म बिहान सबेरै जन्मिन्छु।
अझ सूर्यले आकाशको निधारमा रातो टीका नलगाउँदै,
म प्रेसको पेटबाट बाहिर निस्किन्छु
तातो, गन्धले भरिएको,
कालो मसी र सेतो कागजको मिश्रणमा
मेरो आत्मा टाँसिएको हुन्छ।
म एउटा कागज मात्र होइन,
म हजारौँ आँखाको आशा हुँ,
हजारौँ ओठको मौन प्रश्न हुँ,
हजारौँ मनको बेचैनी हुँ।
जब प्रेसको मेसिन रोकिन्छ,
म पहिलो पटक सास फेर्छु।
मेरो छातीमा शब्दहरू धड्किरहेका हुन्छन्
कसैको पीडा,
कसैको सफलता,
कसैको मृत्यु,
कसैको जन्म।
मलाई थाहा छ,
आज कसैको घरमा म आँसु लिएर पुग्नेछु,
र कसैको घरमा मुस्कान।
तर म दुवैलाई बराबरी बोक्छु।
बिहानको कुहिरोसँगै
म साइकलको क्यारियरमा,
मोटरसाइकलको पछाडि,
बसको सिटमुनि—
देशका गल्ली गल्ली पुग्छु।
म बेचिन्छु, किनिन्छु,
तर मेरो मूल्य रुपैयाँ होइन,
मेरो मूल्य सत्य हो।
कसैले मलाई कफीको कपसँग पढ्छ,
कसैले अस्पतालको कुर्सीमा,
कसैले जेलको भित्तासँग टेकिएर।
कसैको हात काँप्छ
मेरो समाचार पढ्दा,
कसैको मन काँप्छ।
म चुपचाप हेर्छु—
एक बुबा आफ्नो छोराको नाम
दुर्घटनाको सूचीमा खोज्दैछ,
एक आमा
मेरो कुनामा छापिएको फोटो चुम्दैछ।
म चाहन्छु,
म बोल्न सकूँ र भन्न सकूँ—
“माफ गर, म केवल सत्य बोल्ने कागज हुँ।”
दिउँसो पुग्दा
म अलि थाक्छु।
मेरो पाना पल्टाइन्छ,
कुनै च्यातिन्छ,
कुनैमा गोलो घेरिन्छ।
कसैले मेरो विज्ञापन मात्रै हेर्छ,
कसैले मेरो सम्पादकीय।
तर मलाई गुनासो छैन।
कम्तीमा म पढिँदैछु।
साँझ पर्न थाल्छ।
म कुनै चियापसलको टेबलमा छुटिन्छु,
कुनै बसपार्कमा बिसाइन्छु,
कुनै घरको कुनामा
मौन भएर थन्काइन्छु।
मेरो मसी अब अलि फिक्का देखिन थाल्छ,
तर मेरो बोझ अझै भारी हुन्छ—
दिनभरि बोकिएको देशको पीडा।
रात पर्दा
म पुरानो बन्छु।
भोलिको नयाँ पत्रिकाले
मलाई विस्थापित गर्नेछ।
तर मलाई दुख छैन।
किनकि आज
मैले कसैलाई सत्य देखाएँ,
कसैलाई सोच्न बाध्य बनाएँ,
कसैको आँखा रसाएँ।
म कागज हुँ, हो।
तर म केवल कागज होइन।
म समयको साक्षी हुँ,
जनताको आवाज हुँ,
र इतिहासको सानो तर अडिग पाना हुँ।
भोलि म रद्दीको टोकरीमा पनि परुँला,
तर मेरा शब्दहरू
कसैको मनमा बाँकी रहनेछन्।
त्यसैले म हरेक बिहान
फेरि जन्मिन तयार हुन्छु—
थोरै मसी,
थोरै कागज,
र धेरै सत्य लिएर।
‘म पत्रिका’
म अझै पनि बिहानै जन्मिन्छु।
तर अब त्यो जन्म
