पाल्पा एक मनोरम पहाडी जिल्ला हो । नेपालको नक्सामा हेर्दा पाल्पाको नक्सा साँच्चिकै नेपालको सानो नक्साजस्तो लाग्छ । यसको कूल क्षेत्रफल १,३६६ वर्ग किमी अर्थात् १,३६,५९३ हेक्टर छ । जसमध्ये करिब ५२ प्रतिशत वनजङ्गल छ । यी वनजङ्गलमा विभिन्न प्रकारका वनस्पति तथा वन्यजन्तु र चराचुरुङ्गीरु पाइन्छन् । बाह्रैमासा चिसो हावा बहन्छ । गर्मी छल्न यहाँ धेरै आउँछन्, रमाउँछन् । पाल्पा जिल्लाको सबैभन्दा होचो भाग समुद्री सतहबाट १५२ मिटर र सबैभन्दा अग्लो भाग १,९९६ मिटरमा रहेको कौडेलेक हो ।
इतिहास
सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा प्राकृतिक विविधताका हिसाबले पाल्पा जिल्लालाई एक धनी जिल्लाको रुपमा हेर्न सकिन्छ । ऐतिहासिक सेन राज्य प्रशासन र संस्कृतिले नेपालकै इज्जत र प्रतिष्ठा माथि उठाएको कुरा पनि इतिहासले प्रष्ट्याएको छ । सम्वत् १८६१ मा पाल्पा राज्य विशाल नेपाल राज्यमा गाभिनुअघि यो एउटा स्वतन्त्र शक्तिशाली राज्य थियो । त्यसैले ऐतिहासिकताका हिसाबले पाल्पालाई ‘काठमाडौं उपत्यकाको भाइ’ भन्ने चलन पनि छ । तानसेनको टुँडिखेलदेखि काठमाडौंको टुँडिखेलसम्म ७९ कोश छ भनिन्छ । काठमाडौंका नेवारहरु र पाल्पाका नेवारहरुको संस्कृति धेरै मिल्छ । पश्चिमाञ्चलकै धनी नेवारी संस्कृति पाल्पामा पाइन्छ । पाल्पामा अपार पर्यटकीय स्रोत र सम्पदाहरु छन् । पाल्पा जिल्लानजिकै नेपालका धेरै ख्याति कमाएका पर्यटकीय स्थलहरु छन् । पाल्पासँग जोडिएको तराइको रुपन्देही जिल्ला सदरमुकाम तानसेन नगरीदेखि जम्मा ३९ किमीमा पर्छ भने करिव ६५ किमीमा भारतीय सीमाको बजार सुनौली पर्दछ । विश्वशान्तिको केन्द्र भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट पनि तानसेन ८० किमीको दूरीमा उत्तरतर्फ अवस्थित छ ।
हरेक हिसावले सुन्दर पाल्पामा अहिलेसम्म पर्यटनको जेजति विकास हुनुपर्ने थियो र यहाँका जनताले जति फाइदा लिनुपर्ने थियो त्यो हुन सकेको छैन । पर्यटन व्यवसायलाई आधुनिक ढंगले विकास गरी यसको उचित प्रवद्र्धन तथा बजारीकरण गर्ने हो भने पाल्पाले धेरै लाभ लिन सक्छ । तर अहिलेसम्म त्यो हुन सकेन । तानसेन नगरपालिकाभित्रै पनि थुप्रै आकर्षणका सम्पदाहरु छन् । प्रायः प्रत्येक इलाकामा कुनै न कुनै पर्यटकीय आकर्षण पाइन्छ । पाल्पाको नेवारी र मगर संस्कृतिले नेपालमा नाम कमाएका छन् । यहाँ अन्य विविध संस्कृति र रहनसहनहरु पनि गाउँठाउँमा छरिएर छन् । यी सबै पर्यटन विकासका लागि असल पर्यटकीय स्रोत हुन् । तर अहिलेसम्म तानसेन र वरिपरिका केही ठाउँमा बाहेक पर्यटनको विकास हुन सकेको छैन । तानसेनमा