बालकथा: मोबाइलको कमाल

गङ्गा कर्माचार्य पौडेल

“कोरोना भाइरसका कारण भोलिदेखि सरकारले देशभर एकसाथ लकडाउनको घोषणा गरेको छ । हामी त जसोतसो समय कटाऔँला, केटाकटीलाई पो कसरी भुलाउने होला ? मेरो छोरा एकछिन घरभित्र बस्दैन । साथीकोमा जान्छु भन्दै फुत्त फुत्त निस्किरन्छ” । विनोदले आफ्नो मिल्ने साथी रविसँग गुनासो गरे ।
“ए ! तँलाई थाहा छैन ? अचेलका केटाकेटी मोबाइल भनेपछि भुतुक्कै हुन्छन् । मोबाइल हातमा भए बाहिर जानु त के भोक लागेको पनि थाहा पाउँदैनन्” रविले भने “त्यो त हो के तर मैले उनीहरूको पढाइ बिग्रिन्छ भनेर मोबाइल दिएको छैन । छोरा भर्खर ८ कक्षामा, छोरी ६ कक्षामा पढ्दैछन्” ।
ह्या…तँ पनि साह्रै पुरानो विचारको मान्छे छस् यार । जमाना कहाँ पुगिसक्यो । प्रविधिले फड्को मारेर शिखर चुमिरहेको बेलामा बच्चाहरूलाई मोबाइलदेखि टाढा राख्नु भनेको उनीहरूलाई कमजोर बनाउनु हो बुझिस्”। हिजोआज तराई, पहाड र हिमाली भेगका केटाकेटीले समेत मोबाइल चलाउन जानिसके । काठमाडौँको मान्छे भएर तँलाई यस्ता कुरा गर्न सुहाउँदैन । फेरि, अहिले स्कुल छुट्टी भएको बेला पढाइ भए पो नबिग्रनु । खुरुक्क मोबाइल किन्दे ।” रविले भन्यो ।
“अनि तेरा छोराछोरी नि मोबाइलमा भुल्छन् त ?” विनोदले सोध्यो । “मैले त बच्चाहरूलाई सानैदेखि खेलाउन दिएको हुँ । अहिले उनीहरू मोबाइल चलाउन मभन्दा सिपालु छन् । पढाइ पनि राम्रो छ । मोबाइलले केटाकेटी बिगार्ने हैन रैछ । बरु लुकीलुकी जथाभावी चलाएर दुरूपयोग गर्नेहरू आफै बिग्रिएका हुन् । हामीले चाहिँ छोराछोरीलाई बिहान उठ्ने, पढ्ने, खाने, खेल्ने, राति सुत्ने समय तोकिदिएका छौँ । उसकी आमाले र मैले पालैपाले निगरानी राख्ने गरेका छौँ । त्यसैले सब ठिकठाक चलिराछ ।”
रविको कुरा विनोदलाई मनासिब लाग्यो । त्यसपछि साँझ घर फर्कदा दुईथान मोबाइल किनेर लगे । विनोदको हातमा नयाँ मोबाइल देखेर पार्वतीले आफूलाई ल्याइदिएको भन्ठानेर खुसी हुँदै सोधिन् “आहा ! मलाई ल्याइदिनुभएको हो ?”
“हैन केटाकेटीलाई” विनोदको यस्तो जवाफ सुनेर पार्वती उफ्रिन थालिन् । उनले तपाईंले गर्दा छोराछोरी बढी पुल्पुलिएका छन् । मैले भनेको पटक्कै टेर्दैनन् । अब झन् मोबाइल पाएपछि त उनीहरूको पढाइ नै चौपट हुने भयो । हैन..तपार्इंले यो के गर्न खोज्नुभएको भन्नुस्त ? भनिन् ।
पार्वतीको फतफतको बेवास्ता गर्दै विनोदले छोराछोरीलाई बोलाएर उनकै अगाडि मोबाइल दिंदै भने “लकडाउनमा तिमीहरूलाई बोर नहोस् भनेर मोबाइल किनेर ल्याइदिएको छु, ल लेऊ…। “बुबा ! हामीलाई मोेबाइल चाहिँदैन” छोराछोरीले एकसाथ भने ।
“हँ ! पहिला त तिमीहरूलार्ई मेरो मोबाइल देख्नै हुन्नथ्यो । को पहिला भनेर टिप्न तँछाड्मछाड् गथ्र्यौ । आज किन चाहिँदैन भनेको ?” आश्चर्य मान्दै विनोदले सोधे ।
उनीहरू दुबै जनाले गोजीबाट बुबाले ल्याएको भन्दा दामी मोबाइल झिकेर देखाउँदै भने । “यी.. हामीसँगै छ मोबाइल ।”
छोराछोरीको हातमा मोबाइल देखेर पार्वतीको कन्सिरीका रौं ठाडा भए । उनले छोराको हात ट्याप्प समातेर झपार्दै भनिन् “काँबाट ल्याइस् ? मोबाइल ? मोबाइल किन्ने पैसा कस्ले दियो तँलाई ? कस्को पैैसा चोरर किनिस् लौ भन् छिटो ?”
“कसैको चो¥या छैन बुझ्नुभो । यो मोबाइलकै कमाल हो । तपार्इंले घरमा छुनै नदिएपछि म साथीको घरमा गएर मोबाइल चलाउन र गेम खेल्न सिकेँ । अनि एकदिन एउटा विदेशी कम्पनीले गेमको प्रतियोगिता गरायो । साथी र म भएर भाग लियौँ र जित्यौँ पनि । त्यही पैसाले मलाई र बहिनीलाई एकुन्टा किनेको हो” । छोराको जवाफ सुनेपछि विनोद र पार्वती मुखामुख गरे ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका