त्यो बेलाको पत्रकारीता

४०–५० को दशकमा भैरहवामा सक्रिय पत्रकारहरुको भोगाइ, कार्यशैली र मेहनतलाई सुन्दा साच्चै अचम्म लाग्छ । वर्तमानसम्म आइपुग्दा प्रविधिले फड्को मारेको छ जसकारण नयाँपुस्ताले त्यो भोगाई भोग्नुपरेको छैन । अहिलेको समयमा पत्रकारीतामा अवसर र चुनौतीहरु दुवै रहेको उनीहरु बताउँदछन् । समय सँगै धेरै कुराहरु फेरीएका छन् । सञ्चारका माध्यमहरु थपीएका छन्, पत्रकारका भोगाई, कार्यशैली र मेहनत फेरीएको छ ।
विष्णु भट्टराई

विष्णु भट्टराई
भैरहवा ।
सञ्चारमा मोफसलको राजधानी भनेर चिनीने रुपन्देही जिल्ला र सोही जिल्लाको सदरमूकाम भैरहवा । भैरहवाको धेरै परिचय छ । धेरै परिचय अन्र्तगत पर्ने सञ्चारजगत र पत्रकारीताजगतको उर्वर भूमी अर्थात् पत्रकार जन्माउने जन्मभूमी । यहाँबाट उत्पादन भएका पत्रकारहरु देश विदेशका विभिन्न सञ्चारमाध्यममा प्रभुत्व जमाउन सफल भएका छन् । जिल्लामा सक्रिय अधिकांश पत्रकारहरुको सुरुवात भैरहवाबाट भएको पाउन सकिन्छ । यो भैरहवाको लागि गर्वको विषय हो । अहिले पनि भैरहवा डेटलाइनमा काम गर्ने सक्रिय पत्रकारको संख्या ४० बढी छ । भैरहवाबाट १ वटा दैनिक पत्रिका, २ वटा साप्ताहिक पत्रिका, २ वटा टेलिभिजन, ४ वटा एफ एम रेडियो र आधा दर्जनको संख्यामा अनलाइन पत्रिका संचालनमा छन् भने केही अनलाइन पत्रिका सञ्चालनको तयारीमा रहेको बुझिन्छ ।
४०–५० को दशकमा भैरहवामा सक्रिय पत्रकारहरुको भोगाइ, कार्यशैली र मेहनतलाई सुन्दा साच्चै अचम्म लाग्छ । वर्तमानसम्म आइपुग्दा प्रविधिले फड्को मारेको छ जसकारण नयाँपुस्ताले त्यो भोगाई भोग्नुपरेको छैन । अहिलेको समयमा पत्रकारीतामा अवसर र चुनौतीहरु दुवै रहेको उनीहरु बताउँदछन् । समय सँगै धेरै कुराहरु फेरीएका छन् । सञ्चारका माध्यमहरु थपीएका छन्, पत्रकारका भोगाई, कार्यशैली र मेहनत फेरीएको छ ।
४० को दशकदेखी पत्रकारीतामा सक्रिय पत्रकार सम्भु पन्त नेपाल टेलिभिजनको जिल्ला संवाददाताको रुपमा कार्यरत थिए । त्यो समयमा समाचारको स्रोत पहिचान, संकलन र प्रकाशन सहज नभएको उनी बताउँदछन् । त्यो बेला अहिलेजस्तो प्रविधि थिएन उनी भन्छन्– मात्र थियो हवाइजहाज, कुरीयर र बस सेवा । जसमार्फत् आफुले संकलन गरेका समाचार सामाग्रीहरु÷ भिडियो क्यासेट (भिएसएल) लाई मिडिया हाउसमा पठाइन्थ्यो । पन्त भन्छन्– ‘अहिले पत्रकारले बोक्ने मोवाइल न्युज स्टुडियो जस्तै भएको छ । अहिले मोबाइलबाटै धेरै कामहरु छिनभरमै गर्न सकिन्छ ।’ अहिले जसरी प्रविधिको विकास भइरहेको छ त्यो अनुसार काम गर्दा समाजका लागी, आफ्नो ठाउँका लागि र देशको लागि काम गर्नुपर्ने सुल्झाउँछन् । सर्वप्रथम त म कसका लागि र के का लागी पत्रकारीता गर्दै छु भन्ने कुरा पत्रकारले बुझ्नुपर्ने उनको तर्क छ । ‘पत्रकारिता निश्पक्ष रुपमा गर्नुपर्दछ । पत्रकारीता राष्ट्र र समाजकालागी गर्न सक्नुपर्दछ किनकी समाज र राष्ट्र राम्रो भयो भने हामी पनि राम्रो हुन्छौ ।’– उनी भन्छन् ।

२०५४ सालबाट लेखन यात्रा सुरु गरेका पत्रकार अरुण ज्ञवालीले २०५५ सालदेखी बुटवलबाट प्रकाशित हुने पत्रिका दैनिक लुम्बिनीमा संवाददाताको रुपमा काम गरेको अनुभव सुनाउँछन् । ‘कागजमा समाचार लेखेर भैरहवा देखी बुटवल गाडीमा पठाउनुपथ्यो । २÷३ रुपैया बस भाडा थियो । भैरहवाबाट बसमा पठाउथ्यौ, बसपार्क सम्म अफीसबाट कर्मचारी आएर लैजान्थे र पत्रिकामा समाचार छापीन्थ्योे । पछि फ्याक्स मेसिन र टेलिफोन सुविधा आएपछि भने राहत भएको उनले सुनाए । ‘पछि फोटो पठाउनुपर्दा कुरीयर गरेर पठाइन्थ्यो । फीचर र लेखहरु बस तथा फ्याक्सबाट पठाइन्थ्यो । केही इमरजेन्सी घटनाहरु भने फोनबाट टिपाउथ्यौ’– उनले भने ।
दैनिक राजधानी, स्पेश टाइम्स र पछिल्लो समय १२ बर्ष अन्नपूर्ण दैनिक र विभिन्न स्थानीय मिडियाहरुमा काम गरेको अनुभव उनीसँग छ । अहिलेको समयमा पत्रकारको संख्या, सञ्चारका माध्यमहरु थपीएसंगै सहजता र चुनौती थपिएको उनी बताउँदछन् । ‘हिजो थोरै पत्रकारहरु थियौ, पारिवारीक रुपमा काम गथ्यौ तरअहिले धेरै छौ, सबैका सबै कुराहरु नमिल्न सक्छन् जसकारण अवको पत्रकारीता कसरी गर्ने भन्ने कुरा चुनौतीपूर्ण हो’– उनले भने ।
५० को दशकमा गृहजिल्ला पाल्पाबाट पत्रकारीताको सुरुवात गरेका पत्रकार मनोरञ्जन शर्मा ले रुपन्देहीलाई स्थायी कार्यक्षेत्र बनाएका छन्् । पछिल्लो समय उनी न्युज ओके साप्ताहिक पत्रिका र श्रीन्युज अनलाइन पत्रिकाको सम्पादक तथा कारोबार दैनिकको संवाददाताको रुपमा कार्यरत छन् । टेलिभिजन, छापा र अनलाइन पत्रीकाको अनुभव बोकेका शर्माले पत्रकारीताको सुरुवातमा हाते चिठ्ठीकै सहारा बोकेको बताउँछन् । कागजमा समाचार लेखेर कुरीयर, फ्याक्स गर्दाका क्षण सम्झन्छन् । ‘त्यो वेला विविसीको समाचार सुनेर समाचार बनाउने अवस्था थियो अहिले समय अगाडी बढीसकेकोे छ । डिजिटल बनेको छ यसले हामीलाई अल्छी पनि बनाएको छ सहज पनि बनाएको छ । समाचारहरु छिनभरमै पढ्न पाउने सुविधा पाइएको छ ’– उनी भन्छन् ।
मिडिया एक उद्योग भएको उनी तर्क गर्छन् । ‘जसरी अन्य उद्योगहरुमा वस्तु (सामान) हरु उत्पादन गरिन्छ त्यसरी नै मिडियाहरुमा समाचारहरुको उत्पादन गरिन्छ । समाचारको सम्भाव्यता अध्ययन, संकलन र सम्पादकद्वारा सम्पादन गरि अन्तिम उत्पादन जनतासामु सूचना सामाग्रीको रुपमा पु¥याइन्छ ।’
२०५१ सालदेखी पत्रकारीता सुरु गरेका पत्रकार कूलमणि ज्ञवालीले पाल्पा, बुटवल हुदै भैरहवालाई कार्यक्षेत्र बनाए । नेपाल समाचार पत्रको जिल्ला संवाददाता, दैनिक लुम्बिनी पत्रिकाको संवाददाता र रेडियो लुम्बिनीको स्टेशन म्यानेजरको रुपमा काम गर्दै पछिल्लो समय भैरहवाबाट प्रकाशन हुने गौतमबुद्ध सन्देश दैनिक पत्रिकाको सम्पादकको रुपमा कार्यरत छन् । पत्रकारीतामा ३ दशक विताएका ज्ञवालीले बहुदल, संकटकाल, जनयुद्ध लगायतका कालखण्ड भोगेका छन् । ‘ती समय साच्चै चुनौतीपूर्ण थियो, अदालत, आर्मी, राजसस्थाको विषयमा समाचार लेख्न चुनौती थियो तर ति चुनौतीहरुका बाबजुद पनि हामीले समाचार लेखेका थियौ – उनी भन्छन् ।
‘पत्रिकामा फोटो सहितको समाचार छाप्ने चलन धेरै पछि आएको हो, पहिले समाचारहरु मात्र छापिन्थे । भैरहवामा २ वटा फोटो स्टुडियो र फ्याक्स थियो । विद्युतको समस्या थियो । भारतको विद्युत जडान भएकाले, आउनेजाने गरिहन्थ्यो । फ्याक्स धेरै पटक रोकिन्थ्यो । स्क्यानर भैरहवामा थिएन । बुटवल पठाइन्थ्यो । हामीले फ्याक्समै छोडेका समाचार पढेर हेरेर यहाँ धेरै साथीहरुले पत्रकारीता सिक्नु भो । अहिले नो पेन नो पेपरको समय आइसकेको छ ।’– उनले भने ।
पत्रकारको धैर्यता कति हुनुपर्दछ भन्ने कुरा एक कार्यक्रममा ४८ जना बक्ताहरुले मन्तब्य राख्दा सम्म बसेको याद गर्दछन् ज्ञवाली । अहिले पत्रकारहरुमा मेहनत र धैर्यता घट्दै गइरहेको छ, पत्रकारमा हुनुपर्ने मुख्य गुण भनेको धैर्यता हो, धैर्य गर्न सिकौ उनी भन्छन् ।
धेरै घटनाहरु भोगियो, धेरै चुनौतीहरु पार गरियो तर जिवनमा एउटा घटनाले सारै पिरोल्छ । उनी भन्छन–
‘नेपाल समाचारमा काम गर्दा कपिलबस्तुमा एउटा समाचारको रिपोटीङका लागी अफीसले खटायो । त्यो दिन ३ दिनको सुत्केरीश्रीमती छोडेर विहान १० बजे हिडेको, राती ११ बजे फर्किए सायद त्यो बेला श्रीमती र नावालक छोरा भन्दा समाचार प्यारो भयो । अहिले पछुतो लाग्छ ।’ उनी थप्छन्– तपाइहरु, पहिलो प्राथमिकता परिवारलाई राख्नुहोस् ।
रेडियोको स्रोताक्लवको माध्यमबाट पत्रकारीता बुझेका पत्रकार पशुपती यादवले रेडियो लुम्बिनीबाट आफ्नो पत्रकारीता सुरु गरेको बताउदछन् । त्यो बेला रेडियो सुन्ने श्रोताहरुको जमात थियो, गाउँगाउँमा स्रोताक्लवहरु गठन हुन्थे । रेडियोको माहोल अर्कै थीयो । अहिले यो प्रचलन हराउँदै गएको उनी बताउँदछन् । रेडियो लुम्बिनीमा साप्ताहिक रुपमा जनचेतनामूलक सामाग्रीहरु तयार गर्दा विभिन्न चुनौतीहरु भोग्नुपरेको यादव बताउँदछन् । गाउँगाउँमा पत्रपत्रीकाहरु पुग्थे, रेडियोहरु गुन्जीन्थे, टेलिभिजन हेर्नेको माहोल अर्कै । अहिले ति सबै यादमा मात्र सिमित हुने हो कि भन्ने चिन्ता व्याक्त गर्छन् यादव । नयाँ भावना, भैरहवा साप्ताहिक, रेडियो नमस्ते हुदै पछिल्लो समय लुम्बिनीखबर अर्धसाप्ताहिकमा सम्वाददाताको रुपमा कार्य गर्दै आइरहेको उनी बताउँदछन् ।
विगत १४ बर्षदेखि भैरहवालाई कर्मथलो बनाएर पत्रकारीता गर्दै आइरहेका पत्रकार नरेश के.सी. छापा मिडिया सँगै टेलिभिजन पत्रकारीतामा सक्रिय छन् । समता टेलिभिजनमा प्रधान सम्पादकको रुपमा कार्यरत केसीले पत्रकारहरु सधै धैर्यवान हुन जरुरी रहेको बताउँदछन् । आफुलाई ‘विचको पुस्ता’को रुपमा चिनाउँदै केसीले पछिल्लो पुस्तामा धैर्यतामा कमी रहेको बताउँदछन् । ‘हामीहरु छिटो प्रतिफल चाहान्छौ, हतारमा काम गर्छौ जसकारण कहिलेकाही पत्रकारीताको मर्म भन्दा बाहिर पुगेका हुन्छौ ।’– उनले भने । पत्रकार अध्ययनशिल, धैर्यवान र प्रविधिमैत्री हुनुपर्ने उनी बताउदछन् । पछिल्लो समय प्रविधिको विकास सँगै प्रविधिलाई केही मानिसहरुले गरेको गलत प्रयोगका कारण समग्र पत्रकारीता क्षेत्रलाई हेर्ने दृष्टिकोण बदलीएको बताउँदछन् । अहिले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दछन् केसी । ‘हामी सबैभन्दा चुनौतीपूर्ण अवस्थामा छौ । एउटा व्यवस्थापकिीय कारण (विज्ञापन, आम्दानीको स्रोत) अर्काे मिथ्या सूचनाका कारण समस्या परिरहेको छ ।’– केसी भन्छन् । उनले अहिलेको अवस्थामा तथ्यपरक समाचार सम्प्रेषण गर्नु पत्रकारको दायित्व रहेको उनले बताए ।
( यो सामाग्री लुम्बिनी प्रेस क्लवको आयोजनामा भैरहवामा सम्पन्न सिद्धार्थ समाचार महोत्सव–२०८१ मा ‘हिजोको पत्रकारीता’ विषयमा बोल्ने बक्ताहरुको भनाइमा आधारित भइ तयार गरिएको हो ।)

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका