भैरहवा । आसन्न निर्वाचन केन्द्रीत बिषयमा सुरक्षा निकायसँगको छलफल पछि नेपाली सेनाको हेलिकोप्टरबाट बुद्ध जन्मस्थल लुम्बिनी पुगेकी प्रधानमन्त्री शुशिला कार्कीले लुम्बिनीस्थित ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुको अवलोकन गर्नुभएको छ ।
लुम्बिनीमा हेलिकोप्टरबाट उत्रिएपछि सबैभन्दा पहिले भारतीय सहयोगमा बनेको बौद्ध संग्रहालयको अवलोकन गरेकी कार्कीले अन्तर्राष्ट्रिय सभा हल हेरेपछि थाई विहार, शान्तिद्धीप हुँदै मायादेवी मन्दिर पुग्नुभएको थियो । मायादेवी मन्दिरभित्र रहेको ऐतिहासिक शिला र मन्दिर अवलोकन तथा पूजा गर्नुका साथै सँगै रहेको अशोक स्तम्भको पनि अवलोकन गर्नुभएको थियो ।
लुम्बिनी विकास कोषकी संरक्षक समेत रहनुभएकी प्रधानमन्त्री कार्कीलाई विश्व सम्पदा सूचीमा सूचिकृत लुम्बिनी र यसको महत्व, लुम्बिनी गुरुयोजना बारे जानकारी गराइएको थियो ।
प्रधानमन्त्री कार्कीले आगन्तुक पुस्तिकामा पनि हस्ताक्षर गर्नुभएको थियो । प्रधानमन्त्री ज्यूले लुम्बिनीको अवलोकन गरी पछिल्लो अवस्थाबारे जानकारी लिनुभयो – कोषका बरिष्ठ निर्देशक ज्ञानिन राईले भन्नुभयो । कार्कीलाई लुम्बिनीको महत्वबारे कोषका सदस्य सचिव दीपक श्रेष्ठ, कार्यकारी सदस्य श्याम रोक्का, विश्व पौडेल लगायतले जानकारी दिदै स्वागत गर्नुभएको थियो ।
सचिवालयका सदस्यहरु र श्रीमानसहित लुम्बिनी आउनुभएकी कार्कीले उड्नुअघि शान्ति स्तुपा अवलोकन तथा कासाई होटलमा खाना खानुभएको थियो ।








