भैरहवा, माघ १ । भैरहवास्थित गुलमोहर रेस्टुरेन्टले माघे संक्रान्तिको अवसरमा माघी उत्सव कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा थारु समुदायका परम्परागत खानाका परिकार तथा माघी विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
माघी उत्सवमा थारु समुदायको मौलिक संस्कृति, भेषभूषा र खानाका परिकारहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमले स्थानीय संस्कृति संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने संचालक संजीव शर्मा रेग्मीले बताउनुभयो । उहाँले रुपन्देही जिल्लामा थारु समुदायलाई धरतीपुत्रको रूपमा लिइने उल्लेख गर्दै यस्ता सांस्कृतिक कार्यक्रमले भैरहवालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहयोग पुग्ने बताउनुभयो ।
उहाँले आर्थिक गतिविधि चलायमान बनाउन भौतिक पूर्वाधार मात्र नभई स्थानीय खानाको पहिचान, सांस्कृतिक सम्पदा र परम्परागत जीवनशैलीलाई पर्यटनसँग जोड्न आवश्यक रहेको बताउनुभयो । ‘जिल्लामा थारु लगायतका स्थानिय संस्कृतिलाई अघि बढाउन सके पर्यटनका धेरै सम्भावना खुल्छन्, यही उद्देश्यले माघी उत्सव आयोजना गरिएको हो,” उहाँले भन्नुभयो ।
रेग्मीले भैरहवाको मौलिक संस्कृति र पहिचानसँग जोडेर पर्यटक भित्राउनुपर्ने धारणा राख्दै बहुभाषी, बहुजातीय र सांस्कृतिक विविधता बोकेको रुपन्देही जिल्ला पर्यटन विकासका दृष्टिले अत्यन्त सम्भावनायुक्त रहेको बताउनुहुन्छ ।
सालैजो, रोँधीजस्ता लोकसंस्कृति तथा छिमेकी जिल्लासँग जोडिएका सांस्कृतिक सम्पदालाई पहिचानका रूपमा अघि बढाउन सके भैरहवाको पर्यटन क्षेत्र थप मजबुत हुने उहाँको भनाई छ ।
भैरहवाको गुलमोहर रेस्टुरेन्टमा माघी उत्सव, थारु संस्कृति प्रर्वद्धनमा जोड

गौतमबुद्ध सन्देश