पहिले जस्तो उल्लासले होइन,
चिन्ताले भारी भएर हुन्छ।
प्रेसको मेसिन घुम्छ,
तर त्यसको आवाजमा
अब विश्वासभन्दा डर धेरै मिसिएको छ।
म छापिँदै गर्दा सोच्दछु—
आज मलाई कति जनाले पढ्लान्
आज म कति घरसम्म पुगौला
किनकि
अब मानिसहरू
मेरो प्रतीक्षा गर्दैनन्।
उनीहरू मोबाइलको स्क्रिनसँग उठ्छन्,
स्क्रिनसँगै सुत्छन्।
मसीको गन्धभन्दा
डाटाको गन्ध उनीहरूलाई मीठो लाग्छ।
म त कागजमा बाँच्ने प्राणी,
तर संसार अब
स्क्रोलमा बाँच्न थालेको छ।
पहिले कुनै घरको ढोका खोल्दा
म स्वागत पाउँथेँ।
आज ढोका खुल्दैन—
wifi खुल्छ।
मेरो ठाउँमा
ब्रेकिङ न्युज झुल्किन्छ,
जसको सत्य
अक्सर मभन्दा कमजोर हुन्छ।
म सत्यलाई समय लगाएर छाप्छु,
तर उनीहरू
अफवाहलाई सेकेन्डमै फैलाउँछन्।
र मानिसहरू
मलाई ढिलो भन्ने गर्छन्,
उनीहरूलाई छिटो झुट मन पर्छ।
मेरो अर्को पीडा छ—
विज्ञापन।
पहिले मेरो पेट भरिन्थ्यो
व्यवसायको सानो सानो सहयोगले।
आज त्यो पैसा
सोसल मिडियाको एल्गोरिदमले खान्छ।
म पत्रकारलाई
समयमै तलब दिन नसक्ने अवस्थामा छु,
तर अझै पनि
उनीहरूलाई जोखिमपूर्ण सत्यमा पठाउँछु।
कहिलेकाहीँ म आफैँलाई सोध्छु—
“म बाँचिरहनुको अर्थ के होरु”
जब मेरा समाचार
भाइरल हुँदैनन्,
जब मेरा खोजी रिपोर्ट
रील बन्न सक्दैनन्।
तर फेरि म सम्झन्छु—
म ट्रेन्ड होइन,
म ट्रुथ हुँ।
म देख्छु
मेरो पाना पल्टाउने हातहरू
दिनदिनै कम हुँदैछन्।
कुनै चियापसलमा
अब मोबाइल झुन्डिएको देख्छु,
म भने कुनामा
धुलो खाइरहेको हुन्छु।
र यो धुलो
मेरो कागजमा मात्र होइन,
मेरो आत्मामा पनि बस्न थालेको छ।
मसँग अर्को पीडा पनि छ—
राजनीतिक दबाब।
मलाई कहिले चुप बस्न भनिन्छ,
कहिले आधा सत्य छाप्न।
म कागज हुँ,
तर मलाई मोड्न खोजिन्छ।
डिजिटल मिडियाले
मेरो शरीर खोसेको छ,
र शक्तिले
मेरो आत्मा खोस्न खोज्दैछ।
तैपनि
म हरेक बिहान उठ्छु।
किनकि
कुनै एक पाठक अझै बाँकी छ—
जो मोबाइल बन्द गरेर
मलाई खोज्छ।
जो गहिरो समाचार पढ्न
समय निकाल्छ।
जो जान्न चाहन्छ
के भइरहेको छर
किन भइरहेको छर
त्यो एक पाठकको लागि
म अझै छापिन्छु।
सायद म पुरानो हुँदैछु,
तर म झुटो भएको छैन।
म थाकेको छु,
तर म बिकेको छैन।
र जबसम्म
सत्यलाई कागजमा देख्न चाहने
एक जोडी आँखा बाँकी छ,
म—
एक्लो,
थोरै च्यातिएको,
तर अझै इमानदार पत्रिका—
बाँचिरहनेछु।
म पत्रीका