वर्षेनि केही विदेशी तथा हजारौं स्वदेशी पर्यटकहरु आउँछन् । तर तिनको रेकर्ड राख्ने चलन छैन । तसर्थ पाल्पामा कस्ता, कति र कहाँबाट पर्यटकहरु आए भन्ने कुराको विश्लेषण गर्न कठिन छ । पाल्पाको सदरमुकाम तथा सुन्दर नगरी तानसेनलाई केन्द्रविन्दु बनाएर अहिले पनि केही विदेशी पर्यटकहरु र हजारौंको संख्यामा नेपाली आन्तरिक पर्यटक आउने गरेका छन् । यसरी आउनेहरुमा कतिपय यहाँको प्रकृतिको आनन्द उठाउन, कतिपय ‘पहाडकी रानी’ मानिने तानसेन नगरी (यस सहरले नेपालमा ‘हरित सहर’को रुपमा पनि नयाँ पहिचान बनाउँदै छ) तथा वरिपरिका ग्रामीण बसाइँ र संस्कृतिको अध्ययन गर्न, कतिपय धार्मिक उद्देश्यले (हिन्दू तथा बौद्धिष्ट) त कतिपय पाल्पाको कृषि पद्धतिको अवलोकन तथा अध्ययन गर्न र कतिपय पाल्पाको प्रसिद्ध मिसन अस्पतालमा स्वास्थ्योपचारका लागि आएको पाइन्छ ।
बल्डेङ्गगढी
पाल्पा जिल्लाको रैनादेवीछहरा गाउँपालिकाअन्तर्गत बल्ढेङगढी पर्छ । पहाडको टाकुरोमा रहेको यस गढी क्षेत्रमा पुगेपछि हिमालदेखि तराईको समतल फाँट देख्न सकिन्छ । यहाँ प्राचीन दरवारको भग्नावशेस छ । बल्डेङ्गगढी राज्यभित्र इस्माकोट, मुसिकोट, खांचीकोट र अर्घाकोट पनि समावेश थिए । यो स्थानको रुपमा एैतिहासिक प्रमाणहरु पाउन नसकिए तापनि पुरातात्विक रुपले महत्वपूर्ण स्थानमा लिन सकिन्छ । ऐतिहासिक तथ्यलाई प्रकाश गर्नु पर्ने गढी क्षेत्रको उत्खनन् गरी संरक्षण गर्नु पर्ने देखिन्छ ।
रिब्दीकोट
रिब्दीकोट कुसुमखोला, पालुङमैनादी र ठिमुरेको विचमा यो स्थान छ । घना जंगलको बिचमा रहेको यो ठाउँमा रहेर सेनबंशी राजा रुद्रशेनले शासन संचालन गर्दथे । पछि यहाँबाट राजधानी सारिएको हो भन्ने भनाई छ । यस ठाउँमा जलेश्वर महादेबको मन्दिर पनि छ । उक्त मन्दिरमा भक्तहरु बस्ने व्यवस्था छ । हाल यो ठाउँमा प्राचीन दरबारको भग्नाबशेष मात्र बाँकी छ । घना जंगल क्षेत्र र एक ज्यादै महत्वपूर्ण जलाधार क्षेत्र भएकाले यहाँंबाट यस क्षेत्रका धेरै भूःभाग देख्न सकिन्छ ।
भैरवस्थान
सदरमुकाम तानसेनदेखि करिब ९ किलोमिटर पश्चिम पर्छ । अग्लो स्थानमा भएको हुंँदा यहाँवाट मनमोहक प्रकृतिको दृश्यावलोकन गर्न सकिन्छ । प्रताप शमसेर राणाले प्रतिस्थापित एशियाकै सवैभन्दा ठूलो त्रिशुल प्रख्यात छ । भैरव र माइको मन्दिर यहाँ छ । त्यहांँ रहेको भैरवलाई मणिमुकुन्द सेनले काठमाडौ उपत्यकाबाट ल्याएर स्थापित गरेका भन्ने भनाइ छ । पाल्पा जिल्लामा रहेका चार भैरवहरु (तानसेन अमरगञ्ज, प्रभास, नुवाकोट र भैरवस्थान) मध्य यी भैरवलाई शक्तिशाली मानिन्छ । मुख्य भैरवलाई हेर्न नहुने र हेरेमा झस्केर मृत्यु हुने वा अनिष्ट हुने विश्वास छ । भैरवको नामले प्रख्यात मन्दिरको मर्मत सभार, मन्दिरको नाममा रहेको गुठी जग्गाहरुको खोजी, गरगहनाहरुको खोजी, चढाएको भेटीलाइ संस्थागत गर्न जरुरी छ ।
रानीघाट दरवार (रानीमहल)
रानीघाट दरवार (रानीमहल) क्षेत्र जिल्ला सदरमुकामवाट उत्तरतर्पm २ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ । दरवारलाई रानीमहल, नेपालको ताजमहल, तेजमहल नामले पनि चिनिन्छ । प्रशिद्ध कालीगण्डकी नदीको तीरबाट जग स्थापना गरी निर्माण गरिएको यो दरवार पाल्पाका तात्कालीन वडा हाकिम खड्ग शमसेरबाट आफ्नी रानी तेज कुमारीको सम्झानामा निर्माण गरिएको हो । नदी किनारादेखि नै निमार्ण शुरु गरिएको यस दरवार ३ तल्लाको छ । प्रशसद्ध कालिगण्डकी नदी र शालीग्राम प्राप्त हुने क्षेत्र भएको र यहीं रानीघाटनेर काली गण्डकी झण्डैझण्डै उत्तर तर्फ वगेको हुंँदा धार्मिक पण्डितहरुले यसको अझै ठूलो महत्व छ भनेर व्याख्या गरेको पाइन्छ ।
श्रीनगर
तानसेन बजार भन्दा ठिकमाथि रमणीय श्रीनगरडाँडा छ । समुद्री सतहबाट करिव ४ हजार एक सय फिटको उचाईमा रहेको यो क्षेत्र पुरातात्विक रुपले महत्वपूर्ण छ । श्रीनगरमा रहेका विभिन्न भग्नावशेसहरुको आधारमा यहाँ प्राचीन (सेन) कालदेखि नै वस्ती रहेको अनुमान गर्न सकिन्छ । यहाँबाट धौलागिरी, माछापुछ«्रे, अन्नपूर्ण जस्ता हिम श्रृंखलाहरुको दृश्यावलोकन गर्न पाइन्छ भने पिकनिकस्थलको कारणले पनि यो स्थल महत्पूर्ण मानिन्छ । सेन वंश भन्दा पछि धेरै वर्ष सम्म श्रीनगरलाई नै सदरमुकाम वनाएको देखिन्छ । अमर सिंह थापाले इ.सं. १८७० आश्विन महिनामा हालको टुडिखेल (तलवाट घरवारी उठाई टुडिखेल वनाएका थिए ।
सिद्धबाबा
तिनाउ, ३ अन्तर्गत पर्ने दोभानको सिद्धार्थ राजमार्गसंगै सिद्धबाबा छ । सदरमुकाम तानसेनदेखि करिव ३६÷३७ कि.मी र बुटवलबाट करिव ३ कि.मी. अगाडि पाल्पातर्फ सिद्धबाबा पर्छ । प्रशिद्ध सिद्धको मन्दिर रहेको यस स्थानमा हरेक विहान कुहिरो निस्कने गर्दछ । यसलाई सिद्धवावाले गाँजा खाएर धुँवा उडाएका हुन भन्ने जनयुक्ती छ । दैनिक रुपमा पुजाआराधना हुने विवाहको लगन परेको अवस्थामा विवाह स्थलको रुपमा प्रयोग गरिने यस स्थान पाल्पा र रुपन्देही जिल्लाको आस्थाको केन्द्रको रुपमा छ । सिद्धबाबाले सिद्धि प्राप्त गरेको स्थल भएर पनि यसको ठूलो महिमा भएको हुन सक्छ । दैनिक सैयौंको संख्यामा पाल्पा रुपन्देही लगाएत भारत समेतबाट आएका भक्तहरुले पुजापाठ गर्ने यस स्थानबाट व्यवस्थित गराउनको लागि मन्दिर संचालक समिति समेत गठन गरिएको छ । सिद्धवावा क्षेत्रको नजिकै करौडौ वर्ष अघिका हाम्रै पुर्खा “रामा पिथेकस”को दाँत प्राप्त स्थल समेत छ । यसले गर्दा पनि यो क्षेत्रको अझै महत्व वढ्न गएको छ । त्यसै गरि नेपाल कै पहिलो भूमिगत जलविद्युत आयोजना पनि यसै क्षेत्रमा छ । सिद्धवावा नजिकै रहेको कुइरे भिरको झरना पनि हेर्न लायकको छ ।
सत्यवती ताल
तिनाउ, ४ अन्तर्गत साविकको कोलडाँको अग्लो डाँडाको टुप्पामा सत्यवती ताल छ । सुन्दर तथा घना जङ्गलको वीचमा रहेको यस ताल वास्तव मै सुन्दर छ । कात्तिके पूर्णिमाका दिन साँझमा मेला लाग्ने यस स्थानमा बर माग्ने हो भने सत्यवती माइले पु¥याइ दिन्छिन् भन्ने जनविश्वास छ । चाहेको वर भाग्दा चिच्याएर ताल गरीपरि घुम्दै माग्नु पर्ने हुन्छ । जाडो समयमा यस तालमा प्रसस्त पानी हाँसहरु पाइन्छन् । घना जङ्गल क्षेत्रमा ताल रहेको हुँदा यो ठाउँ जैविक विविधताले भरिपूर्ण मानिन्छ ।
सीताकुण्ड
सदरमुकामदेखि करिव ६० किमी पूर्व रामपुर नगरपालिकाअन्तर्गत साविकको दर्छामा सीताकुण्ड छ । पहाडको अग्लो भागमा रहेको यस कुण्डमा सिताले स्नान गरेको भन्ने भनाई छ । यस कुण्ड वरिपरि रहेका रुखहरु सवै कुण्डतर्फ नै झुकेको देख्न सकिन्छ । वरिपरि गुराँसको बोटहरु रहेको हुँदा गुराँस फुल्ने समयमा यस कुण्ड ज्यादै आकर्षक देखिन्छ । यस वरिपरि आफै उम्रने, आफै फल्ने र आफै झर्ने एक खाले जंगली धान पाइन्छ ।
जुरेगुफा
सदरमुकामबाट करीव ७०÷७५ कि.मी.टाढा निस्दी गाउँपालिकाअन्तर्गत साविकको सहलकोट गाविसमा रहेको यस जुरे गुफा प्राकृतिक गुफा हो । पहाडको चुचुरोमा रहेको यस गुफा ज्याँदै लामो छ र दर्शनीय रहेको छ तर हालसम्म पनि यातायातको सुविधा पुग्न सकेको छैन ।
यी गन्तव्यसँगै जिल्लामा रणउजिरेश्वरी भगवती मन्दिर पनि तानसेनको भगवतीटोलमा रहेको यो मन्दिर वि.सं. १८७१ मा उजीर सिंह थापाले नेपाल–अंग्रेज युद्ध हुदा अंग्रेज पक्षलाई परास्त गर्न पाउं भनी भाकल गरे अनुसार उनको मनोकांक्षा पूरा भए पछि नयाँं मन्दिर बनाएका थिए । यो एउटा उत्कृष्ट पर्यटकीय गन्तव्य हो । यस्तै अमर नारायण मन्दिर यहाँको अर्को गन्तव्य हो । वीर वलभद्र थापाका छोरा सानकाजी अमर सिंह थापाले विं.सं.१८६३ मा यस अमरनारायण मन्दिरको निर्माण गरेका थिए । उनैको नामवाट नै अमरनारायण मन्दिर नामांकरण गरिएको हो । यो मन्दिर आकर्षक काष्ठ कलाले सिंगारिएको छ । तानसेनको मध्य भागमा तानसेन दरवार छ । प्रताप शमशेरद्वारा निर्माण गरेको यो दरवार राणा शासनको समयमा पश्चिम नेपालको प्रमुख प्रशासकीय केन्द्र थियो । ३ तला र वीच भागमा चोक रहेको यो दरवार वर्गाकारको छ । दरवार परिसर संगैसंगै तत्कालीन राणा प्रशासकहरु हात्तिमा चढेर ओहोर दोहोर गर्नको लागी एउटा मूलढोका निर्माण गरिएको थियो र हाल यद्यपी छँदैछ । यस्तै, पुर्नाकोट पनि पश्चिम भैरस्थान नजिक पर्छ । पहाडको थुम्कोमा अवस्थित छ । यस स्थानमा सेनवंशी शासकहरुको राजदरबार रहेको इतिहासहरुमा उल्लेख छ । यहाँ पुगेपछि पुराना इँटाका टुक्राहरु जताततै ठरिएर रहेको देखिन्छ भने यसै स्थानको पूर्बतर्फ एउटा पुरिएको पोखरी जस्तो भाग छ । पाल्पामै साविकको बन्दीपोखरास्थित सामाकोट भन्ने स्थानमा किटको पहाड छ । यो स्थानमा वाइसे चौविसे राजाहरुको पाला वा त्यो भन्दा पनि अगाडि मुद्रा निस्कासनका लागि टक काट्ने गरिन्थ्यो भन्ने भनाइ छ । साविकको वौघागुम्वाअन्तर्गत पर्ने प्राकृतिक सिद्ध गुफा छ । सदरमुकाम तानसेनदेखि करिब एक घण्टाको पैदल यात्रामा पुग्न सकिने योे गुफा पहाडको काखमा भिरालो सतहमा छ ।
जिल्लाको तिनाउ, २ अन्तर्गत दोभान नुवाकोट डाँडामा प्रसिद्ध नुवाकोटगढी छ । सिद्धार्थ राजमार्गबाट उत्तरतर्फ करिव १ घण्टा पैदल यात्रापछि यस क्षेत्रमा पुग्न सकिन्छ । डाँडामा पुगेपछि एउटा प्राचिन चौतारो छ । यस डाँडामा नै सेनवंशी राजाहरुले निर्माण गरेको एक भैरवको मन्दिर रहेको छ । मन्दिरसंगै प्रसिद्ध नुवाकोट गढी छ । यो गढीबाट नै नेपाली फौजले तत्कालीन अंग्रेज फौजलाई परास्त गरेका थिए । ढुङ्गै ढुङ्गाबाट निर्माण गरिएको यो गढीको तीन तह छ । तानसेन वजारवाट करिव ७ किमी तल सिद्धार्थ राजमार्गसंगै एउटा सुन्दर वगैचा देखा पर्छ र किनारमा ताल पनि छ । त्यही भागलाई प्रभास क्षेत्र भनिन्छ । ताल भन्दा दक्षिणतर्फ फैलिएको सुन्दर डाँडा छ । यसै डाँडामा सेन राजाहरुको दरवारको भग्नावशेष वंश गोपालको मन्दिर आदि छन् । माथागढी गाउँपालिका अन्तर्गत साविकको गोठादीको माथा भन्ने स्थानमा माथागढी छ । प्राचीन ऐतिहासिक यस गुठी कसले र कहिले बनाए भन्ने कुरा प्रस्ट हुन सकेको छैन । यस गढीमा हालसम्म पनि युद्धका सामाग्रीहरु छन् । यस्तै, सदरमुकाम तानसेनबाट करिव १०–१२ किमी टाढाको पर्यटकीय परिचित मदनपोखरामा दृश्यावलोकन गर्न सकिने धेरै स्थानहरु छन् । सामुदायिक वन, फलफूल, तरकारी खेती, ग्रामीण रेडियो आदि यस क्षेत्रमा प्रख्यात छन् । प्रसिद्ध माण्डव्य ऋषिको तपोभूमि र मनले चिताएको पु¥याइदिने कोकलादेवीको मन्दिर समेत यसै क्षेत्रमा छ ।
