मदनलाई मेडिकेयर अस्पताल चाँडै पुग्नुपर्ने थियो । नेपालगंजबाट विरामी मामालाई त्यहाँ ल्याइएको रहेछ । सातदोबाटोबाट मदन माइव्रmोबसमा चढ्यो । मनमा कुरा खेलाउँदै एक सुरमा रहेको बेला–नमस्ते मदन दाइ ! – यौटा नारी आवाजले झस्काईदियो । उसले देख्यो–आपूmसंगैको सिटमा बसेकी यौटी अधवैंसे महिला आपूmलाई हेरि नमस्ते मुद्रामा हाँसिरहेकी थिई ।
ठ्याम्मै चिन्न नसके पनि कहींकतै देखे चिने जस्ती ती महिलालाई आफ्ना दुवै हात जोडेर नमस्ते फर्काउँदै मदनले भन्यो–तपाई … ?
महिलाले हाँस्दै भनी – ल ! चिन्नु भएन मलाई ? म पोखरा रूपा दिदीकी बहिनी – शारदा !
मदनलाई अभैm स्पष्ट हेक्का भएन तर भन्यो – रूपादिदी त पोखरा हाम्रो अफिसमा हुनु हुन्थ्यो ! अनि तपाई नि ?
छ्या ! मदन दाइ तपाई त ! – म शारदा भन्या शारदा ! – महिलाले हाँस्दै भनि – रानीपौवा हाम्रो घरमा तपाईहरु पटकपटक आइरहनु हुन्थ्यो । नास्ता बनाएर ख्वाउने त मै हुँ नि तपाईहरुलाई !
बल्ल मदनको स्मृतिको पटल खुल्यो ! – ए ! शारदा ! तिमी ! सानी पातली थियौ त ! कस्तो फरक देखें त !
अहिले भने शारदा चुप लागि । उसको अनुहारको हाँसो पनि हरायो ।
माइव्रmो आफ्नै रफ्तारमा गुड्दै – रोकिन्थ्यो । यात्रु ओ¥हाल्थ्यो – राख्थ्यो । मदनले शारदालाई राम्रोसंग हे¥यो । सिउँदो उजाड थियो । हातमा चुरा थिएनन् । वैद्यव्य महिलाको पहिरन थियो । तर अनुहारमा तेज थियो ।
अनि तिमी यहाँ कहाँ नि ? – मदनले सोध्यो ।
रसाएका जस्ता आँखा लिएर भुईँतिर हेर्दै शारदाले भनि – अब मेरो घर यतै छ । एक्लै छु । वहाँ पनि हुनुहुन्न ।
मदन एक छिन बोल्न सकेन । प्रसंग मिलाउने सिलसिलामा सोध्यो – रूपा दिदी कहाँ हुनुहुन्छ ?
दिदी पोखरामै हुनु हुन्छ – शारदाले जवाफ दिई ।
के गर्दै हुनु हुन्छ ? – मदनले सोध्यो ।
दिदीको घरजम राम्रो भएन । यहीं काठमाण्डौं भेडासिंमा विहा भएको थियो । विहा भएको दुई वर्षपछि माइती आएर घर फर्कन मान्नुभएन । घर तर्पmबाट भिनाजुहरुले पनि लिन आउनु भएन ।
बच्चा बच्ची छैनन त रूपा दिदीको ? – मदनले सोध्यो ।
भएनन् – शारदाले जवाफ दिई ।
यति बेलासम्म माइव्रmो कोटेश्वर आएर केही बेर रोकिएको थियो । यात्रुहरु झर्ने र चढ्ने क्रम यथावत थियो ।
एक्ली छु भन्छ्यौ त ? – मदनले सोध्यो ।
