बदनाम प्रहरीहरु डिआईजीका घुमुवा: तस्कर र क्यासिनोमा अबैध असुली आतंक

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले खटाएका घुमुवाको आतंकले प्रहरी बदनाम हुँदै गएको छ । बदलिंदो राजनीतिक परिवेशमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक भूपेन्द्र खत्रीले खटाएका घुमुवाको अबैध असुली आतंक बढेको छ । डिआईजी खत्रीले चार जना प्रहरीलाई तराई क्षेत्रको घुमुवाको रुपमा र अन्य केहिलाई सहयोगीको रुपमा खटाएका छन् ।
अपराध नियन्त्रण तथा सूचना संकलनका लागि सादा पोशाकमा प्रहरी परिचालन गर्ने प्रचलन पछिल्लो समय महिनाबारी रकम असुल्ने माध्यम बनिरहेको छ । तस्कर तथा अपराधिक गिरोहसँग रकम असुलेर अपराधमा छुट गर्ने कार्यमा घुमुवाहरु तल्लिन हुने गरेका छन् ।
डिआईजी खत्रीले बरिष्ठ प्रहरी नायव निरिक्षक (बरिष्ठ सई) बम रावल, सहायक निरिक्षक (असई) अवधेश यादव, हवल्दार भोजबहादुर गुरुङ्ग र प्रहरी जवान दीपक श्रेष्ठलाई घुमुवाको रुपमा खटाएका हुन् । बमको प्रहरी प्रदेश गण खजुरामा, यादवको कपिलवस्तुमा, गुरुङ्गको रुपन्देही र श्रेष्ठको पाल्पा दरबन्दी रहेको छ । यिनीहरु चारै जना अहिले रकम असुलीमा क्रियाशील रहेका छन् ।
परिचालित घुमुवाहरुमध्ये बम प्रहरी संगठितभित्र निकै विवादित र बदनाम पात्र हुन् । उनी निकै लामो समयदेखि घुमुवाका रुपमा कार्यरत छन् । प्रहरीमा भर्ना भएर तालिम लिएपछि एकाध बर्ष बर्दी लगाएर ड्युटी गरेको र केही बर्ष लेखापाल भएका बरिष्ठ सई बम त्यसपछि लुम्बिनी प्रदेश अन्तर्गत नै सधैं सादा पोशाकमा घुमुवाका रुपमा कार्यरत रहँदै आएका छन् ।
नवलपरासी प्रहरी प्रमुख हुँदा नवलराज उपाध्यायसँग लेखापाल भै काम गरेका बमलाई उपाध्याय लुम्बिनी प्रदेशको डिआईजी हुँनासाथ परासीबाट प्रदेश कार्यालय लगेर घुमुवामा परिचालन गरेका थिए । उपाध्यायलाई अबैध असुलेर खुशी बनाएकाले उनीपछिका डिआईजीहरु रविन्द्रबहादुर धानुक, मुकुन्दराज आचार्य, कुवेर कडायतले पनि लगातार घुमुवा बनाएका थिए ।
आईजीपी बसन्त कुँवरले अबैध रकम असुलेर संगठनलाई नै बदनाम बनाएका कारण बमलाई कारबाही गरी कालीकोट पठाएका थिए । अर्का आईजीपी दीपक थापाले नेपालगंज तालिम केन्द्रमा काजमा ल्याएका थिए । भूपेन्द्र खत्री लुम्बिनीको डीआईजी भएपछि रावललाई प्रदेशको घुमुवा कमाण्डरमा छाने ।
बम जस्तै अवधेश पनि सधै अवसर पाएका बदनाम पात्र हुन् । बारम्बार प्रहरी संगठनले कार्वाही गरी सुध्रन चेतावनी दिदै पटक पटक सरुवा गरेको थियो । जिल्ला प्रहरी कार्यालयमा लामो समय घुमुवा भएर असुली आतंक मच्चाएका अवधेश तत्कालिन लुम्बिनी अञ्चल प्रहरी कार्यालयको घुमुवा हुँदै निकै बदनाम भएका थिए ।
