काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चुनाव पूर्वी रुकुमबाट लड्ने निश्चित भएको संकेत गरेका छन् । शनिबार रुकुम पश्चिममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले साे संकेत गरेका हुन् ।
आफ्नो चुनावी योजना सुनाउँदै प्रचण्डले पूर्वी रुकुम र पश्चिम रुकुम एउटै भएको तर्क समेत गरे । उनले यहाँको विकासका लागि आफू सधैँ प्रतिबद्ध रहेको बताए ।
उनले रुकुमका जनता महान् रहेको र उनीहरू कुनै विचलित तत्त्वको पछि नलाग्ने दाबी गरे । रुकुम एउटा ऐतिहासिक जिल्ला भएको र यहाँका जनताले सधैं क्रान्तिको साथ दिएको बताए ।
प्रचण्डले अब पार्टी हेडक्वार्टरसँग रुकुमेली जनताको सिधा सम्बन्ध हुने आश्वासन समेत दिए । विकास निर्माण, कृषिमा उत्पादकत्व वृद्धि, ऊर्जा, शिक्षा र स्वास्थ्यका क्षेत्रमा नयाँ सङ्कल्पका साथ अघि बढ्न चुनावी घोषणापत्रको लेखन कार्य सुरु भइसकेको जानकारी समेत उनले दिए।









