भैरहवा । रुपन्देहीको निर्वाचन क्षेत्र नं. ४ मा आसन्न निर्वाचन सम्पन्न गर्न एम्बुलेन्स चालकलाई पनि निर्वाचनमा खटाइएको छ । मायादेवी गाउँपालिका अन्तर्गत कम्हरिया स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रसुति सेवा उपलब्ध भएपछि गर्भवती महिलाको सेवा तथा सिकिस्त बिरामीहरुको औषधीउपचारमा सहयोग पु¥याउने उद्देश्यले एम्बुलेनस राखिएको छ ।
गाउँपालिकाले उम्बुलेनस खरिद गरेपछि तत्कालिन पालिका उपाध्यक्ष तारा यादवका भतिज अवधेश यादवलाई चालकको रुपमा नियुक्त गरिएको थियो । उनै यादवलाई मायादेवी गाउँपालिकाको बरेवा माध्यमिक विद्यालय मतदान केन्द्रमा कार्यालय सहयोगीको रुपमा खटाइएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले एम्बुलेन्स चालक यादवलाई चुनावमा खटाउने निर्णय गरेका हुन् । जतिखेर पनि तयारी अवस्थामा बस्नुपर्ने एम्बुलेन्स चालक निर्वाचनमा खटेपछि एम्बुलेन्स त्यत्तिकै थन्किने भएको छ ।
’म वरेवा माविमा खटिएको छु, हेल्थपोष्ट र मतदान केन्द्र सँगै छ,‘ चालक यादवले भने ‘म निर्वाचनमा खट्दा भाइले एम्बुलेन्स चलाउँछ ।’
कम्हरिया स्वास्थ्य चौकी प्रमुख प्रदीप पण्डितले एम्बुलेन्स तयारी अवस्थामा रहनुपर्ने भएकाले चुनावमा खटाउनका लागि आफुले सिफारि नगरेको जानकारी दिए । ’प्रसुति केन्द्रका दुई जना र एम्बुलेन्स चालकलाई सिफारिस गरिएको होइन, खोई कसरी कहाँ भनेर खटेछन्, थाहा भएन‘ – पण्डितले भने ।
मायादेवी गाउँपालिकाका प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले सबै कर्मचारीको लिष्ट पठाउने क्रममा एम्बुलेन्स चालकको पनि नाम गएको हुन सक्ने भन्दै त्यसलाई तत्काल सच्याउने जानकारी दिए ।
यसैबीच लुम्बिनी सास्कृतिक नगरपालिका वडा नं. स्थित तरकुल्ला मा.वि. मतदान केन्द्रमा राजीनामा दिएर बिदेश पुगेका कर्मचारी चुनावमा खटेका छन् । मायादेवी गाउँपालिकाबाट राजीनामा दिएर विदेश पुगेका अहेब जितेन्द्र हरिजनलाई मायादेवी गाउँपालिकाका प्रशासकीय अधिकृत पोखरेलले नै सिफारिस गरेका हुन् ।
अहेव हरिजन राजीनामा दिएर एक बर्ष अघि नै इजरायल गएका थिए । उनको तरकुल्ला मा.वि. केन्द्र (क) मा सहायक कर्मचारीको रुपमा खटेका हुन् ।








