रुपन्देही । कृष्णनगर नाकाबाट राजस्व छली गरिएका सामान लिएर बुटवल आउँदै गरेको एउटा मालबाहक कन्टेनर ट्रक कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालयमा बुझाएको छ । पूर्व(पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेबाट ना २ ख ३८७७ नम्बरको ट्रक गोरुसिंगे ईलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रिपेन्द्र कुमार सिंहका अनुसार जिरा, खुर्सानी, कपडा र जुत्ता बोकेका उक्त ट्रकमा रहेको सामान र बिलबिजक फरक परेपछि नियन्त्रणमा लिइएको हो । ६० लाख रुपैयाँ मूल्यका सामान, कन्टेनर ट्रक तथा दाङको घोराही उपमहानगरपालिका वडा नं. ३ बस्ने चालक छविलाल घर्ति मगरलाई थप अनुसन्धानका लागि राजस्व कार्यालय पठाइएको हो ।
राजस्व अनुसन्धान कार्यालय बुटवलले भने सामानको दावी गरी कार्यालयमा निवेदन परेको जनाएको छ । अबैध रुपमा भित्रिने सामानहरुमा सेटिङ्ग मिलाएर खाने गरेका कारण सरकारले दुई दिन अघि खारेज गर्ने भनिएको राजस्व कार्यालय बुटवलका प्रमुख राधेश्याम दाहालले सामानको दावी गरी एउटा फर्मको निवेदन परेको र आफु बाहिर भएकाले फर्मको नाम पछि जानकारी गराउने टेलिफोन सम्पर्कमा बताए ।






