भैरहवा । दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ रुपन्देहीमा आगामी बैशाख २ गतेदेखी सुरु हुने भएको छ । जिल्ला आर्थिक गणना कार्यालय रुपन्देहीको आयोजनामा आज भैरहवामा सम्पन्न सचेतना गोष्ठीमा सो कुराको जानकारी गराइएको थियो ।
जिल्ला आर्थिक गणना कार्यालय रुपन्देहीका प्रमुख विपिनकुमार पंजियारले चैत १ गतेदेखि असार मसान्तसम्म आर्थिक गणनाको अवधि तय गरिएको उल्लेख गर्दै हाल समन्वय समिति गठन, कार्यालय स्थापना, अनुगमन तथा गणक र सुपरिवेक्षक छनोटको कार्य भइरहेको बताउनुभयो । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म गणकहरू फिल्डमा खटिने र उक्त अवधिमा जिल्लामा १०६ जना गणक परिचालन गरिने जानकारी उहाँले दिनुभयो । आर्थिक गणनाको उद्देश्य, कार्यविधि र महत्वबारे प्रकाश पार्दै उहाँले राज्यको नीति निर्माणका लागि तथ्यपरक डाटा अत्यन्त आवश्यक हुने भएकाले सम्बन्धित सबै निकाय तथा व्यवसायीहरूले यथार्थपरक तथ्यांक उपलब्ध गराउँन आग्रह गर्नुभयो । पंजिकारका अनुसार रुपन्देहीका १६ वटा स्थानीय तहलाई दुई क्षेत्रमा विभाजन गरी गणना कार्य सञ्चालन गरिनेछ । तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकालाई क्षेत्र ‘ख’ तथा अन्य पालिकाहरूलाई क्षेत्र ‘क’ अन्तर्गत राखी दुई छुट्टाछुट्टै कार्यालय स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला आर्थिक गणना अधिकारी नन्दलाल कुर्मीले आर्थिक गणनासम्बन्धी विस्तृत प्रस्तुतीकरण गर्नुभयो । उहाँका अनुसार आर्थिक गतिविधिहरूलाई १८ वटा क्षेत्रमा वर्गीकरण गरी डाटा संकलन गरिनेछ । साथै पालिका र वडा स्तरमा सहजीकरण समिति गठन गरिएको छ, जहाँ पालिका प्रमुख÷अध्यक्ष र वडा अध्यक्ष संयोजक रहने व्यवस्था गरिएको छ । उहाँले तथ्यांक ऐन २०७९ को दफा १० अनुसार संकलित तथ्यांक गोप्य राखिने स्पष्ट पार्दै व्यवसायीहरूलाई निर्धक्क भएर आवश्यक विवरण उपलब्ध गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागीहरूले खुला सीमा व्यवस्थापन, भारतीय तथा विदेशी कामदारको विवरण, उद्योग–व्यवसाय दर्ता, अन्तरदेशीय व्यापारलगायत विषयमा जिज्ञासा राख्दै सुझाव प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथि आचार्यले उद्योगी–व्यवसायीहरूलाई आर्थिक गणनामा सक्रिय सहयोग गर्न आग्रह गर्दै कर तिरेर सञ्चालन भएका व्यवसायहरूलाई डराउनुपर्ने कुनै कारण नरहेको बताउनुभयो । ‘राज्यलाई सही तथ्यांक उपलब्ध गराउनु हाम्रो दायित्व हो, यसमा हिचकिचाउनु हुँदैन’ उहाँले भन्नुभयो ।
जिल्ला आर्थिक गणना समन्वय समितिका संयोजक तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यको प्रमुख आतिथ्यता तथा विभिन्न सरकारी कार्यालयका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत, उद्योगी–व्यवसायी, वडा अध्यक्ष तथा सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
नेपालमा पहिलो पटक २०७५ सालमा आर्थिक गणना गरिएको थियो । दोस्रो आर्थिक गणनालाई अझ व्यवस्थित, तथ्यपरक र व्यापक बनाउन यसपटक स्थानीय तहसम्म सहजीकरण संरचना विस्तार गरिएको कार्यालयले जनाएको छ ।