अँ, एक्ली छु । मेरा पनि बच्चा बच्ची भएनन् – शारदाले जवाफ दिई ।
एक छिन दुवै मौन बसे । माइव्रmो कोटेश्वरबाट गुड्यो ।
अनि ज्वाई साहेबलाई के भएको थियो र ? – मदनले कुरा जोड्यो ।
म भन्दा पहिले पनि श्रीमती रहिछिन् । तिनको मृत्युपछि मलाई विहा गर्नु भएको रहेछ । मैले पछि थाहा पाएँ – शारदाले भनि – जेठीबाट पनि बच्चा भएनन् ।
डाक्टरलाई देखाएनौ र ? – मदनले सोध्यो ।
देखाएको हो । दुवैको ठीक छ भन्थे – शारदाले जवाफ दिई ।
अनि कति भयो त ज्वाँई बित्नु भएको ? – मदनले सोध्यो ।
अस्तिको चैतले ५ वर्ष पुरा भएर ६ वर्ष लाग्यो – शारदाले जवाफ दिई ।
अनि तिमी के गछ्र्यौं ? – मदनले सोध्यो ।
चावहिलमा खुद्रा सामानको व्यापार गरिरहेकी छु – शारदाले भनि ।
म पनि चावहिलमा मेडिकेयर अस्पताल जान हिडेको – मदनले भन्यो ।
राम्रै भयो – मेरो दुकानमा चिया पिएर एकछिन कुरा गरौंला नि हुन्न दाइ ?– शारदाले प्रस्ताव राखी ।
हुन्छ ! – मामा बिरामी हुनु भएर नेपालगंजबाट यहाँ ल्याइनु भएको रहेछ – मदनले भन्यो ।
दुकानमा विशाल दाइको छोराले सहयोग गरेको छ – शारदाले भनी – उ क्याम्पस जान्छ । म १० बजे दुकान पुगी सक्नु पर्छ ।
कुरा गर्दा गर्दै माइक्रो चावहिलमा आइपुग्यो । माइक्रोबाट झरेर शारदाले मदनलाई आफ्नो दुकानमा लगी । उनीहरु दुकानमा पुग्ना साथ शारदाको भदा क्याम्पस टाप कसिहाल्यो ।
दुकान सानै भए पनि दैनिक उपभोगका बस्तुहरु टनाटन भरिएका थिए । चावहिल चोकै नेर भएको हुँदा ग्राहकहरु आइरहने रहेछन् ।
एकै छिन है ! दाइ ! – शारदाले भनी र दुकान बाहिर गएर तुरुन्त फर्कि हाली ।
एकै छिनपछि चिया र दुईओटा उमालेको अण्डा लिएर बाह्र तेह्र वर्षकी तामाङनी केटी देखा परि ।
मदनले भन्यो – भर्खर नास्ता लिएर मात्र आएको ।
तर शारदा मान्ने खालकी थिइन् । मदनलाई जबरजस्ती दुईओटा अण्डा र एक कप चिया ख्वाएरै छाडी ।
चिया र अण्डा खाएपछि मदन उठ्यो र भन्यो – शारदा ! म अहिले मामालाई भेट्न जान्छु । फर्कदा तिमी कहाँ पस्छु हुन्न ?
हुन्छ दाइ ! – शारदाले भनि – पक्कै आउनुहोला !
अनि मदन मेडिकेयर अस्पताल तर्फ लाग्यो ।
८ ८ ८
मामालाई चौथो तलाको केबिनमा राखिएको रहेछ । बेडमा पुगेर मामालाई ढोगेपछि मदनले मामाका छोरा भाइ तेजेन्द्रलाई सोध्यो – कहिले ल्याएको मामालाई ?
