भैरहवा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार फैज अहमद खाँले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ढिलाइ हुँदा सरकारसहित उद्योगी–व्यवसायीको अर्बौं लगानी जोखिममा परेको बताउनुभएको छ।
नेकपा रुपन्देही क्षेत्र नम्बर ३ ले भैरहवामा आयोजना गरेको उद्योगी–व्यवसायीहरूसँगको छलफल कार्यक्रममा बोल्दै उम्मेदवार खाँले अहिले सम्पूर्ण राजनीतिक दलहरूको साझा एजेण्डा नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन बनेको उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, “सबै पार्टीले आफ्नो प्रतिबद्धतापत्रमा विमानस्थल सञ्चालनको कुरा उल्लेख गरेका छन्। विमानस्थल सञ्चालन गर्नैपर्छ। तर हिजो दुईतिहाइ बहुमतको सरकार हुँदा किन सञ्चालन हुन सकेन? सरकारमा रहँदा वास्तविक पहल भयो कि भएन, त्यसको समीक्षा आवश्यक छ।”
खाँले विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आए हजारौं युवालाई रोजगारी सिर्जना हुने र समग्र अर्थतन्त्र चलायमान हुने बताउनुभयो। विमानस्थल नचल्दा होटल व्यवसायी लगायत पर्यटनसँग जोडिएका क्षेत्र सबैभन्दा बढी मारमा परेको उहाँको भनाइ थियो।
उहाँले उद्योगी–व्यवसायीका समस्या सबै मिलेर समाधान गर्नुपर्नेमा जोड दिँदै समस्या बुझ्ने र समाधानका लागि पहल गर्न सक्ने उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो। “जनताको सेवा गर्ने दृढ संकल्पका साथ म जनतामाझ आएको छु,” उहाँले भन्नुभयो।
कार्यक्रममा सहभागी व्यवसायीहरूले समेत विभिन्न जिज्ञासा र सुझाव राखेका थिए।
व्यवसायी दर्पण श्रेष्ठले नेकपा सरकारमा रहँदा के काम गर्यो भन्ने विषयमा जनस्तरमा प्रश्न उठिरहेको उल्लेख गर्दै आत्मसमीक्षा आवश्यक रहेको बताउनुभयो। अर्का व्यवसायी गिरिशचन्द्र त्रिपाठीले रुपन्देही–३ कै स्थानीय उम्मेदवार उठाइनु सकारात्मक भएको बताउँदै नयाँ पुस्ता (जेनेरेसन जी) का माग सम्बोधन हुने खालका कार्यक्रम आवश्यक रहेको धारणा राख्नुभयो।
खाद्यान्न व्यवसायी विरेन्द्र ज्ञवालीले विमानस्थल सञ्चालनबारे सबैले प्रतिबद्धता जनाए पनि कार्यान्वयनमा ढिलाइ भएको उल्लेख गर्नुभयो। उहाँले लुम्बिनीस्थित मायादेवी मन्दिर दर्शनका क्रममा प्रवेश शुल्क लिइनुको औचित्यमाथि पनि प्रश्न उठाउनुभयो।
उद्योगी चन्द्रमणि अधिकारीले रुपन्देही र विशेषगरी क्षेत्र नम्बर ३ को समग्र विकासमा ध्यान दिन आग्रह गर्नुभयो। मधेश आन्दोलनका बेला पनि बेलहिया नाका पूर्ण रूपमा बन्द नभएकाले स्थानीय नागरिकले प्रत्यक्ष–अप्रत्यक्ष लाभ पाएको स्मरण गराउँदै सीमावर्ती क्षेत्रको संवेदनशीलता बुझेर नीति बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
पर्यटन व्यवसायी किशोर जोशीले भैरहवालाई पर्यटनको ‘हब’ बनाउने स्पष्ट योजना सार्वजनिक गर्न आग्रह गर्नुभयो। लगानीमैत्री वातावरण र लगानी सुरक्षाको प्रत्याभूति आवश्यक रहेको उहाँको भनाइ थियो।
होटल व्यवसायी यादव प्रसाद आचार्यले पर्यटन प्रवर्द्धनका लागि रात्रीकालीन व्यवसाय अपरिहार्य रहेको उल्लेख गर्दै जनप्रतिनिधिले जिल्ला प्रशासन कार्यालय र व्यवसायीबीच समन्वयकारी भूमिका खेल्नुपर्ने बताउनुभयो।
त्यस्तै, पर्यटन व्यवसायी संजीव जोशीले भैरहवालाई पर्यटन केन्द्रका रूपमा स्थापित गर्न नियमित कार्यक्रम, महोत्सव र प्रचार–प्रसार अभियान सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा नेकपा रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज तीरबहादुर रोकाय (डार्बिन), नेताहरू मनिष कुमार जोशी, अनिल कुमार ज्ञवालीलगायतको उपस्थिति रहेको थियो।








