भैरहवा, फागुन १६ । रुपन्देही क्षेत्र नम्बर ५ बाट नेकपा (एमाले) का तर्फबाट आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार खिमलाल भट्टराईले आफ्नो मुख्य एजेन्डा योजनाबद्ध विकास, जनसेवा र जनताको जीवनमा रुपान्तरण रहेको बताएका छन्।
निर्वाचन प्रचार–प्रसारका क्रममा ३२ वटा वडाका करिब सयको हाराहारी गाउँमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिसकेको उल्लेख गर्दै भट्टराईले गाउँ–गाउँमा उत्साहजनक उपस्थिति र नागरिकको अगाध स्नेह, माया तथा विश्वास पाएको दाबी गरे। उनले आफूले अघि सारेका एजेन्डामा जनता विश्वस्त देखिएको र आफ्नो नेतृत्वलाई स्वीकार गरेको अनुभूति भएको बताए।
भट्टराईले विगतमा विकासका काम परम्परागत शैलीमा, जनताले मागेका साना–साना योजनामै सीमित भएको टिप्पणी गरे। अब यसरी मात्रै क्षेत्रको समग्र विकास सम्भव नहुने भन्दै उनले योजनाबद्ध र दीर्घकालीन दृष्टिकोणसहित विकास अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार सांसदको भूमिका नीति तथा कानुन निर्माणसँगै विकासका ठूला कार्यक्रम अघि बढाउने भएकाले साना पूर्वाधारदेखि राष्ट्रिय महत्वका परियोजनासम्म समन्वयात्मक ढंगले अघि बढाउनुपर्छ। घरअगाडिको बाटोको खाल्टो पुरिनु पनि आवश्यक भए पनि क्षेत्रको दीर्घकालीन समृद्धिका लागि ठूला परियोजनामा जानुपर्ने उनले बताए।
विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल रहेको लुम्बिनी क्षेत्र अझै पनि गरिबी, अशिक्षा र पछौटेपनको चक्रमा फसेको उल्लेख गर्दै भट्टराईले बस्ती विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार सरकारको ध्यान अहिलेसम्म मायादेवी मन्दिर परिसर र गुरुयोजना कार्यान्वयनमै केन्द्रित भएको देखिन्छ, तर अब आसपासका बस्ती र स्थानीय जनताको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याउन आवश्यक छ। लुम्बिनीको वास्तविक विकास भनेको यहाँका जनताको सुख, खुसी र जीवनमा परिवर्तन ल्याउनु नै भएको उनले बताए।
भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र सुरक्षा प्रणालीलाई सुदृढ गर्दै समग्र लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन हबका रूपमा विकास गर्ने लक्ष्य पनि उनले अघि सारे। पर्यटन प्रवर्द्धनमार्फत लुम्बिनीले राष्ट्रिय अर्थतन्त्रमा निर्णायक योगदान गर्न सक्ने उनको विश्वास छ। सही ढंगले पर्यटन विकास गर्न सके लुम्बिनीले नेपाललाई समृद्धितर्फ अघि बढाउन सक्ने उनले बताए।
लुम्बिनी नजिकै रहेको कक्रहवा नाकालाई पर्यटकीय भन्सार नाकाका रूपमा स्तरोन्नति गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले डिजिटल प्रणालीमार्फत सञ्चालनमा ल्याउने योजना रहेको बताए। डिजिटल लुम्बिनी अवधारणाअन्तर्गत फ्री वाइफाइ जोन स्थापना, आधुनिक सुरक्षा प्रणाली र प्रविधिमैत्री व्यवस्थापनमार्फत पर्यटकमैत्री वातावरण निर्माण गरिने उनले उल्लेख गरे। परम्परागत ढंगले मात्र पर्यटक भित्र्याएर अपेक्षित उपलब्धि हासिल नहुने भन्दै नयाँ सोच र प्रविधि प्रयोग आवश्यक रहेको उनको भनाइ छ।
निर्वाचन प्रतिस्पर्धाबारे बोल्दै भट्टराईले परम्परागत तथ्याङ्क र वर्तमान अवस्थालाई आधार मान्दा नेपाली कांग्रेससँग मुख्य प्रतिस्पर्धा हुने आकलन गरे। सामाजिक सञ्जालमा केही दल बलियो देखिए पनि फिल्डमा त्यस्तो अवस्था नदेखिएको उनले दाबी गरे। कतिपय स्थानमा दल परिवर्तनका घटना भए पनि समग्र रूपमा एमाले बलियो अवस्थामा रहेको उनको भनाइ छ।
क्षेत्रका साना–ठूला सबै समस्या समाधानका लागि समन्वयात्मक नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै भट्टराईले आफू त्यसका लागि प्रतिबद्ध रहेको बताएका छन्।






