काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले अलराउन्ड प्रदर्शन गर्दै पोखरा एभेन्जर्सलाई ५३ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
लोकेश बाम र मार्टिन गुप्टिलको विस्फोटक अर्धशतकको मद्दतले प्रस्तुत गरेको २२१ रनको विशाल लक्ष्य पछ्याएको पोखरा, कप्तान कुशल भुर्तेलको सानदार अर्धशतकका बाबजुद १८.५ ओभरमा १६७ रनमा अलआउट भयो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पोखराले फिल्डिङ रोजेपछि विराटनगरले सुरुदेखि नै आक्रामक ब्याटिङ गरेको थियो।
पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले दोस्रो ओभरमै जर्ज मुन्सी (१० रन) लाई गुमाए पनि त्यसपछि क्रिजमा आएका लोकेश बाम र मार्टिन गुप्टिलले पोखराका बलरहरूमाथि धावा बोले।
यी दुईबीच दोस्रो विकेटका लागि १३२ रनको विशाल र विस्फोटक साझेदारी भयो।
लोकेश बामले ४८ बलमा ७ चौका र ७ छक्का प्रहार गर्दै सर्वाधिक ७२ रन बनाए। अर्कोतर्फ, न्युजिल्यान्डका स्टार ब्याट्सम्यान मार्टिन गुप्टिलले मात्र ३५ बलमा ३ चौका र ५ छक्कासहित ६१ रनको आक्रामक पारी खेले।
यी दुई आउट भएपछि पनि विराटनगरको रन गति रोकिएन। शुभम रन्जानेले मात्र १६ बलमा ३८ र बसिर अहमदले १३ बलमा २३ रनको महत्वपूर्ण योगदान दिएपछि विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर २२० रनको विशाल योगफल तयार पार्यो।
पोखराका लागि म्याट टेलरले २ विकेट लिए पनि ४ ओभरमा ४८ रन खर्चेर महँगा साबित भए।









