भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देही क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. लेख जंग थापाले आफ्नो चुनावी अभियानलाई थप सशक्त र व्यवस्थित बनाउँदै लगेका छन्।
चुनावी मैदानमा होमिएका थापाले घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन्। रूपन्देही क्षेत्र नम्बर–३ निर्वाचन परिचालन समितिका चुनावी कमाण्डर नारायण प्रसाद भण्डारीका अनुसार उम्मेदवार थापाले विभिन्न टोल–टोलमा पुगेर स्थानीयका समस्या, अपेक्षा र सुझाव संकलन गरिरहेका छन्। उनले विकास, सुशासन र पारदर्शितालाई मुख्य एजेन्डा बनाएर मतदातासामु प्रस्तुत भइरहेको भण्डारीले बताए।
अभियानलाई प्रभावकारी बनाउन क्षेत्रस्तरीय संयन्त्र गठन, युवा तथा महिला स्वयंसेवक परिचालन, सामाजिक सञ्जालमार्फत जनसम्पर्क विस्तार तथा विषयगत अन्तरक्रिया कार्यक्रम सञ्चालनलाई तीव्रता दिइएको भण्डारीको भनाइ छ। उनका अनुसार चुनाव केवल जित्ने माध्यम नभई नागरिकका मुद्दा सम्बोधन गर्ने अवसर भएकाले अभियानलाई नीति तथा कार्यक्रम केन्द्रित बनाइएको हो।
डा. थापाले शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै क्षेत्र नम्बर–३ लाई नमुना निर्वाचन क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
रास्वपाका स्थानीय नेता–कार्यकर्ताले पनि अभियानलाई उत्साहजनक रूपमा अघि बढाइरहेको जनाएका छन्। पछिल्लो समय विभिन्न वडामा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा मतदाताको उल्लेखनीय सहभागिता देखिएको छ।
चुनाव नजिकिँदै जाँदा उम्मेदवार थापाले आफ्नो अभियानलाई अझ व्यापक बनाउँदै सबै वर्ग र समुदायसम्म पुग्ने रणनीति अपनाएको भण्डारीले जानकारी दिए।