हिजो साँझ ल्याई पु¥याएको – तेजेन्द्रले भन्यो – पिसाब नभएर सा¥है दुःख पाउनुभयो बुवाले । हिजो साँझबाट औषधी ख्वाएर सलाइन दिएपछि पिसाब पनि खुलेको छ । सबै चेक गरी सकेका छन् । साँझ सम्म रिपोर्ट आउँछ ।
मामासँग कुरा गर्न लाग्यो मदन । मावलीहरुलाई भान्जाहरुले बिर्सन थाले भन्ने मामाको गुनासोको जवाफ दियो मदनले – व्यस्त भनौ भने खास काम छैन । कामै छैन भनौ भने फुर्सद पनि छैन । यस्तै छ मामा ! मौका मिलेको बेलामा नेपालगंज हजुरहरु कहाँ पुगेकै छु । संयोगले यहाँ पनि भेट भयो ।
बिरामी कोठामा एकछिन हाँसो भयो ।
एक घण्टा मामासँग बसेपछि मदन भोलि फेरि आउँछु भनेर बिदा भयो ।
८ ८ ८
मदन शारदाको दुकानमा फक्र्यो । शारदा खुशी भई र भनि – मलाई त दाइ आउनु हुन्न होला की जस्तो लागेको थियो ।
तिमीलाई जे लागे पनि म आईहालें । आउँछु भनेको थिएं ! – मदनले जवाफ दियो र सोध्यो – काठमाडौँमा घर कहाँ हो तिम्रो ?
किलागल हो घर त ! – तर ऐले त्यहाँ छैन – सातदोबाटोको भित्र पट्टि ढाई आनामा बनेको भुँई तले चारकोठे घर किनेर बसेकी छु – शारदाले भनि ।
सेण्टरको घर किन बेच्यौ त ? – मदनले सोध्यो ।
बेच्न त मन थिएन – शारदाले भनि – चार वर्ष भयो बेचेको । देवरका साइँदुवा छोराहरुले अंशै दिन्नौ भनेर कत्रो जात्रा गरे तर नातेदारहरुको अगाडि उनीहरुको केही लागेन ।
किन अंश दिन्न भनेका नि ? – मदनले सोध्यो ।
किन भन्ने नि । मेरा सन्तान छैनन रे ! – शारदाले भनि – सन्तान नभएकालाई किन चाहियो सम्पत्ति ? हामी खान लाउन दिई हाल्छौं । बिरामी भए औषधी मूलो गरिहाल्छौं । त्यसैमा सन्तोष गरेर बस भन्थे तर मैले मानिन । झगडा गरें । नातेदारहरुलाई बोलाएर उनीहरुका कुरा र मैले अंश पाउनुपर्ने कुरामा न्याय दिन हात जोडें । धेरै लामो छलफलपछि नातेदारहरु र छिमेकीहरुको जोडले मैले बरोबर अंश पाएं ।
अंश पनि दिन्नौ भन्ने कस्ता पापी रहेछन् त मोराहरु ? – मदनले जिज्ञासा राख्यो ।
कस्ता भन्ने ? – शारदाले भनि – डर लाग्दाछन् दाइ ! – भतिजाहरु । जे मन लाग्यो त्यही गर्छन । सधैं मारपिटका कुरा गर्छन । उनीहरुसंग प्रशासन र पुलिस पनि डराउँछन् ।
अनि कसरी माने त नातेदार र छिमेकीहरुका कुरा ? – मदनले सोध्यो ।
नातेदारहरु पनि हक्की थिए । अर्काकी छोरी ल्याएर अंश दिन्न भन्न पाइन्छ ? भनि छर छिमेकहरुलाई बोलाएर छलफल गराए – शारदाले भनि – नातेदार र छरछिमेकहरुको दबाबमा छोराहरुलाई उचाल्ने देवर खुम्चनु परे पछि छोराहरु पनि चुप लागे ।
शारदाले थपि – कुरा टुंगिएको भोलि पल्ट डिल्लीबजार माल अड्डामा गएर अंशवण्डा भयो । चार पाँच महिना पछि मैले आफ्नो भागको घर जग्गा तिनै साइँदुवाहरुलाई बजार भाउ भन्दा केही कममा दिएं । त्यही पैसाबाट सातदोबाटोको भित्री भागमा बनेको ढाई आनाको भँुईतले घर किनेर बसेकीछु । त्यहाँ दुकान राख्न मिल्दैन त्यसैले यहाँ दुकान खोलें । यो घर पनि हामै्र पोखरेली शेरचन दाइहरुको हो ।
कुरा गरिरहंदा बीचबीचमा ग्राहकहरु आएता पनि शारदा सजिलै व्यापार र कुरा गरिरहेकी थिई । मदन अचम्म मानेर शारदाको व्यापार कला हेरेर कुरा सुनी रहेको थियो । मदनले पहिलो पल्ट शारदालाई देख्दा उ सात कक्षामा पढ्थी । त्यो बेला मदन पोखराको यौटा अफिसमा भर्खर जागिरे भएर गएको थियो । त्यही अफिसमा शारदाकी दिदी रूपा टाइपिष्ट थिइन् । शारदासंग मदनको चिन जान स्टाफकी बहिनीको नाताले भएको थियो ।
मदन अतीतमा पुग्यो । अफिसमा एक दिन रूपा दिदीले भनिन् – शनिबार डुल्दै हाम्रो घर रानीपौवा तिर पनि आउनुस न मदन भाइ !
