रुपन्देही। अस्पतालको व्यस्त ओपिडी, बिरामीको लामो लाइन र चौबीसै घण्टा सेवामा खटिने वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापा यतिबेला सेतो एप्रोनभन्दा फरक पहिरनमा रुपन्देहीका सडक र बस्तीहरूमा देखिन थालेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थापा फागुन ४ गतेदेखि निरन्तर घरदैलो अभियानमा सक्रिय छन्।
क्षेत्रका ३६ वडामध्ये २९ वटा वडा पुगिसक्दा उनको अभियानले राजनीतिक मात्र होइन, मानवीय आयामसमेत समेटेको देखिन्छ। विशेष गरी विपन्न र पिछडिएका बस्तीहरूमा उनको टोली पुग्दा स्थानीयको उत्साह उल्लेख्य देखिएको छ।
सियारी गाउँपालिका–२ का रामचन्द्र कहार पुराना दलप्रति आक्रोश व्यक्त गर्दै भन्छन्, “वर्षौंसम्म पुराना दललाई हे¥यौँ, तर भ्रष्टाचार र बेथितिबाहेक खासै परिवर्तन देखिएन। अब नयाँ र काम गरेर देखाउने नेतृत्व चाहिएको छ। त्यसैले यसपटक घण्टीकै उम्मेदवारलाई मत दिन्छौँ।”
सिद्धार्थनगर नगरपालिका–९ निवासी सावित्रीदेवी केसी पनि डा. थापाजस्ता बौद्धिक व्यक्तित्व राजनीतिमा आउनुलाई सकारात्मक रूपमा लिन्छिन्। “यसपालि आफ्नो क्षेत्रबाट पढेलेखेका, अनुभवी र स्पष्ट दृष्टिकोण भएका उम्मेदवारलाई जिताएर विकास र रोजगारीको वातावरण बनोस् भन्ने चाहना छ,” उनले भनिन्।
मतदाताको अपेक्षा भने केवल नीतिगत भाषणमा सीमित छैन। सियारी–६ की लक्ष्मी भण्डारी राज्यको उपस्थितिको अभावप्रति गुनासो गर्छिन्। “बाढीपीडितको समस्या होस् वा विदेशमा ज्यान गुमाएकाको शव ल्याउन नसक्ने परिवार, सहयोग गर्ने कोही देखिँदैन। सामान्य जुकाको औषधि पनि गाउँमा पाइँदैन। बजेट आएको भन्छन्, तर आधा वर्षमै सकिन्छ,” उनले भनिन्।
यसपटकको निर्वाचनमा ‘बालेन शाह’ को प्रभावसमेत देखिएको मतदाताको भनाइ छ। सिद्धार्थनगर–९ की सिमा सुनार भन्छिन्, “हामी पुराना पार्टीबाट आजित भइसक्यौँ। बालेन यहाँ उम्मेदवार नभए पनि नयाँ सोच र धारका उम्मेदवारप्रति हाम्रो झुकाव छ। डाक्टर थापाबाट केही परिवर्तन हुन्छ कि भन्ने आशा छ।”
घरदैलो अभियानका क्रममा आफूले व्यापक जनसमर्थन पाएको डा. थापाको दाबी छ। “जनताका माग आकाशका तारा होइनन्। गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र स्थानीय रोजगारी उनीहरूको आधारभूत अधिकार हो,” उनले भने, “पाँच वर्षको कार्यकालमा यी क्षेत्रमा ठोस सुधार सम्भव छ।”
डा. थापाले सार्वजनिक गरेको कार्ययोजनाले मतदातामा केही आशा जगाएको देखिन्छ। तर अन्ततः रुपन्देही–३ का मतदाताले यो निर्वाचनलाई केवल प्रतिनिधि चयनको प्रक्रिया मात्र नभई, पद्धति र राजनीतिक संस्कार परिवर्तनको अवसरका रूपमा लिएका छन्।
अब बाँकी वडामा अभियान विस्तार गर्दै डा. थापाको टोली चुनावी मैदानमा सक्रिय छ। मतदाताको अपेक्षा, नयाँ अनुहारप्रतिको भरोसा र परिवर्तनको चाहनाले यसपटकको परिणाम कता मोडिन्छ भन्ने चासो भने बढ्दो छ।






