कस्तो सुन्दर थ्यो मुहार उहिले त्यो सोह्र वर्षे हुँदा
गाला पुष्ट थिए शरीर बलियो लक्का जवानी हुँदा
देखिन्थे लहरै चमक्क मुखमा चम्के सरी चाँदनी
चिन्ता लाग्छ खसे नि दन्त मुखका लाग्यो बुढ्यौली भनी ।
कैले दुख्छ कटक्क ढाड मुटुले खप्नै नसक्ने गरी
कैले दुख्छ घुँडा न बस्न सकिने उठ्नै नसक्ने गरी
कैले दुख्दछ माथ त्यो दिनभरी राती झनै बेसरी
छोयो वृद्ध उमेरले सकस भै बाँचिन्छ खै के गरी ?
जे खायो सब गड्गडाउन सुरु गर्जे सरी बादल
बाड्की लाग्छ नि हिँक्कहिँक्क मुखमा बज्दा सरी मादल
खोकी लाग्दछ ख्वाङ्ङ ख्वाङ्ङ दिनदिन् बेहोस जस्तै गरी
छोयो वृद्ध उमेरले सकस भै बाँचिन्छ खै के गरी ?
कानै बन्द भए न ता नयनले पाइन्छ राम्रो भर
राती सुत्न सकिन्न खेल्छ मनमा बेकामका ती कुरा
केही गर्न सकिन्न काम सबको हेला हुँदा यो घरी
रोगी वृद्ध शरीर यो सकसले बाँचिन्छ खै के गरी ?
कैले यो मधुमेहको असरले लागेर रिङ्टा ढली
कैले बढ्दछ रक्तचाप मुटुको झड्का दिई बेसरी
कैले अङ्ग नि भङ्ग भै भुवनमै ढल्छु कि मुर्दा सरी
पीडा यो सहँदा र देह रहँदा मर्ने र खै के गरी ?
सिद्धार्थनगर, भैरहवा









