उम्मेदवार, पार्टी र विकास : रुपन्देही–३ मा एमालेको स्पष्ट जित्ने आधार

लक्ष्मी के.सी.

आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । रुपन्देही जिल्लाको क्षेत्र नम्बर ३ को निर्वाचनलाई हेर्दा यसपटकको प्रतिष्पर्धा केवल नाराको मात्र छैन । उम्मेदवार, पार्टी र पार्टीले गरेका विकास कार्यको समग्र मूल्यांकनको रूपमा अघि बढिरहेको देखिन्छ । यही सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) यस क्षेत्रमा बलियो आधारसहित प्रस्तुत भएको छ ।
क्षेत्र नम्बर ३ मा ७१ हजार २ सय ५८ पुरुष, ६८ हजार ७ सय ७५ महिला र २ अन्य गरी १ लाख ४० हजार ३५ जना मतदाता रहेका छन् । विगतका निर्वाचन र वर्तमान राजनीतिक अवस्थाका आधारमा करिब ७० प्रतिशतको हाराहारीमा मतदान हुने अनुमान गर्न सकिन्छ । बदर मत घटाउँदा करिब ९० हजार भन्दा बढी सदर मत निर्णायक हुनेछन् । यस्तो परिस्थितिमा चुनावी नतिजा क्षणिक भिड, सामाजिक सञ्जालको लोकप्रियता वा भावनात्मक उचालो भन्दा बढी स्थायी संगठन र विश्वसनीय विकल्पमा निर्भर रहन्छ ।
यही बिन्दुमा नेकपा (एमाले) को शक्ति स्पष्ट देखिन्छ । एमालेसँग यस क्षेत्रमा वडा–वडा तहसम्म फैलिएको सुदृढ संगठन, सक्रिय पार्टी सदस्यता र अनुशासित नेता–कार्यकर्ता संरचना छ । पार्टी सदस्यता केवल संख्यात्मक उपलब्धी होइन, ती सदस्यहरू स्थानीय समाजमा जरा गाडेर बसेका, जनसम्पर्कमा अनुभवी र मतदाता परिचालनमा सक्षम छन् । यही संगठनात्मक क्षमता एमालेको चुनाव जित्ने प्रमुख आधार बनेको छ ।
उम्मेदवारबारे कुरा गर्दा बासुदेव घिमिरे विकास, प्रशासन र नीति निर्माण तीनै तहको अनुभव बोकेका नेता हुनुहुन्छ । । तिलोत्तमा नगरपालिकाको प्रमुख (मेयर) को रूपमा रहँदा उहाँले नगरको समग्र रूपान्तरणमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभयो । सडक सञ्जालको विस्तार, शहरी पूर्वाधार, सार्वजनिक सेवा प्रवाहको सुधार, वित्तीय अनुशासन र योजनाबद्ध विकास घिमिरे नेतृत्वको कार्यकालका प्रमुख उपलब्धी मानिन्छन् । ती कामहरू आज पनि तिलोत्तमाको विकास यात्रामा देख्न सकिन्छ ।
संघीय संसद्को प्रतिनिधि (प्रतिनिधि सभा सदस्य) का रूपमा उहाँले राष्ट्रिय नीति निर्माणसँगै आफ्ना क्षेत्रका सवालहरू केन्द्रसम्म पुर्याउने भूमिका निर्वाह गर्नुभयो । विकास बजेटको सुनिश्चितता, दीर्घकालीन योजनामा क्षेत्रको सहभागीता र जनताको सरोकारका विषय संसदमा उठाउने काममा उहाँ सक्रिय रहनुभयो । स्थानीय सरकारदेखि संघीय तहसम्मको अनुभव भएका उम्मेदवारका रूपमा उहाँ नीति र व्यवहारबीचको दूरी बुझ्ने नेता मानिनुहुन्छ ।
पार्टीगत हिसाबले हेर्दा नेकपा (एमाले) ले देशभर विकास, स्थायीत्व र सुशासनलाई राजनीतिक एजेण्डाको केन्द्रमा राख्दै आएको छ । एमाले नेतृत्वका सरकारहरूका पालामा पूर्वाधार विकास, सडक, उर्जा, खानेपानी, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका क्षेत्रमा ठोस उपलब्धी भएका तथ्यहरू सर्वविदित छन् । विकासलाई नारामा मात्रै सीमित नगरी संस्थागत र दीर्घकालीन योजनामा रूपान्तरण गर्ने क्षमता एमालेको पहिचान नै बनेको छ ।
रुपन्देही क्षेत्र नम्बर ३ पनि एमालेले अघि सारेको विकास दृष्टिकोण कृषि, साना तथा मध्यम व्यवसाय, रोजगारी र पूर्वाधारसँग जोडिएको छ । उम्मेदवार स्वयं कृषक र व्यवसायिक अनुभवबाट खारिएका व्यक्ति हुनुभएकाले विकासका एजेण्डा कागजी होइन, व्यवहारिक छन् । यही कारणले मतदाताले उम्मेदवार र पार्टीबीच विचार र कामको निरन्तरता देखिरहेका छन् ।
अन्ततः चुनावको निर्णायक क्षणमा मतदाता कसले के भने भन्दा पनि कसले के गर्यो भन्ने आधारमा निर्णय गर्छ । नेकपा (एमाले)कोतर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बासुदेव घिमिरेको कार्यसम्पादन, पार्टीको संगठनात्मक शक्ति र पार्टीले गरेका विकास केन्द्रित कामहरूको संयोजन नै रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेको जीतको सबैभन्दा बलियो आधार बनेको छ ।हालको राजनीतिक परिदृश्यमा सबै प्रमुख दलहरू आ–आफ्ना अवसर र चुनौतीसँग जुधिरहेका छन्। एमाले अझै पनि सुदृढ संगठन, नेतृत्वको प्रभाव र पूर्ववर्ती विकास परियोजनाको कारण केही बलियो देखिन्छ, तर जेन जेड आन्दोलनपछि युवापुस्तामा देखिएको असन्तुष्टि यसका लागि ठूलो चुनौती बनेको छ। त्यस्तै, नेपाली कांग्रेसले परम्परागत लोकतान्त्रिक छवि र मध्यम वर्गीय समर्थनलाई टिकाइराखेको भए पनि नेतृत्वको अस्पष्टता र आन्तरिक विभाजनले यसको विश्वसनीयतामा असर पारेको छ। राप्रपा भने धर्म, राष्ट्रियता र नयाँ विकल्पको रूपमा उदाउँदै युवा मतदाताको एक हिस्सा आकर्षित गर्न खोज्दैछ, तर व्यवहारिक नीति र स्थायित्वको अभाव देखिन्छ। हालैका जेन जेड आन्दोलनले परम्परागत दलहरू सबैप्रति प्रश्न उठाएको छ, किनभने यो पुस्ता (करिब ३५–४०% मतदाता) अब परिवर्तन, पारदर्शिता र जवाफदेहिताको खोजीमा छ। यसैले आगामी निर्वाचनमा जेन जेड मतदाताको धारणा र सहभागिता नै देशको राजनीतिक सन्तुलन निर्धारण गर्ने निर्णायक तत्व बन्ने देखिन्छ।
(के.सी. एमाले रुपन्देही जिल्ला कमिटी सदस्य हुनुहुन्छ)

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका