भैरहवा, २७ जेठ । भैरहवाका पाँच सामुदायिक विद्यालयमा अध्ययनरत ८ सय बढी छात्राहरुले आत्मरक्षा तालिम लिएका छन् । भैरहवा तेक्वान्दो क्लवद्धारा आयोजीत किशोरीहरुका लागी आत्मरक्षा तालीममा उनीहरुले तालिम लिएका हुन् ।
२०८२ वैशाख १९ देखि जेठ २५ गतेसम्म सञ्चालीत तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले तालिम सञ्चालनका लागि विद्यालय प्रशासन र शिक्षकशिक्षिकाबाट साथ र सहयोग प्राप्त भएको बताइन् । उनले आत्मरक्षा तालिम आजको आवश्यकता भएको बताइन् । भैरहवा तेक्वान्दो क्लबको संस्थापक अध्यक्ष समेत रहेकी उपप्रमुख अधिकारीले यस्तो तालिमले किशोरीहरुको आत्मबल बढाउने बताइन् । ‘सिद्धार्थनगर नगरपालिकको टीम खेलप्रेमी छ, नगरपालिकाले खेलकुद क्षेत्रको विकासमा ध्यान दिएको छ, उनले भनीन् ।
भैरहवा तेक्वान्दो क्लबका अध्यक्ष एकनारायण अर्यालले आगामी वर्ष १ हजार ६ सय विद्यार्थीको सहभागीतामा आत्मरक्षा तालिम सञ्चालन गर्ने लक्ष्य रहेको बताए । उनले बाँकी रहेका सम्पूर्ण विद्यालयमा यो तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
क्लबका संस्थापक उपाध्यक्ष तथा नेकपा (एमाले) सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले शिक्षा, स्वास्थ्य र खेलकुदको विकासले नै मुलुकको विकास हुने बताए ।
सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले सुरक्षाको प्रत्याभूति हुनुपर्ने र आत्मरक्षा तालिमले आत्मविश्वास बढाउने बताए । माउण्ट एभरेष्ट कत्था मिल्स प्रा.लि. तिलोत्तमा, रुपन्देहीका अध्यक्ष वसन्त रोका क्षेत्रीले देशलाई सक्षम र सबल बनाउन सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।
रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकान्त आचार्यले आगामी दिनमा पनि आत्मरक्षा तालिम सञ्चालन गर्नुपर्ने धारणा राखे । सूर्यदेव माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद हरिजनले आत्मरक्षा तालिम किशोरीहरुका लागि महत्वपूर्ण र उपयोगी रहेको बताए ।
भैरहवा तेक्वान्दो क्लबका उपाध्यक्ष प्रितम पुनको स्वागत तथा सचिव प्रकाशमान राजभण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा धेरै विद्यार्थी सहभागी गराउने रुपन्देही लिलाराम न्यौपाने मावि र अनुशासित विद्यालयको रुपमा पक्लिहवा माविलाई पुरस्कृत गरिएको थियो । त्यस्तै तालिममा सहभागी विद्यालय र प्रशिक्षकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा माउण्ट एभरेष्ट कत्था मिल्स प्रा.लि. तिलोत्तमा, रुपन्देहीका अध्यक्ष वसन्त रोका क्षेत्रीलाई भैरहवा तेक्वान्दो क्लबको आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
तालिममा नवदुर्गा मावि, सूर्यदेव मावि, रुपन्देही लिलाराम न्यौपाने मावि, पक्लिहवा मावि र महात्मा बुद्ध माविमा सञ्चालन भएको थियो । यी विद्यालयमा क्रमशः अवजेश कहार, सुमन पौडेल, दीपक न्यौपाने, मोहम्मद हुसेन मुसलमान र प्रितम पुनले प्रशिक्षण दिएका थिए ।