हुन्छ ! आँउला नि दिदी – मदनले पनि भन्यो ।
यसरी रूपा दिदीको घरमा आउन जान सुरु भयो मदनको । रूपा दिदीको घरमा बूढी आमा, दुई भाइहरु र यौटी बहिनी शारदा गरी पाँच जनाको परिवार थियो । पछि ठूलो भाइले पोखराकी गुरुङ्गसेनी केटी बिहा गरेर छुट्टै बसेपछि घरपरिवार चार जना मात्र भए ।
करिब एक वर्ष आवतजावत भइसकेपछि एक दिन रूपा दिदीले आउने शनिबार उनको घरमा बिहानको खानाखान निम्तो दिइन् । पहिले मदनले आनाकानी गरे पनि रूपा दिदीको हठको कारण हुन्छ भन्न कर लाग्यो । शानिबारको दिन रूपा दिदीले विशेष परिकार सहित खाना ख्वाइन । फर्कने बेलामा घर पछाडिको करेसाबारीमा मदनलाई लगेर बिस्तारै तर प्रस्ट रुपमा भनिन – भाइ तपाईको आचरण देखेर हामी खुशी छौं । त्यसैले हाम्री बहिनी शारदा तपाईलाई दिने इच्छा हाम्रो छ ! तपाईको विचार के छ स्पष्ट भ िदिनु होला ।
मदन जिल्ल प¥यो । अकमक्कियो तर सम्भालिएर भन्यो – दिदी ! मेरो संसार अर्कै छ । गा¥हो नमान्नु होला । तपाँईले जस्तै शारदालाई मैले पनि आफ्नै बहिनी सम्झेको छु । अनि सोध्यो – शारदालाई यो कुरा थाहा छ ?
छैन ! – रूपादिदीले भनिन् – तपाईको राय लिए पछि मात्र उसलाई भन्ने हाम्रो परिवारको सल्लाह थियो ।
धन्यवाद दिदी ! – मदनले भन्यो ।
रूपा दिदीको घरबाट मदन मोहरियाटोल डेरामा पुग्यो । उसलाई मनमा कस्तो कस्तो अफ्ठेरो अफ्ठेरो भै रहेको थियो ।
भोलिपल्ट आइतबार अफिस समयपछि मदन सरासर रूपादिदीको घरमा पुग्यो । बूढी आमालाई नमस्कार गरेपछि शारदालाई एकछिन बाहिर निस्कने संकेत गरेर आफू घर पछाडिको करेसा बारीमा गयो । शारदा पनि आई ।
मदनले पैण्ट बाट पर्स निकाल्यो र पर्सको पकेटबाट यौटा फोटो निकालेर शारदालाई दिदैं भन्यो – भन त यिनी को होलिन ?
शारदाले फोटो हेर्दै हाँस्दै भनि – मलाई के थाहा ?
कोसिस गरन ! – मदनले भन्यो ।
हुने वाला भाउजु हो ? – उज्यालो अनुहार बनाएर शारदाले भनि ।
बल्ल चिन्यौ ? – मदनले हाँस्दै भन्यो ।
के नाउ हो नि भाउजुको ? – शारदाले सोधी ।
रमा ! – मदनले हाँसेर जवाफ दियो ।
त्यही बेला अफिसबाट रूपादिदी पनि टुप्लुप्क घर आई पुगिन ।
हातमा रहेको फोटो रूपा दिदीलाई देखाउँदै शारदाले भनि – हेर्नुस त दिदी ! मदनदाइको हुने वाला रमा भाउजु !
