भैरहवा । नेकपा एमालेको तर्फबाट रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार बासुदेव घिमिरेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्ने आफ्नो मुख्य प्राथमिकतामा रहेको बताउनुभएको छ । उहाँले यो विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुँदा रुपन्देहीमा धेरै अवसरहरु सिर्जना हुने उल्लेख गर्नुभयो ।
निर्वाचन प्रचार प्रसारका क्रममा भैरहवामा आयोजित पत्रकार सम्मेलनमा उम्मेदवार घिमिरेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा दिगो रूपमा सञ्चालनमा ल्याउन नीतिगत प्रबन्ध गर्ने आफ्नो महत्वपूर्ण चुनावी एजेण्डा रहेको बताउनुभयो ।
निर्वाचन क्षेत्रमा पर्ने रणनीतिक र महत्वपूर्ण सडकहरूको स्तरोन्नति, सामुदायिक विद्यालय तथा क्याम्पसहरूको भौतिक तथा शैक्षिक गुणस्तर सुधार, सरकारी स्वास्थ्य संस्थाको प्रभावकारितामा वृद्धि, भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्याको दिगो समाधान, समाजमा पछि परेको वर्ग समुदायको उत्थान तथा मूलप्रवाहीकरणलाई आफूले प्राथमिकतामा राखेर काम गर्ने घिमिरेले जानकारी दिनुभयो ।
किसानलाई समयमै मलखाद, बिउबिजन र प्राविधिक परामर्श तथा सिँचाई सुविधा सहित सन्तुलित र समन्यायिक विकासलाई प्राथमिकताका राखेको उहाँले बताउनुभयो । ‘यी सबै कामका लागि म जनमैत्री कानुन निर्माणका लागि आफू सधैं प्रयत्नशील रहने छु’ घिमिरेले भन्नुभयो ।
आफू भ्रष्टाचारमुक्त, पारदर्शी प्रशासन र राजनीतिको पक्षधर रहेको स्पष्ट पार्दै नेता घिमिरेले स्थानीय तहमा स्थापित गरेको कार्यक्षमतालाई मुलुकको नीति निर्माण गर्ने थलोमा पु¥याएर रूपन्देही क्षेत्र नं. ३ लाई देशकै समृद्ध र नमुना क्षेत्र बनाउन आफू दृढ संकल्पित रहने दावी गर्नुभयो ।
रुपन्देही निर्वाचन क्षेत्र नं. ५ का निवर्तमान सांसद समेत रहेका घिमिरेले आफूले बिगतमा संसदमा यस क्षेत्रका समस्या जोडदार ढंगले उठाएको र विकासका लागि हरसंभव प्रयास गरेको पनि जानकारी दिनुभयो ।
आफूलाई संघ, प्रदेश र स्थानीय सरकारबीच कसरी सहकार्य र समन्वयमा काम गर्न सकिन्छ भन्ने कुराको जानकारी रहेको उल्लेख गर्दै नेता घिमिरेले विकास भाषणले होइन, प्रणालीले हुने र आफू त्यही प्रणाली निर्माणमा केन्द्रीत हुने बताउनुभयो । तिलोत्तमा नगरपालिकामा नगरप्रमुख हुँदा घिमिरेको कार्यदक्षताका कारण देशभरमै नगरपालिका उत्कृष्ठ बनेको थियो ।
क्षेत्र नं. ३ समृद्ध बनाउने घिमिरेको प्रतिवद्धता
गौतमबुद्ध विमानस्थल सञ्चालन मुख्य प्राथमिकता








