भैरहवा । कपिलवस्तुको महाराजगंजमा हिन्दु(मुश्लिम विवाद चर्कन नदिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दिउँसो २ बजेदेखि महाराजगन्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगन्ज चोक, उत्तरमा महाराजगन्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रमा कुनै पनि किसिमको भेला गर्न, सभा, जुलुश तथा प्रदर्शन गर्न निषेधाज्ञा जारी गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेद्धारा जारी सूचनामा जनाइएको छ ।
महाराजगन्जको वडा नं. २ र ३ को सीमा क्षेत्रमा मुश्लिमको ईद र हिन्दुहरुको नवरात्र मनाउने क्रममा उत्पन्न विवाद बढ्दै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । मुश्लिम समुदायले नवाज पढीरहेका र हिन्दुहरुले दुर्गा माताको पूजा गरिरहेको अवस्थामा दुर्गा मन्दिरमा चर्को आवाजमा भजन लगाएपछि त्यसको आवाज घटाउने बिषयबाट विवाद चर्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मुश्लिम पक्षका केहि मानिसले साउण्ड घटाइदिएपछि दुई पक्षबीच झडप भएको थियो । झडमा प्रहरी, हिन्दु र मुश्लिम समुहका तर्फबाट एक बालकसहित दुई दुई जना गरी ६ घाईते भएका छन् । प्रहरीले घटना नियन्त्रणमा लिन ७ साउण्ड अश्रु ग्याँस प्रहार गरेको प्रहरी उपरिक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो ।
प्रहरीले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । घटना साम्य पार्न व्यापक प्रहरी तैनाथ गरिएको छ ।






