नमुना ईङ्गलिस बोर्डिङ्ग स्कूलको ३४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, वेवरीस्थित नमुना ईङ्गलिस बोर्डिङ्ग स्कूलले आफ्नो स्थापनाको ३४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ।

विद्यालय व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष लिलबहादुर कामुको अध्यक्षता तथा पूर्व अध्यक्ष एवं शैक्षिक–सामाजिक व्यक्तित्व तारा प्रसाद छन्तेलको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा शिक्षक तथा शेयर सदस्य श्रीधर मास्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा विद्यालयले वार्षिक रूपमा सञ्चालन गर्दै आएका विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई मेडल तथा पुरस्कार प्रदान गरिएको थियो। साथै विद्यार्थीहरूले नृत्य र गायन प्रस्तुत गरी कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए।

अभिभावक दिवसको अवसरमा विद्यालय प्राङ्गणमा ‘फुड फेस्टिभल (क्याफे)’ पनि सञ्चालन गरिएको थियो। सहायक प्रिन्सिपल गौतम चौधरीका अनुसार चार समूहले आ–आफ्ना क्याफेमार्फत विभिन्न समुदायका परिकारहरू प्रस्तुत गरेका थिए। एभरेष्ट क्याफेमा ब्राह्मण तथा क्षेत्री समुदाय, धवलागिरी क्याफेमा मगर समुदाय, मनास्लु क्याफेमा थारु समुदाय र अन्नपूर्ण क्याफेमा नेवारी समुदायका परिकार राखिएको थियो। यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा व्यवहारिक तथा व्यवसायिक ज्ञान अभिवृद्धि हुने उनले बताए।

कार्यक्रममा प्राचार्य कमल कोइरालाले विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै आगामी योजनासहितको मार्गचित्र सार्वजनिक गरेका थिए। उनले विद्यालयले शैक्षिक नतिजासँगै व्यवहारिक ज्ञान, खेलकुद तथा अन्य सिर्जनात्मक गतिविधिमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको जानकारी दिए।

प्रमुख अतिथि छन्तेलले विद्यालयले शैक्षिक गुणस्तर, व्यवहारिक शिक्षा र अतिरिक्त क्रियाकलापमा उल्लेखनीय सुधार गर्दै सकारात्मक छवि निर्माण गर्न सफल भएकोमा खुशी व्यक्त गरे। अध्यक्ष कामुले अभिभावक र अतिथिहरूलाई धन्यवाद दिँदै विद्यालयको शैक्षिक गुणस्तर थप उकास्न सहयोग र सुझावको अपेक्षा व्यक्त गरे। उनले संस्था र विद्यार्थीको उज्ज्वल भविष्यका लागि निरन्तर समर्पित रहने प्रतिबद्धता समेत जनाए।

सोही अवसरमा शैक्षिक सत्र २०८१ मा एसईई परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सफल शिक्षकहरूलाई सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन कक्षा ८ का विद्यार्थी शिवानी सापकोटा र दिनेश सिंजालीले गरेका थिए भने सहजीकरण शिक्षिका नारायणी काफ्लेले गरेकी थिइन्।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका