सानो विश्वः लुम्बिनी

विभिन्न मुलकका फरकफरक बौद्ध संस्कृति छन् । आ–आफ्नै कला छन् । धर्मदेशना, ध्यान, प्रजज्या र परित्रान पाठको आफनै संस्कृति छ । अहिलेका अध्येता विविधतायुक्त संस्कृतिको अध्ययन गर्न धेरै ठाउँ जान पर्दैन् । लुम्बिनी आए पुग्छ ।
मनोज पौडेल

पवित्र उद्यान, लुम्बिनी । विश्व शान्तिको मुहान् । शान्तिकामी नागरिकको पहिलो रोजाइँमा पर्ने ठाउँ । त्यही भएर स्वदेश र विदेशबाट शान्तिको सन्देश र प्रेरणा लिन आउनेको ओइरो लाग्ने स्थल । बुद्ध धर्मावलम्बी र अनुयायी तिर्थाटन गर्न आउँछन् भने शुभेच्छुक र शुभचिन्तक शान्ति र सद्भावको ऊर्जा लिन यहाँ आउने गर्छन् । तर लुम्बिनी घुम्न आउनेहरु यहाँ मायादेवी मन्दिर र सम्राट अशोकले बनाएको अशोक स्तम्भ मात्र छ भन्ने बुझ्छन् । त्यसो हैन् । यहाँ त विविधायुक्त बौद्ध संस्कृतिको सानो संसार हो । अर्थात् मिनी बौद्ध वल्र्ड हो । सानो विश्वका मन्दिर विहार र गुम्बाका बनावट, कलाशैली उत्तिकै आकर्षक छन् । त्यहाँ छापिएका परम्परा, शैलीले सबै उमंगित र रोमाञ्चित हुन्छन् । लुम्बिनीका मन्दिर घुम्दा त विविधताले भरिएको गजबको कला र संस्कृति देख्न पाइन्छ । अझ भन्नु पर्दा सानो विश्वकै प्रतिनिधित्व गर्छ । लुम्बिनी गएर मन्दिर विहार अवलोकन गरे विश्वका विभिन्न मुलुक घुमेको भान हुन्छ । उताको विदेशी मुलुकका संस्कृति र परम्परा एकै ठाउँ अवलोकन गर्न पाइन्छ ।

लुम्बिनीको विकास क्रम
सन् १९५६ मा स्वर्गिय राजा महेन्द्रले सडक, विहार र धर्मशाला बनाएर विकासको थालनी गरे । सन् १९६७ मा संयुक्त राष्ट्र संघका महासचिव उत्थान्तले लुम्बिनी भ्रमण गरे । महत्वपूर्ण स्थलको सोचनीय अवस्था देखेर लुम्बिनीको विकासलाई लुम्बिनीको विकासलाई अन्तर्राष्ट्रिय मुद्दा बनाए । १९७० मा संयुक्त राष्ट संघको आह्वानमा लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समिति बन्यो । त्यसै वर्ष जापानी वास्तुकलाविद् केन्जो टाँङगेलाई लुम्बिनीको गुरुयोजना बनाउन नियुक्त गरियो । १९७८ मा नेपाल सरकारले उनको गुरुयोजना स्वीकृत गर्यो । १९८५ मा लुम्बिनी विकास कोष गठन भयो । सन् १९९३ देखि यहाँ विहार मन्दिर बन्न थाले । त्यसपछि विकासको कामहरु देखिन थाल्यो । १९९७ मा लुम्बिनी विश्व सम्पदामा सुचिकृत भयो ।

मिनी बुद्धिस्ट वल्र्ड
बोधीज्ञान प्राप्त गरेपछि बुद्धको नामले चिनिएका सिद्धार्थ गौतम यही लुम्बिनीमा जन्मेका थिए । बोधगायमा ज्ञान प्राप्त गरेपछि उनले ४५ वर्षसम्म दुःखबाट छुटकारा पाउने धर्मदेशना गरे । महापरिनिर्वाण गर्नु अघि उनले आफ्नो शिष्य आनन्दलाई भनेः यस्ता ४ ठाउँ छन्, जहाको दर्शन गर्नु निष्ठावान आवश्यक ठान्छन् । लुम्बिनी, जहाँ तथागत जन्मे, बोधगया जहाँ तथागतले बोधी ज्ञान प्राप्त गरे । सारनाथ जहाँ तथागतले धर्मचक्र प्रवर्तन गरे र कुशीनगर जहा महपरिनिर्वाण प्रवेश गरे । यस्तो पवित्र तीथस्थलको यात्रामा निस्केको कुनै श्रद्धालुको मृत्यु भए त्यस्ले स्वर्गलोकमा जन्म लिनेछ भनेर आनन्द शिष्यलाई भनेका थिए । ईर्सापुर्व २४९ मा सम्राट अशोकले लुम्बिनी भ्रमण गरे । चौथों शताब्दीमा चिनियाँ यात्री सेङ साई, ई ४०३ मा फा शिएन र ६३६ मा हियुएन साङ यहाँ आए । ई. १३१२ मा पश्चिम नेपालका राजा रिपु मल्ल आए । १८९६ मा जर्नेल खड्ग शम्शेर र डा. एए फ्युरर आएर पत्तो लगाए । त्यसपछि लामो समय ओझेलमा परेको लुम्बिनीमा ई. १९५६ मा महेन्द्रले विकासको काम थाले ।
इसापूर्वको दोस्रो शताब्दी सम्राट् अशोकको कालमा बौद्ध धर्मले विश्वव्यापी प्रचारको मौका पायो । त्यसपछिका समयमा बौद्ध दर्शन विश्वका धेरै मुलुकमा पुग्यो । महायान, थेरबादसहित बज्रयान, हिमालयन बौद्ध समुदायसहितका सम्प्रदाय निर्माण भए ।
विभिन्न मुलकका फरकफरक बौद्ध संस्कृति छन् । आ–आफ्नै कला छन् । धर्मदेशना, ध्यान, प्रजज्या र परित्रान पाठको आफनै संस्कृति छ । अहिलेका अध्येता विविधतायुक्त संस्कृतिको अध्ययन गर्न धेरै ठाउँ जान पर्दैन् । लुम्बिनी आए पुग्छ । एउटै थलोमा विभिन्न बौद्ध देश र बौद्ध धर्म संस्कृति मान्ने मुलुकको संस्कृति बुझ्न सकिन्छ । त्यही भएर यसलाई मिनी बुद्ध वल्र्ड भनिएको हो । ‘लुम्बिनी सानो बौद्ध विश्व नै हो, लुम्बिनी विकास कोष उपाध्यक्ष भिक्षु मेत्तेयले भने, ‘धेरैलाई यो कुरा थाहा छैन् । यो कुरा राम्ररी बाहिर ल्याउन सकियो भने लुम्बिनी विश्वकै उत्कृष्ट पर्यटकीय गन्तब्य बन्छ ।’ बौद्ध अध्येता, विद्वान, बौद्ध धर्मावलम्बी उपासक उपासिका र दर्शनार्थीका आस्थाको केन्द्र हुन्छ । विश्व शान्तिको मुहान स्थापित हुन्छ ।

