भैरहवा, चैत १४ । उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आयोजित सहकारी शिक्षा तालिम शनिबार सम्पन्न भएको छ। संस्थाको शिक्षा उपसमितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सहकारीका सचिव अनिलकुमार ज्ञवालीको सञ्चालन, अध्यक्ष खिमबहादुर खत्रीको अध्यक्षता तथा कार्यक्रम संयोजक कृष्ण प्रसाद पोख्रेलको स्वागत मन्तव्य रहेको थियो। सिद्धार्थनगर नगरपालिकाका सहकारी शाखा प्रमुख कमलकान्त खनाल प्रमुख अतिथि रहनुभएको थियो भने उदयराज अधिकारी विशिष्ट अतिथि तथा राष्ट्रिय सहकारी बैंक भैरहवा शाखाका प्रमुखलगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा अध्यक्ष खत्रीले संस्थाको गतिविधि र भविष्यका योजनाबारे प्रकाश पार्नुभएको थियो। प्रमुख अतिथि खनालले सहकारीको सिद्धान्त, महत्व र प्रभावकारी सञ्चालनका विषयमा सहभागी शेयर सदस्यहरूलाई प्रशिक्षण दिनुभएको थियो। विशिष्ट अतिथि अधिकारीले सहभागीहरूलाई योग अभ्याससमेत गराउनुभएको थियो।
त्यसैगरी, अतिथिहरूले सहकारीमार्फत ऋण लिने प्रक्रिया, वित्तीय अनुशासन तथा संस्थालाई थप सुदृढ बनाउने उपायहरूबारे जानकारी दिएका थिए।
कार्यक्रममा १५० भन्दा बढी शेयर सदस्यहरूको सहभागिता रहेको कार्यक्रम संयोजक पोख्रेलले जानकारी दिनुभयो। कार्यक्रमको समापन लेखा उपसमिति संयोजक रामचन्द्र रेग्मीले गर्नुभएको थियो।






