नगर्ने स्वभाव पालेको व्यक्ति थिएँ म र छु पनि । त्यसैले म पत्रकार महासङ्घको आधिकारिक सदस्यताविहीन भई काममै व्यस्त थिएँ । सिद्धार्थ एफएमका स्टेसन म्यानेजर टिपी भुसालको आग्रहमा २०६८ माघमा बल्ल महासङ्घ रूपन्देहीमा मेरो सदस्यता प्राप्तिका निम्ति सिफारिस भए पनि त्यसको धेरै पछि मात्र मलाई सदस्यता मिलेको थियो । त्यसो हुनुमा अर्को कारण भनेको म महासङ्घ बाहेक अन्य हाँगाबिगा वा शाखाका रूपमा रहेका विभिन्न पत्रकार/सञ्चारकर्मीसम्बद्ध सङ्गठन, युनियन आदि कुनैमा पनि संलग्न हुन चाहिनँ र राजनीतिक पार्टीमा समेत मेरो सदस्यता नरहनु नै हो भन्ने राम्ररी जान्दछु । साथै म स्वतन्त्र पत्रकार सङ्घमा पनि छैनँ । पत्रकारिता पेसाको कर्म, मर्म र धर्म केही न केही बुझ्छु जस्तो लाग्छ । यसका शक्ति र सीमासँग पनि म अपरिचित छु जस्तो ठान्दिनँ आफूलाई । त्यसैले सकेसम्म काम गर्दा वा भनौँ समाचार लेख्दा एक हातले समाचार र अर्का हातले विज्ञापन उठाउनुपर्ने भूमिकामा पस्नै/बस्नै चाहिनँ । सञ्चारगृहमा अनेक समस्या झेलिए तर पनि आफ्नै नेतृत्वमा अर्को सञ्चार माध्यम दर्ताको उपक्रमतिर त झन् लागिएन । अन्य कतिपय मित्रहरूलाई सास फेरेजस्तो ज्यादै सहज लाग्ने खालको समाचार ठेकेदारी, दलाली, मोलमोलाइ, अतिरिक्त मासु, दारु र भारुतिर मेरो ध्यानै गएन कहिल्यै । पत्रकारिताका माध्यमबाट कसैलाई नामेटै पार्ने वा एक अङ्कमा एक पात्रलाई ढलाउने मिसनधारी कार्यमा मेरो सहभागिता पनि रहेन । पत्रकारितासम्बन्धी आधारभूत कुरा तीन हप्ता मात्र आफूले कनीकनी सिकेर स्वयम्लाई विज्ञ ठान्दै तीन तीन महिना पत्रकारिता तालिम भन्दै प्रशिक्षकको भूमिकामा आफू कार्यरत संस्थाको नाम जोडर थप दाम जोड्न अरूको पछि पनि लागिएन । अपर्झट आइलागेका कतिपय अप्रत्यासित अनि अस्वाभाविक गज्जबका शुभलाभसित पनि ३६ को जस्तो नाता (तीन र छ विपरीत दिशामा रहेजसो) बनाएर हिंडिरहेँ कहिल्यै त्यो सम्बन्धलाई ६३ बन्न दिएजस्तो लाग्दैन । विभिन्न सङ्घ संस्थाले पत्रकार/सञ्चारकर्मीलाई बराबरजसो प्रदान गर्ने दोसल्ला र सामान्य सम्मानपत्रहरू पत्रकारहरूले पालैपालो ग्रहण गरिरहँदा आफ्नो सत्यता, निष्पक्षता, तटस्थता, निर्भीकताको धारिलो यात्रातर्फ अगाडि नबढी झन्झन् भुत्ते पर्दै जान पनि सक्छन् भन्ने मेरो ठहर छ । गहकिलो र सार्थक योगदानको समुच्चा मूल्याङ्कन भई सत्पात्रले प्राप्त गरेका पत्रकारिता/सञ्चार क्षेत्रका विभिन्न सम्मान पुरस्कारप्रति भने मेरो सम्मति छ नै । देख्दै, भोग्दै, लेख्दै र सिक्दै गर्दा पत्रकारिता/सञ्चारकर्ममा हाल आफू शिरदेखि पाउसम्म छैन । विशेषतः म अहिले गौतमबुद्ध सन्देश दैनिक र समता टेलिभिजनमा सम्बद्ध छु । साथै २०५७/०५८ देखि नै मेरो साहित्यिक लेखन तथा साहित्यिक पत्रिकाको सम्पादन (साहित्यिक पत्रकारिता) को काम पनि समानान्तर ढङ्गले आफ्नै गतिमा चल्दै आएको छ । साँच्चै भन्ने हो भने पत्रकारिता विधामा शिरदेखि पाउसम्मै जमेरै लागेका केही नगण्य व्यक्ति मात्र होलान् कि भन्ने लाग्छ । यस पेसामा लाग्दाका यसै सेरोफेराका घटनाक्रमका सम्झनाका ताँती (सकारात्मक/नकारात्मक) भने कति छन् कति । तीबारे यहाँ उल्लेख गरेरै भ्याइन्न ।
जे होस्, रूपन्देही एफएममा रहँदा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकाल र २०६२/०६३ को दोस्रो जनआन्दोलन तथा सिद्धार्थ एफएममा रहँदा २०६४ चैत २८ मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनका गतिविधि राम्ररी बुझने अनुभव प्राप्त भए । त्यसपछिका अनेकानेक घटनाक्रमबारे यहाँ तन्काएर कति लम्ब्याउनु र ! साथै राष्ट्रिय दैनिक लुम्बिनीमा कार्यरत छँदा २०६४ को भदौ १४ र १५ गते मोफसलको मिडिया ः सम्भावना, समस्या एवम् चुनौती विषयक राष्ट्रिय सञ्चार सम्मेलन लुम्बिनीमा विराट् सहभागितामा भव्य रूपमा सम्पन्न भएको थियो । यो कार्यक्रम नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति र रूपन्देही शाखाको संयुक्त आयोजनामा थियो । सम्मेलनमा सहभागी भएर केही न केही ज्ञान अनुभवको मात्रा बढाउने मौका मिलेको हो । भैरहवा क्षेत्रका अग्रज/नवोदित पत्रकार/व्यवस्थापक/कर्मचारी र तिनका परिवारसमेत मिली एकपटक यहीँ (लुम्बिनी सडक किनारको विश्वकर्मा मन्दिर/लभगार्डेन) मा भव्य वनभोज/नाचगान कार्यक्रम गरिएको सम्झना झन् ताजा भइरहेको छ यतिबेला । म यसअघि र अहिले सम्बद्ध सम्पूर्ण सञ्चारगृह÷सञ्चार माध्यम, त्यहाँ कार्यरत मित्र तथा जिम्मेवार महानुभावहरूप्रति आभारी छु ।
सञ्चारकर्मका सम्झना: छेउछाउका छालहरू
मूलतः समाचार/रिपोर्ट र जनआवाजका निम्ति समाचार शाखाका हामी भ्याइनभ्याइ गरी निक्कै खट्थ्यौँ । निक्कै उत्साह, पेसागत मयार्दा र संस्थागत व्यावसायिक सोच थियो हामीमा । एक एक घण्टाका अपडेट बुलेटिन बाहेक पनि दैनिक तीन चार ओटा ठुला समाचार प्रसारण गथ्र्यौँ ज्यादै दुःखकष्टका साथ ।

छवि ज्ञवाली








