भैरहवा । भारत–नेपाल सीमावर्ती क्षेत्रको आर्थिक, औद्योगिक तथा पर्यटन विकासलाई गति दिन लुम्बिनी प्रेस क्लब, नेपालले भारत सरकारसँग उच्चस्तरीय पहलको माग गरेको छ। क्लबले भारत सरकारका केन्द्रीय वित्त राज्यमन्त्री पंकज चौधरीलाई औपचारिक अनुरोधपत्र बुझाउँदै द्विपक्षीय सहकार्यलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो।
भारतको महाराजगन्जमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष कमल रायमाझीको हस्ताक्षरसहित पेश गरिएको पत्रमा सीमावर्ती क्षेत्रको आर्थिक गतिविधिलाई व्यवस्थित र चलायमान बनाउन समन्वित योजना आवश्यक रहेको उल्लेख छ। भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा भारतीय लगानी भित्र्याउन तथा उद्योग सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गर्न भारत सरकार अग्रसर हुनुपर्ने माग गरिएको छ।
यसैगरी, बेलहिया–सुनौली नाकामा निर्माण सम्पन्न भइसकेको एकीकृत जाँच चौकी (आईसीपी) तत्काल सञ्चालनमा ल्याउन आवश्यक पहल गर्न आग्रह गरिएको छ। आईसीपी सञ्चालनले व्यापार सहजीकरण, भन्सार प्रक्रिया सरलीकरण र आवागमन व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
क्लबले नेपाल–भारत सीमाक्षेत्रमा क्रस–बोर्डर पर्यटन प्रवर्द्धनका लागि विशेष योजना ल्याउन, नेपालमा बढ्दो औद्योगिकीकरणमा भारतीय लगानीकर्तालाई प्रोत्साहन गर्न तथा आर्थिक सहकार्यलाई संस्थागत ढंगले विस्तार गर्न सुझाव दिएको छ।
पत्रकारिता क्षेत्रको सहकार्य अभिवृद्धि गर्न ‘क्रस–बोर्डर जर्नालिज्म एकेडेमी’ स्थापना गर्ने प्रस्ताव पनि अघि सारिएको छ। सो एकेडेमी महाराजगन्ज प्रेस क्लबको सहकार्यमा सञ्चालन गर्न भारत सरकारको सहयोग अपेक्षित रहेको उल्लेख गरिएको छ।
यस्तै, भगवान बुद्धसँग सम्बन्धित लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगरलाई समेटेर ‘बुद्ध सर्किट’ निर्माण गर्न साझा पहल आवश्यक रहेको जनाइएको छ। यसबाट बौद्ध पर्यटन प्रवर्द्धनसँगै दुवै देशको सांस्कृतिक सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।
लुम्बिनी प्रेस क्लबले सीमावर्ती क्षेत्रको समग्र विकासले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै सकारात्मक र शीघ्र पहलको अपेक्षा गरेको जनाएको छ।
सीमावर्ती विकास र सहकार्य विस्तार गर्न भारतसँग लुम्बिनी प्रेस क्लबको पहल

गौतमबुद्ध सन्देश








