भैरहवा । होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राजेश महोत्राले पर्यटन प्रवर्द्धन, व्यवसायी सशक्तीकरण तथा रुपन्देहीलाई होटलै–होटलको शहरका रूपमा विकास गर्ने लक्ष्यसहित आफ्नो कार्यकालका प्रतिबद्धता सार्वजनिक गरेका छन् । महोत्रा, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको यही पुस ५ गते सम्पन्न १२ औ बार्षिक साधारणसभा तथा सातौ अधिवेसनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्ष महोत्राका अनुसार यस क्षेत्रमा ठूला–ठूला सभा, सम्मेलन तथा महाधिवेशन आयोजना हुँदा आगन्तुक संघ–संस्थालाई आवास र खानाको व्यवस्थापन सहज बनाउन व्यवसायी, सरकारी निकाय र सरोकारवालासँग सहकार्य गरी सहुलियतपूर्ण सेवा उपलब्ध गराइने प्रतिबद्धतामा उल्लेख छ । जिल्लाको कुल पर्यटक अटाउने क्षमता स्पष्ट गर्न होटल तथा रेष्टुरेन्टहरूको अभिलेख तयार गरी सानाठूला सबै होटललाई संगठनमा आबद्ध गरिने योजना रहेको उनले बताए ।
पर्यटनमैत्री शहर निर्माणका लागि विभिन्न स्थानमा पर्यटक सूचना बोर्ड राख्ने, बेलहिया नाका तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आसपास स्वागत कक्ष स्थापना गर्ने कार्यलाई प्राथमिकतामा राखिनेछ । बुद्ध सर्किट तथा अन्य पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न प्याकेज कार्यक्रम तयार गरी स्थानीय निकाय, पर्यटन कार्यालय, एयरलाइन्स, निजी संघ संस्था तथा ट्राभल एजेन्सीसँग समन्वय गरिने अध्यक्ष महोत्राको भनाइ छ ।
स्थानीय रैथाने तथा पोषणयुक्त (क्यालोरीयुक्त) खानाको प्रवर्द्धन गर्दै रेष्टुरेन्ट व्यवसायीलाई प्रोत्साहन गरिने र भैरहवालाई विशिष्ट खानाको शहरका रूपमा चिनाउने अभियान अघि बढाइने, व्यवसायी तथा श्रमिकको क्षमता अभिवृद्धि गर्न नियमित तालिम, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने उनी बताउँछन् । सिद्धार्थ फुड फेस्टीभल तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिँदै पर्यटन प्रवर्द्धनका लागि स्थायी संरचना निर्माणमा पहल गरिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
यसैगरी, अन्तर प्रदेशस्तरीय भ्रमण, गोष्ठी तथा अन्तरक्रिया आयोजना गरी अनुभव आदान–प्रदान गरिने र आन्तरिक तथा बाह्य पर्यटन बढाउन रात्रीकालीन व्यवसाय, पर्यटक बसाइ अवधि लम्ब्याउने तथा गुणस्तरीय पर्यटन मा जोड दिइने अध्यक्ष महोत्राले बताए । अध्यक्ष महोत्राले सबै व्यवसायी, सरोकारवाला निकाय र स्थानीय समुदायको सहकार्यबाट रुपन्देहीलाई मुलुककै प्रमुख पर्यटकीय तथा आतिथ्य गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको स्पष्ट पारेका छन् ।
यस्ता छन् अध्यक्ष महोत्राको प्रतिबद्धता
- यस क्षेत्रमा ठुला-ठुला सभा सम्मेलन तथा महाधिवेशन गर्न आउने संघ संस्थाहरुलाई आवास तथा खानाको प्रवन्ध मिलाउन सबै व्यवसायी, सरकारी निकाय संगको सहकार्यमा सहुलियत उपलब्ध गराईदिने ।
- कुल पर्यटक अटाउन सक्ने क्षमताको बारेमा जानकारी दिन सजिलो होस भन्ने अभिप्रायले ठुला होटलहरुलाई समेत यस संगठनमा आवद्ध गरेर साना ठुला सबै होटल रेष्टुरेन्टहरुको वर्गीकरण गर्ने ।
- पर्यटन मैत्री शहर भनेर चिनाउनका लागि ठाउँ ठाउँमा पर्यटक सूचनाहरुका होर्डिङ बोर्डहरु राख्ने र बेलहिया तथा गौतमबुद्ध अन्र्तराष्ट्रिय एयरपोर्ट वरिपरि सौन्दर्याकरणका कार्यहरु गर्ने ।
- बुद्धसर्किट तथा अन्य पर्यटकीय गन्तव्यहरुको प्याकेज बनाएर प्रचार प्रसार गर्न स्थानिय निकाय, जनसमुदाय, पर्यटन कार्यालय, Airlines, निजि संघ संस्था तथा टुर्स एण्ड ट्राभल्स एजेन्सीहरु संग सहकार्य गर्ने ।
- Calorie युक्त खाना तथा स्थानिय रैथानी खाना खुवाउने रेष्टुरेन्ट व्यवसायीहरुलाई पुरस्कृत गर्ने र भैरहवा शहरलाई छुट्टै कुनै खानाको लागि प्रसिद्ध शहर भनेर promote गर्ने ।
- व्यवसायीहरुको व्यवसायीक क्षमता तथा रोजगार दाताहरुको स्तर उन्नती तथा गुणस्तरिय सेवा प्रदान गर्ने उत्प्रेरित गर्नका लागि विगतमा जस्तै थप तालिम तथा गोष्ठीहरुको आयोजना गर्ने ।
- विगतका पर्यटन प्रवर्द्धन गर्ने कार्यहरु जस्तै: Siddharth Food Festival तथा सांस्कृतिक कार्यक्रम हरुलाई निरन्तर दिनुका साथै स्थायी कार्यालय स्थापना गर्ने ।
- पर्यटन प्रवर्द्धन गर्नका लागि अन्तर प्रदेश स्तरिय भ्रमण तथा गोष्ठी एवम अन्तरक्रियालाई निम्तो गर्ने र आफुहरु जाने ।
- आन्तरिक तथा वाह्य पर्यटकका लागि रात्रीकालीन व्यवसाय संचालन गर्न, पहल गर्ने पर्यटकको बसाई लम्ब्याउने खालका गतिविधिहरु गरेर Quality tourism बढाउन पहल गर्ने ।









