भैरहवा । होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको आयोजनामा ‘पाँचौँ सिद्धार्थ रैथाने सडक खाना महोत्सव २०८२’ आयोजना हुने भएको छ। नयाँ वर्ष २०८३ को अवसरमा चैत ३० गते सिद्धार्थनगर–३, आँखा अस्पताल रंगशाला रोडमा महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको छ।
संगठनका अध्यक्ष राजेश महोत्राका अनुसार भैरहवालाई फुड फेस्टिबलको हबका रूपमा स्थापित गर्ने, होटल तथा रेस्टुरेन्टका परिकारको प्रवर्द्धन गर्ने तथा लोपोन्मुख रैथाने खानाको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सवमा थारु, मगर, गुरुङ लगायत समुदायका परिकारलाई प्राथमिकता दिइनेछ।
महोत्सवमा ठूला होटलहरूले आफ्ना ‘सिग्नेचर डिश’ सुपथ मूल्यमा उपलब्ध गराउनेछन् भने मूल्यसूची र गुणस्तरमा विशेष ध्यान दिइने अध्यक्ष महोत्राले बताउनुभयो। उहाका अनुसार सहभागी होटलहरूले छुटको व्यवस्था गर्नेछन् र उत्कृष्ट परिकारलाई पुरस्कार प्रदान गरिनेछ। यसले पर्यटकको बसाइ अवधि लम्ब्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सिद्धार्थनगर नगरपालिका सह–आयोजक रहेको महोत्सवमा करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। मुख्य प्रायोजक गोर्खा ब्रुअरी, प्रायोजक सारस बेभरेज र सह–प्रायोजक जावलाखेल ग्रुप अफ इन्डस्ट्रीज रहेका छन्। करिब २५–३० हजार दर्शक सहभागी हुने, ८० स्टल रहने र बिहान ७ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने महोत्सवबाट एक करोड रुपैयाँभन्दा बढी कारोबार हुने अपेक्षा गरिएको छ।
महोत्सवमा राष्ट्रिय कलाकार सिम्रन परियारसहित स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ भने आतिशबाजीसहित समापन गरिनेछ।
कार्यक्रममा नाट्टा अध्यक्ष चन्द्र थापा, सुनचाँदी ब्याबसायी संघ सिद्धार्थनगरका अध्यक्ष राजन रसाइली, मदिरा ब्याबसायी सङ सिद्धार्थनगरका सल्लाहकार खिमबहादुर खत्री ,
होटल तथा रेस्टुरेन्ट ब्याबसायी सङ लुम्बिनी प्रदेशका महासचिब गणेसप्रसाद बेल्बासे, सङका सस्थापक अध्यक्ष अनिलकुमार ज्ञवाली लगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।
कार्यक्रम वरिष्ठ उपाध्यक्ष लिलाधर भट्टराईको समापन तथा महासचिव सुनिल घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।






