साउन–२,अर्घाखाँची ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले लक्ष्यभन्दा १२ लाख बढि राजश्व संकलन गरेको छ । गत आ.व.मा ८२ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएकोमा ९४ लाख १७ हजार राजश्व संकलन गर्न सफल भएको हो ।
विनियोजित ८६ करोड ८८ लाख ४७ हजारको बजेटबाट १ सय ८२ वटा योजना सहित ४ सय १३ वटा कार्यक्रम सम्पादन गरिएको योजना शाखा प्रमुख हरिश्चन्द्र भुसालले जानकारी दिए । गत बर्ष समग्रमा ९५ प्रतिशत भौतिक र ८९ दशमलव १४ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको प्रमुख प्रशासकिय अधिकृत जग्दीशचन्द्र नेपालीले बताए ।
‘पालिकाबाट भएका विकास निर्माण र सेवाप्रवाह सम्वन्धि समिक्षा कार्यक्रम’ मा योजना शाखा प्रमुख हरिश्चन्द्र भुसालले आर्थिक बर्ष २०८१/०८२ को बार्षिक प्रगती विवरण सार्वजनीक गरेका थिए ।
नगरपालिकाले आ.व. २०८१/८२ मा भौतिकप्रगती अन्र्तगत मुख्यगरी सडक, खानेपानि र अन्य पुर्वाधारलाई प्राथमकिता राखेको नगरपालिकाले जनाएको छ । जसअन्र्तगत ३ किलोमिटर सडक कालोपत्रे तथा ५ दशमलव ५ कि.मि.सडक ग्राभेल गरेको जनाएको छ । प्रत्येक वडाका एक/एक गरि १० वटा मूख्य सडक स्तरवृद्धि गरिएको छ । ५ सय ३४ घरमा खरको छानो हटाएर जस्तापाताको छानो लगाईएको छ ।
गौरवको योजना अन्तरगत कर्मशिल जनशक्ति परिचालन कार्यक्रम मार्फत २ सय ९ जनाले ६ हजार ४ सय ७६ दिन काम गरेको नगरपालिकाले जनाएको छ । बाँझो जग्गा खेतीयोग्य जमिनमा परिणत गरिएको, पालिकामा उत्पादित बस्तु बजारीकरण मार्फत आन्तरिक आम्दानी बढाइएको नगरप्रमुख झविलाल थापाले बताए ।
स्वास्थ्यतर्फ बिशेषज्ञ स्वास्थ्य शिविर र अन्य घुम्ती शिविरबाट लक्षित वर्गमा स्वास्थ्य सेवाको पहुँच बढेको नगरपािलकाले जनाएको छ । जसअन्तर्गत दिर्घरोगी, जेष्ठनागरिक, एकल महिला, अपाङ्गता भएकाहरुलाई लक्षित गरि गाउँघर क्लिनिक मार्फत सेवा प्रवाह गरिएको छ । स्वास्थ्य सम्बन्धी सचेतनामुलक अभियान प्रभावकारी बनेको नगरपालिकाले जनाएको छ ।
भूमिकास्थानमा सामुदायिक स्कुलमा शिक्षाको नतिजामा सुधार देखिएको नगरपालिकाले जनाएको छ । कक्षा ८ को नतिजा १८ प्रतिशत बाट २९ प्रतिशत पुगेको र कक्षा १० को नतिजा २२ प्रतिशतबाट बढेर ५५ प्रतिशत पुगेको जनाएको छ । कृषितर्फ रैथाने बिउ र अन्न उत्पादन संगै व्यवसायिक कृषि तथा बजारीकरणमा वृद्धि भएको जस्ता कार्यलाई प्रगतिको रुपमा लिएको छ ।
कार्यक्रममा नगरप्रमुख झविलाल थापा, उपप्रमुख बालकृषण बन्जाडे, प्रमुख प्रशासकिय अधिकृत जग्दीशचन्द्र नेपालीले समिक्षामा उठेका सवालको जवाफ दिंदै सिमित स्रोतमा अधिकतम मितव्ययिता अपनाएर काम गरि पालिकालाई नमुना बनाउन लागि परेको बताए । कार्यक्रममा एमाले नेता प्रेमलाल भुसाल, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल, कार्यपालिका सदस्य ठाकुर सौराग, शिक्षक प्रतिनिधि विरेन्द्र पौडेल लगायतले बोलेका थिए ।
कम्प्युटर अधिकृत शेषकान्त घिमिरे (ओसन) को संचालनमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, राजनितिक दलका नेता, पत्रकार, शिक्षक, एकल महिला, जेष्ठनागरिक तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।