डिआईजीको नाममा अहिले उनको क्यासिनो तथा तस्करहरुसँगको असुली अत्याधिक छ । रुपन्देही, नवलपरासी र कपिलवस्तु क्षेत्रबाट तस्करी गर्नेहरुसँग उनको बिशेष साँठगाँठ देखिन्छ । संगठन भित्रका दुई बदनाम घुमुवालाई तस्कर, कालो बजारिया, क्यासिनोहरुबाट महिनाबारी रकम उठाउने र बुझाउने मामिलामा बिशेष दख्खल भएकाले अबधेशलाई डीआईजी खत्रीले रोजेर परिचालन गरेको बुझिन्छ । उनले मियाँ मुसलमानलाई मर्चवार क्षेत्रमा सहयोगीको रुपमा पचिालन गरेका छन् । मियाँले मर्चवार क्षेत्रबाट हुने तस्करी संरक्षण गरी असुली गरिरहेका छन् ।
डिआईजी खत्रीले असुलीमा निकै बदनाम र कुख्यातलाई घुमुवा बनाउनुको उद्देश्य धेरै रकम उठाउन सक्ने हैसियत भएकैले हो । प्रदेश प्रहरी कार्यालयको आडमा जथाभावी असुली गर्दा प्रहरी संगठन नै बदनाम हुन पुगेको छ ।
यी घुमुवाले सीमा क्षेत्रका तस्करहरु तथा रुपन्देही, कपिलवस्तु र बाँकेका क्यासिनोहरुबाट मोटो रकम असुल्दै आएका छन् । प्रत्येक क्यासिनोबाट प्रति महिना १ लाख देखि डेढ लाख रुपैयाँ असुल्ने गरिएको छ । रुपन्देहीमा दश वटा र नेपालगन्जमा आठ वटा क्यासिनो संचालनमा छन् ।
क्यासिनोहरु नै घुमुवाले रकम असुल्ने बिशेष श्रोत हुन्, त्यसबाहेक वन पैदावार, नदी पैदावार, ठूला ब्यवसायिक घराना र तस्करहरु नै हुन् । व्यवसायीहरुका अनुसार रकम नदिए समान समातेर हैरान पार्छन् । कपिलवस्तुको कृष्णनगरदेखि महेशपुरसम्मका नाकाबाट हुने फलफुल, तरकारीदेखि कपडा, मोटरपार्टस, मेशिनरी सामान, कुखुरा जस्ता अबैध आयात हुने सामान ओसार पसारमा संलग्न दर्जनौं व्यवसायीले घुमुवाहरुलाई महिनाबारी रकम बुझाउँछन् ।
आइजीपी कार्कीले लुम्बिनी प्रदेशको डिआईजी हुँदा रोकिएका गाई गोरु तस्करी पनि अहिले शुरु भएको छ । पाल्पाको रामपुर, लुम्बिनी र सुस्ता क्षेत्रबाट हुने गोरु तस्करीमा यिनै घुमुवाहरुले सेटिङ्ग मिलाउने गरेका छन् । प्रदेश प्रहरीका घुमुवाको सेटिङ्गमा सुस्ता रामनगर एरियाबाट डुँगामार्फत दिनहुँ गोरु तस्करी हुने गरेको बताईन्छ ।
प्रहरी संगठनलाई स्वच्छ छविको बनाउने प्रण लिएका प्रहरी महानिरिक्षक दानबहादुर कार्कीले घुमुवा आतंक बन्द गर्न अहिलेसम्म पहलकदमी लिएका छैनन् । घुमुवाको आडमा भैरहेको अबैध असुलीका बिषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा डिआईजी खत्रीको मोबाईलमा सम्पर्क हुन सकेन भने आईजीपी कार्कीको मोबाईल उठेन ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका