भैरहवा ।नेकपा एमालेका केन्द्रीय सदस्य तथा आसन्न निर्वाचनका लागि गुल्मी क्षेत्र नं. १ का उमेदवार प्रदीप ज्ञवालीले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना सम्बन्धि मुद्धाको सुनुवाई छिटो गर्नुपर्नेमा जोड दिनुभएको छ । बुटवलमा गुल्मीका कार्यकर्ताहरुसँग बोल्दै उहाँले बिगतका नजीर तथा गत भदौ ३० मा जसरी संसद विघटन भएको छ, त्यस हिसावले संसद पुनस्र्थापना हुने विश्वास व्यक्त गर्नुभयो ।
‘संसद विघटन कुनै पनि हिसावले कानुन सम्बत छैन, संसद पुनस्र्थापना हुनुपर्छ’( ज्ञवालीले भने (‘हामीलाई विश्वास छ, संसद पुनस्र्थापना हुन्छ, सर्वोच्चले यसलाई छिटो प्रकृयामा लगेर टुंगो लगाओस् ।’
उहाँले संसद पुनस्र्थापना भए सबै दलहरुको सहमतिमा सर्वपक्षीय सरकार बनाएर समस्या समाधान खोजिने बताउनुभयो । सर्वपक्षीय सरकार बनाउने, जेनजीसँग वार्ता गरी समस्याको समाधानका लागि आवश्यक परे संविधान नै संशोधन गर्ने र चुनावमा जाने एमालेको रोडम्याप बारे ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँले पपुलिज्मको वेभले देशलाई निकास नदिने दावी गर्नुभयो । देशको वस्तुस्थिति एकातिर रहेको र सामाजिक सञ्जालहरुमा हावा प्रचार हुने गरेको भन्दै नेता ज्ञवालीले असन्तोष प्रकट गर्नुभयो ।
नेपाललाई सधैं प्रयोगशाला बनाउने प्रयत्न भएको पनि उहाँले जिकिर गर्नुभयो । (’कहिले माओवादीका नाममा, कहिले पहिचानका नाममा त कहिले नयाँ पुस्ताको नाममा प्रयोगशाला बनाइएको छ‘ ज्ञवालीले भन्नुभयो ।
’माओवादी विद्रोहपछि देशभरी १०८ वटा हतियारधारी समुह सक्रिय भएका थिए, त्यसका अवशेष अझै बाँकी छन्,‘ नेता ज्ञवालीले भन्नुभयो, ’अहिलेको विध्वंसको अवशेष पछि पछिसम्म देखिनेछ, तसर्थ निर्वाचनले देश बनाउनेहरुलाई जिताउन जरुरी छ ।‘
संसद पुनस्र्थापना हुने विश्वास छ : नेता ज्ञवाली

गौतमबुद्ध सन्देश