लुम्बिनीको आकर्षण
लुम्बिनीको आकर्षणका रुपमा धेरै विहार मन्दिर छन् । पश्चिम क्षेत्रमा रहेको द ग्रेट लोटस स्तुप जर्मनी निक्कै आकर्षक छ । सरसफाई, हरियाली र रंगीचंगी फुलले अवलोकन वातावरणलाई निक्कै मनमोहक बनाउँछ । त्यहाँ बुद्धको जीवन मूर्ति मार्फत प्रदर्शन गरिएको छ । बुद्धको गर्भ प्रवेशदेखि महापरिनिर्वाणसम्म देख्न पाइन्छ । उस्तै आकर्षक कलाकृती र पेन्टिङ छ । यो सबैको रोजाईमा पर्छ । ड्रिगुङू काग्युद् ध्यान केन्द्र लद्दाख भारत पनि राम्रो छ । त्यस्तै नेपालले बनाएको युनाईटेड टुङ्गाराम विहारको पनि उस्तै आकर्षक देखिन्छ । यो विहार ताइवानीको सहयोगमा नेपाली संस्थाले बनाएको हो । अर्को आकर्षक विहार चीनको जोङहुवा बौद्ध मोनाष्ट्री छ । छिङताव शैलीमा राजदरबार जस्तो डिजाइनमा बनाइएको छ । त्यहाँ पुग्दा चीनको कला संस्कृति र परम्परा जीवन्त देख्न सकिन्छ । ‘हामी नेपालीलाई करुणामैंत्री, सद्भाव र मित्रताको अनुभूति गराउन चाहन्र्छौ’, मोनाष्ट्री प्रमुख गुरु सु चुङ युङले भने, ‘त्यसैको प्रतिबिम्ब यहाँ मोनास्टी देख्न सक्छौं । यहीबाट हामी बुद्धको पंचशील फैलाउँछौं ।’ त्यस्तै भियतनामी विहार पनि राम्रो छ । भियतनामको परम्परा यहाँ झल्किन्छ ।
बुद्धको जीवनीसंग सम्बद्ध भित्तेचित्रहरु कलात्मक ढाँचामा छन् । त्यस्तै अष्ट्रियाको गेडेन र फ्रान्सको लिनसन टेम्पल पनि हेर्न लायक छन् । त्यस्तै दक्षिण कोरिया, जापान, क्यानाडा र सिंगापुर विहार पनि मनछुने खालका छन् । निर्माणाधीन भए पनि नेपालको नेपाल ब्रजयाना समुदाय र सेता गुम्बा विहार पनि मनमोहक छ । त्यस्तै पूर्वी क्षेत्रका विहार पनि कम्ता मनछुने खालका छैनन् । सबैभन्दा राम्रो रोयल थाई विहार छ । थाईल्याण्डको रोयल आर्किटेक्ट कला र शैलीमा विहार जीवन्तता दिइएको छ । मन्दिरको टुप्पोमा हिमाल जस्तो चुचुरो बनाई हिमालयको देश भनेर चिनिने नेपालसँग प्रगाढ सम्बन्ध मन्दिरमै झल्काइएको छ । त्यस्तै मन्दिरमा हिमाल जस्तै टल्कने देखियोेस् भनेर सेतो रंग लगाएर आकर्षण थपिएकोे छ । अहिलेको बढी आकर्षण कम्बोडियाको विहार छ । त्यहाँ कम्बोडियाकै कला संस्कृति झल्कने गरि मोनास्ट्री बनाईएकोछ । मोनास्ट्रीको मुख्य आकर्षण मन्दिर भित्र पिपलको रुखमुनि ध्यानमग्न भगवान गौतम बुद्धको मूर्ति रहेको छ । रुख कृत्रिम रुपमा बनाइए पनि दुरुस्तै उतारिएको छ । मन्दिर चढ्ने ४ वटा पहिलो खुटकिलो सिंढीका दुबैतिर लामो घुमाउरो ड्रयागन बनाइएको छ । निक्कै मसिनो रुपमा कुदिएको कलाकृति हेर्दै माथी चढेपछि मन्दिर प्रवेश द्वार छ । चारैतिरको मन्दिर प्रवेशको मुख्य प्रवेश द्वारमा दायाँ बायाँ सुन्दर सुन्दरीको चित्र छ ।
स्वागत गर्न तम्तयार अवस्थामा रहेको सुन्दरीका तस्विरलाई काठमा कुदेर देखाइएको छ । मन्दिरका भित्र र बाहिर भित्तामा पनि बुद्धको जीवनसंग संबन्धित चित्र, पेन्टिङ र थान्काहरु बनाइएको छ । त्यस्तै आकर्षक म्यानमारको गोल्डेन टेम्पल छ । सुनौलो रंगमा गजबको चैत्य बनाइएको छ । त्यहाँ पुग्दा राजधानी याङगुन पुगेको अनुभूति हुन्छ । त्यस्तै श्रीलंकन महाविहार पनि उत्तिकै आकर्षक छ । त्यहाँ पत्रिव बोधी बृक्षमुनीको बुद्ध प्रतिमाले आस्था र पवित्रता बढाएकोे छ । महाबोधी समाज कलकत्ता, अन्तर्राष्ट्रिय गौतमी भिख्खुनी मन्दिर र बोधी ईन्सिच्यूटले पनि आकर्षण थपेका छन् । यहाँ म्यानमार, थाईल्याण्ड, चीन र श्रीलंका सरकारले विहार संचालन गरेका छन् । अन्य विहारहरु विभिन्न मुलुकका बौद्ध संघ संस्थाले संचालन गरेका हुन् । ‘एकै स्थानमा धेरै परम्परा र संस्कृति जान्न बुझ्न सक्ने वातावरण विश्वका कुनै ठाउँमा पाइँदैन्’, लुम्बिनी विकास कोष योजना प्रबन्धक सरोज भ्टटराईले भने, ‘लुम्बिनीमा यी सबै मुलुकका कला संस्कृति अध्ययन गर्न सकिन्छ ।’ विश्वमा अशान्ति र द्वण्द्व बढीरहेका बेला त्यस्को न्युनीकरण गर्न लुम्बिनीबाटै प्रेरणा पाउन सकिन्छ । त्यसकारण यस्तो अद्वितिय ठाउँको विश्वमा महिमा फैलिँदै गएको छ ।

मौन आह्वान गर्दै लुम्बिनी
शान्ति र सद्भावको धरोहर लुम्बिनीले सबैलाई घुम्न मौन आह्वान गरेको छ । सांस्कृतिक, अध्यात्मिक, पुरातात्विक अन्वेषण र शान्तिको खोजीमा रहेकाहरुलाई लुम्बिनीले तिर्खा मेटाउँछ । बुद्धबारेको गहन अध्ययन र पुरातत्वको मौलिक विश्लेषण यहाँ पाइन्छ । त्यही भएर वरिष्ठ पुरातत्वविद् वसन्त विडारीले लुम्बिनीको मौन आह्वान भनेर ९ भाषा पुस्तकै लेखेका छन् । त्यो पुस्तकले देशविदेशका धेरैलाई लुम्बिनी आउन मौन आमन्त्रण गरिरहेको छ, भिक्षु महासंघका अध्यक्ष भिक्षु मैंत्री महाअस्थवीरेले बताए । यसले बौद्ध मुलुकमा गतिलो प्रचार पुगेको छ । यहाँ विहार हुने बौद्ध मुलुकका गतिविधि, संस्कृति र कलाको अनुपम संगम नै लुम्बिनीमा रहेकाले यसको महत्व विश्वव्यापी रुपमा बढेको पुरातत्व तथा संस्कृतिविद् डा.गितु गिरीले बताए । ‘बौद्ध संस्कृति र कला बुझ्न लुम्बिनी विश्वकै महत्वपूर्ण गन्तव्य हो’, उनले भने, ‘त्यही भएर हाम्रो साझा धरोहरप्रति हामी गर्भ गर्छौं ।’

शान्तिको प्रतीक
शान्तिको प्रतीक बनाइएका सृजनाले साँच्चै गजबको प्रतिकात्मक अर्थ दिएका छन् । पावनभूमि लुम्बिनीको मुहार फेरिदिएका छन् । निप्पोजान म्याहोजी जापानले नव लुम्बिनी ग्राममा विश्व शान्ति स्तुप बनाएको छ । स्तुप ४१ दशमलब ५ मिटर अग्लो र २० मिटर गोलाइको छ । त्यस्तै स्तुपको आधार स्तम्ब ५९ मिटर गोलाइको छ । ९ सय मेट्रिक टन सिमेन्ट लागेको उक्त स्तुपमा २७ हजार स्क्बायर फुट मार्बल प्रयोग गरिएको छ । स्तुपको गर्भ र गजुरमा भगबान गौतम बुद्ध पवित्र अस्तुधातु प्रतिस्थापन गरिएको छ । यहाँ स्थापित ४ मूर्तिहरुले शाक्यमुनिको जन्म, सम्बोधी, पहिलो देशना र महापरिनिर्वाण जस्ता बुद्धजीवनीका ४ घटना व्यक्त गर्छन् । त्यस्तै लुम्बिनी मै विश्वभरि अमनचयनको सन्देश प्रवाहित गर्दै ३३ वर्षदेखि शान्ति ज्योति अनवरत बलिरहेको छ । पवित्र उद्यानको उत्तरतर्फ केन्द्रिय कडीको दक्षिण पुछारमा ज्योतिले शान्ति फैलाइरहेको छ । संयुक्त राष्ट्र संघले सन् १९८६ लाई शान्ति वर्ष उत्सव मनाएको थियो । त्यसै बेला खेलाडीहरुले ५४ मुलुक घुमाउँदै ल्याएको राकोबाट उक्त ज्योति जलाइएको हो । त्यस्तै शान्ति ज्योति भएको ठाउँबाट करिब २५ मिटर पूर्व बडेमाको शान्ति घण्ट छ । घण्टमा शान्तिका लागि हजारौं बौद्ध सुत्रहरु कुदिएका छन् । सन् २००५ २३ तारिकमा उक्त घण्ट स्थापना गरिएको हो । यी ३ वटै शान्तिका प्रतिकले विश्वलाई नै शान्तिको सन्देश फरक–फरक तरिकाले फैलाइरहेका छन् ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका