लुम्बिनी । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिन्ीमा बिहिवारदेखि तेश्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव शुरु भएको छ । योग साधना, संगीत र खेलकुदको माध्यमबाट बुद्धका शान्ति सन्देशलाई विश्वभर फैलाउने उद्देश्यका साथ शुरु भएको शान्ति महोत्सव नेपालस्थित चीनियाँ दुतावास, नेपाल पर्यटन बोर्ड, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी विकास कोषको संयुक्त आयोजना रहेको छ ।
सो महोत्सवको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले बुद्धले सिकाएका अहिंसा र शान्ति सन्देश आज पनि संसारभर उत्तिकै महत्वपूर्ण रहेको बताए । उनले शान्ति सन्देशलाई कार्यान्वयन गर्न महोत्सव फलदायी हुने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा चीनियाँ राजदूत चाङ माओमिङले चीन र नेपाल भौगोलिक रुपमा नजिक रहेका, हिमाल र नदीले जोडिएका असल छिमेकी राष्ट्र मात्र नभै साँस्कृतिक रुपमा पनि गहिरो सम्बन्धले गाँसिएका मित्रराष्ट्र भएको बताए । उनले दुवै देशले पञ्चशीलका सिद्धान्तलाई मार्गदर्शकका रुपमा अंगाल्दै आपसी विश्वासलाई सुदृढ बनाएको उल्लेख गर्दै आपसी सहकार्यलाई दुवै देशले निरन्तर विस्तार गर्दै आइरहेको जनाए ।
विश्व परिवेशमा धेरै दुर्लभ परिवर्तनहरु तीब्ररुपमा अगाडि बढीरहेकाले अन्तर्राष्ट्रिय अवस्था झन् जटिल र अस्थिर बन्दै गएको बताउँदै राजदुत माओमिङले भने – ‘विभिन्न क्षेत्रमा द्धन्द्ध तथा युद्धका घटनाहरु दोहोरिइरहेका छन्, यस्तो अवस्थामा शान्ति कुनै सैद्धान्तिक कुरा नभई सबै परिवारको आधारभूत चाहना बनेको छ ।’
उनले शान्तिपूर्ण विकासलाई राष्ट्रिय मार्गदर्शनका रुपमा अघि बढाउँदै आएको चीन विश्वका सबै शान्तिप्रेमी राष्ट्रहरुसँग हातेमालो गर्न प्रतिबद्ध रहेको पनि बताए । राजदुत माओमिङले विकास, सुरक्षा, सभ्यता र सुशासनका क्षेत्रमा सहकार्यलाई प्रबद्र्धन गर्दै चीनले शान्ति, विकास, समानता, न्याय, लोकतन्त्र र स्वतन्त्रता जस्ता साझा मानव मूल्यहरुको संरक्षण र प्रबद्र्धनमा जोड दिइरहेको उल्लेख गरे ।
समारोहमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले पनि विश्व शान्ति, लुम्बिनी र बौद्ध धर्मबारे चर्चा गर्नुभएको थियो ।
महोत्सव अन्तर्गत शुक्रबार योग र संगीत महोत्सव तथा शनिवार ओलम्पिक दौड कार्यक्रम तय गरिएको छ ।