तिनाउ, ४ अन्तर्गत कोलडाँडा सिद्धार्थ राजमार्गसँगै छ । यहाँसम्म पुग्न पैदल करिव दुई घण्टा हिड्नु पर्छ । माथि गाउँमा पुगेपछि परम्परागत ग्रामीण मगरवस्ती कुडुले (गोलो) घर मगर संस्कृती र प्राकृतिक दृश्यावलोकन गर्न सकिने स्थान रहेको हँुदा यो गाउँ ग्रामीण पर्यटन कार्यमा संचालन गर्न उपयुक्त छ । सदरमुकामदेखि करिव २५ किमि पूर्व रम्भा, ५ साविकको ताँहु गाविसमा प्रसिद्ध रम्भापानी क्षेत्र पर्दछ । घना जंङ्गल भित्र रम्भादेवीको मन्दिर छ । सीताको आग्रहमा रामले वाण प्रहार गरी पानी निकालेको र सिताको अर्को नाम रमा भएको हुदा रमापानी भन्दा भन्दै रम्भापानी नाम रहन गएको भन्ने भनाइ छ । सदरमुकामबाट करीव ३० कि.मी. पूर्व पूर्वखोला, ६, साविकको हेक्लाङ गाविसको अग्लो डाँडामा बाकुमगडी छ । पाल्पा राज्य र गोर्खा राज्यवीच लडाई हुँदा पाल्पाले गोर्खालाई यसै गढीबाट हराएको थियो । रम्भा गाउँपालिका, ३ साविकको पिपलडाँडा गाविसमा रहेको रिम्घालेक यस क्षेत्रको प्रख्यात लेकभित्र पर्दछ । अग्लो पहाड भएको कारण यहाबाट हिमाल तथा तराइको दृश्यावलोकन गर्न सकिन्छ । त्यसै गरि विभिन्न जीवजन्तु र जडीबुटीहरु पाइने हुँदा यो क्षेत्र बोटानिकल गार्डेन बनाउन उपयुक्त छ ।
तानसेन नगरपालिका, १२ अन्तर्गत साविकको वौघापोखराथोक गाविसमा केही अग्लो डाँडामा चेचिकोट अथवा रतनपाँडे भन्ने ठाउँ छ । रतनपाँडेलाई प्राचीन कालका प्रख्यात वैद्य र पिनास निकोपार्ने देवता र तान्त्रिकको रुपमा मान्ने गरिन्छ । बगनासकाली, ९, साविकको चापपानी गाविसको वगनास भन्ने ठाउँमा वगनासदेवी मन्दिर पनि छ । यो भगवतीको पुरानो मन्दिर हो । शक्तिकीे प्रतीक भगवती भएकीे हुँदा अष्ठमीमा पंञ्चवली लैजाने गरिन्छ र वली दिइन्छ । यी र यस्ता गन्तव्यले गर्दा पाल्पा घुम्न लायक जिल्ला मानिन्छ । जिल्लामा साविकको भुवनपोखरी गा.वि.समा प्रशिद्ध रैनादेवीको मन्दिर छ । यो मन्दिर यस क्षेत्रमै प्रशिद्ध छ । पाल्पाका सातवटीदेवी मध्ये एउटी देवी रैनादेवी हुन भन्ने भनाई छ । सुन्दर वन जंगलमा रहेको यो स्थानबाट हिमाल तराइ सबै देख्न सकिन्छ र ज्यादै दर्शनीय छ ।
तानसेनबाट १६ किलोमिटर पूर्वको यात्रापछि सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङ पुगिन्छ । यहाँबाट पूर्व ६५ किलोमिटर यात्रापछि रामपुर नगरपालिकाको बेझाड बजार पुगिन्छ । यहाँबाट भने १० मिनेटमै तालपोखरामा पुग्न सकिन्छ । वर्षायाममा मात्र पोखरी बन्ने पाल्पाको रामपुर नगरपालिका, ६, तालपोखरालाई पूर्वाधारसहित निर्माण गरेपछि हेर्न आउने र डुंगा सयर गर्नेको भीड लाग्ने गरेको छ । यो आन्तरिक तथा बाह्य पर्यटकका लागि निकै उत्कृष्ट ठाउँ । माथि किटान गरिएका गन्तव्यलाई चिनाउन सके मात्रै पाल्पालाई मुलुककै एक आकर्षक जिल्ला बनाउन सकिन्छ । यी क्षेत्रबाट पाल्पाको भविष्य उज्ज्वल छ ।
(स्रोतः विभिन्न पत्रपत्रिकाका साथै साविकको जिल्ला विकास समिति पाल्पाले बनाएको गुरुयोजना ।)