रूपादिदीले केही बोल्नु अघि नै शारदाले रूपा दिदीको हातमा फोटो राखी दिई ।
फोटो हेरेर रूपादिदीले भनिन – हिसी परेकी रहिछिन् । कँहाकी हुन ?
मदनले अलि लजाए झैं गरेर हाँस्दै भन्यो – नेपालगंजकी ? बुहारी मन प¥यो दिदी ?
रूपादिदीले भनिन – फोटोमा त सा¥है राम्री छिन । तपाईलाई सुहाउँछिन !
केही बेर रूपादिदी कहाँ बसेर चिया पिएर प्रफुल्ल हृदय लिएर मदन डेरा फक्र्यो ।
यस घटनाको करिब एक महिना पछि मदनको सरुवा नेपालगंज मै भयो । त्यस पछि शारदा र मदनको भेट भएको थिएन ।
मदनलाई टोल्हाई रहेको देखेर – शारदाले ठूलो स्वरले प्रश्न गरी – मदनदाइ ! कहाँ हराउनु भयो तपाई? मदन झसङ्ग भयो । शारदालाई हेर्दै हाँस्दै भन्यो – नीलो फ्रक र सेतो सर्टमा नीलो झोला बोकेर हतार हतार स्कूल गई रहेकी मेरी सानी बहिनी शारदालाई सम्झि रहेको थिंए ।
शारदा लज्याए जस्तै गरी मुसुक्क हाँसेर भनि – यो दाइ त कहिलेको कुरा सम्झि रहनु भएछ !
मदनले भन्यो – छोड यी कुरा ! अनि फेरि भन्यो – तिमीमा आत्मवल छ शारदा ! यो आत्मवलनै तिम्रो योग्यता र सफलता हो ! यही आत्मवललेनै तिमीले दुःखका पहाडहरु पार ग¥यौ । आपूmमा सदा यही आत्मवल कायम राखी राख ।
दाइ ! तपाईहरु जस्तै आत्मियजन र आफन्तहरुकै आशीरवाद हो म यसरी बाँच्न सक्नुमा पनि – शारदाले भनि ।
साँझ साँझ पर्न लागि सकेको थियो । मदनले उठ्ने तरखर गर्दै भन्यो – आज म जान्छु । भोलि आउँछु । मामालाई पनि भेट्नुछ ।
हुन्छ ! – शारदाले भनि अनि जीब्रो टोक्दै सोधी – रमा भाउजु सन्चै हुनु हुन्छ ?
तिम्री भाउजुलाई ठीक छ – यौटा छोरा, यौटी छोरी । दुवैको विहा भै सकेको छ । छोराको तर्पmबाट नाति र छोरीको तर्पmबाट नातिनी छे । छोरा धनगढीमा नोकरी गर्छ । छोरी भरतपुर घरमा । हामी बूढाबूढी बुटवल घरमा ।
भाग्यमानी हुनु हुन्छ तपाईहरु त ! – शारदाले हाँस्दै भनि – कहिले ल्याउनु हुन्छ भाउजुलाई ?
अहिंले म काठमाण्डौ एक्लै आएको छु – मदनले भन्यो – अर्को पाली तिमी जस्ति बहादुर बहिनीसंग भेट गराउनको निम्ति पनि रमालाई ल्याउने छु ।
शारदाले हाँस्दै भनि – भो ! धेरै फुल्याउनु पर्दैन ।
मदन उठ्यो । हात्तीवन फर्कनु थियो । शारदाको पसल सँगै बसस्टप थियो । सातदोबाटोको माइव्रmोमा चढ्न शारदालाई वाई वाई ! गर्दै विदा भयो ।









