सञ्चार क्षेत्रले निर्वाह गरेको भूमिका महत्वपूर्ण : प्रहरी महानिरीक्षक कार्की

भैरहवा, १४ पुस । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी र सञ्चारकर्मीबीचको सम्बन्धलाई नङ र मासुको रूपमा चित्रित गर्नुभएको छ । उहाँले लुकेका अपराध बाहिर ल्याउन सञ्चार क्षेत्रले निर्वाह गरेको भूमिका महत्वपूर्ण भएको बताउँदै उक्त सम्बन्धलाई नङ र मासुसँग तुलना गर्नुभएको हो ।

सोमबार लुम्बिनी प्रेस क्लबद्वारा लुम्बिनीमा आयोजित तेस्रो लुम्बिनी न्युज फेस्टिवलको समापन समारोह तथा क्लबको ११ औं स्थापना दिवसको कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले समाजलाई भयरहित वातावरण बनाई नागरिकलाई सहज जीवनयापन गर्न पाउने अवस्था सिर्जना गर्न सञ्चार क्षेत्रको भूमिका उल्लेख्य रहेको बताउनुभयो ।

उहाँले खोज पत्रकारितामार्फत लुकेका कयौं अपराध बाहिर ल्याउन सञ्चारकर्मीले सहयोग पुर्याइरहेको बताउनुभयो । कहिलेकाहीँ घटनास्थलमा प्रहरी भन्दा पहिले सञ्चारकर्मी पुगेर अपराधमा संलग्नलाई पक्राउ गर्ने आधार र प्रमाण पाउँदा अनुसन्धानमा पनि सहयोग पुगेको उहाँले बताउनुभयो । उहाँले सञ्चार जगतले सन्तुलित किसिमले काम गर्दा त्यसले सञ्चारप्रतिको विश्वास वृद्धि हुने बताउनुभयो । लुम्बिनी प्रेस क्लबले निर्वाह गरेको भूमिकाको उहाँले प्रशंसा गर्नुभयो ।

त्यस्तै नेपाल पत्रकार महासंघको अध्यक्ष निर्मला शर्माले लुम्बिनी प्रेस क्लबको स्थापना दिवसको अवसरमा बुद्धको जन्मभूमि लुम्बिनीमा आयोजित शान्ति पत्रयात्रा कार्यक्रमले नेपालमा स्थायी शान्तिको लागि पनि पत्रकारहरुको भूमिका महत्वपूर्ण छ भन्ने सन्देश जाने बताउनुभयो ।

प्रेस काउन्सिल, नेपालका अध्यक्ष डा। कुमार शर्मा आचार्यले पत्रकार आचारसंहिता पालना गर्ने मिडियाको प्रेस काउन्सिलले संरक्षण गर्ने बताउनुभयो ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाको कार्यबाहक नगरप्रमुख कल्पना हरिजनले हरेक यात्रा शान्तिबाट सुरु हुने बताउनुभयो ।
लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठले लुम्बिनीमा आउने पर्यटकको बसाई लम्ब्याउने योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रेस काउन्सिल नेपालका सदस्य नकुल अर्यालले पत्रकारले सत्यतथ्य लेख्नुपर्ने र लेखिएका समाचारले समाजलाई सकारात्मक दिशातर्फ डोर्याउनुपर्ने बताउनुभयो ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले समाजलाई सकारात्मक सन्देश दिने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो ।
क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले धेरै आरोह–अवरोह पार गर्दै क्लब यहाँसम्म आइपुगेको बताउनुभयो ।

कार्यक्रम संयोजक तथा क्लबका निवर्तमान सह–कोषाध्यक्ष पुनहरि बेल्बासेले क्लबले स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष यो कार्यक्रम गर्दै आएको बताउनुभयो ।

क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालको स्वागत तथा महासचिव प्रकाश न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
लुम्बिनी प्रेस क्लबको ११ औं स्थापना दिवसका अवसरमा आयोजित हेरिटेज वाकको पनि महानिरीक्षक कार्कीले शुभारम्भ गर्नुभएको थियो । पर्साचोकदेखि हेरिटेज वाक गर्दै टोली बेबी बुद्धमा पुगेर समापन गरिएको थियो ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका