भैरहवा । सि.बि. पब्लिक हाई स्कुल भैरहवाकी संस्थापक प्राचार्य स्वर्गीय शरमिष्ठा क्षेत्री पन्तको स्मृतिमा `स्व. शरमिष्ठा क्षेत्री पन्त स्मृति अक्षय कोष´ स्थापना तथा समुद्घाटन गरिएको छ।
विद्यालयमा अध्ययनरत जेहेन्दार, मेहनती तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई लक्षित गरी स्थापना गरिएको उक्त अक्षय कोषबाट हरेक वर्ष सरस्वती पूजाको अवसरमा कार्यविधि तयार गरी छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री पुनम क्षेत्री न्यौपाने तथा पूर्व अध्यक्ष एवं वरिष्ठ समाजसेवी श्री दीपक क्षेत्री न्यौपानेले आफ्नो वैवाहिक जीवनको ५०औँ वार्षिकोत्सव (स्वर्ण जयन्ती) को अवसरमा रु. १ लाख रकम प्रदान गरी अक्षय कोष स्थापना गर्नुभएको हो। उहाँहरूले आगामी वर्षहरूमा पनि कोषमा नियमित रूपमा रकम थप्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। पुनम क्षेत्री न्यौपाने र दीपक क्षेत्री न्यौपाने स्व. शरमिष्ठा क्षेत्री पन्तका दिदी–भिनाजु हुनुहुन्छ।
त्यसैगरी, संस्थापक प्राचार्यकि बहिनी तथा उमस्रिपी कलेज, सिलाङका प्रिन्सिपल नम्रता क्षेत्री जोशी र ज्वाइँ तथा एन.इ.एच.यु. विश्वविद्यालयका प्राध्यापक एवं वैज्ञानिक डा. सन्ताराम जोशीले समेत आजै उक्त कोषमा रु. ५० हजार सहयोग प्रदान गर्दै आगामी दिनमा पनि थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
अक्षय कोषका संरक्षकमा पुनम क्षेत्री न्यौपाने र दीपक क्षेत्री न्यौपाने रहनुभएको छ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष दामोदर शर्मा घिमिरे, सिद्धार्थनगर नगरपालिकाका पूर्व नगर उपप्रमुख उमा काफ्ले, विद्यालय सञ्चालन समितिका अध्यक्ष लेखनाथ भण्डारी लगायतको उपस्थिति तथा मन्तव्य रहेको थियो ।
कार्यक्रमको सञ्चालन विद्यालयका प्रिन्सिपल उदय कुमार मल्लिकले गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक तथा पूर्व विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।









