अर्घाखाँची विकासको आधार सम्पदा

पर्यटन क्षेत्रको विकासबाट जिल्लाको आर्थिक अवस्थामा सुधार गर्नुका साथै स्थानीय बासिन्दाहरुको जीविकोपार्जनमा व्यापक सुधार ल्याउन सकिने पर्याप्त सम्भावना छ ।
सुरज घिमिरे

अर्घाखाँची पहाडी जिल्ला हो । यहाँ हिउँदमा न्यून जाडो हुन्छ । गर्मीमा स्वच्छ चिसो हावा बहन्छ । बाहै्रमास मौसम उस्तैउस्तै हुन्छ । गर्मीले आत्तिएका तराईबासीका लागि एउटा उपयुक्त गन्तव्य हो । त्यसैले जिल्ला पर्यटन प्रबद्र्धनमा अग्रणी छ । यहाँ उद्योगधन्दा तथा कलकारखाना छैनन् । कृषिभूमि छ तर पर्याप्त अन्न फल्दैन । यसैले यहाँका डाँडाकाडा, मठमन्दिरलाई प्रबद्र्धन गरी पर्यटन विकास गर्नुको विकल्प छैन । पूर्वपश्चिम राजमार्गसँग जोडिएको जिल्लामा दर्जनौं ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा सुन्दर रमणीय पर्यटकीय सम्पदा छन् । यहाँका सम्पदा चर्चित छन् । सुपादेउराली मन्दिर खाँचीकोट, पाणिनी तपोभूमि पणेना र भगवति मन्दिर अर्घा देशकै प्रशिद्ध मानिन्छन् । तराईको गर्मी छल्न अर्घाखाची उपयुक्त जिल्ला हो ।
यहाँको सुपादेउराली मन्दिर जिल्लाको मात्रै नभई मुलुककै पहिचान हो । यो मन्दिर भारतका विभिन्न क्षेत्रहरुमा समेत उत्तिकै चर्चित छ । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डमा पर्ने चारैतिरबाट चट्याङ नै चट्याङले बनेको र हरिया पहाडका बीचमा छ, सुपा मन्दिर । धार्मिक सांस्कृतिक र प्राकृतिक रुपले भरिपूर्ण क्षेत्रमा रहेको मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुले स्वच्छ, सफा मनले मागेको कुरा देउराली माताले पुरा गर्छिन् भन्ने जनविश्वास छ । यहाँ दैनिक भक्तजनहरुको भिड हुन्छ । २०४२ साल मास्थापना मन्दिर नजिकै एउटा ठुलो चट्टनमा मान्छे जस्तो छायाँ छ । भनिन्छ सुपादेउराली माताले लाहुरे टाँसेकी हुन् । लाहुर जाँदा भाकल गरेर पुरा नगरि पटक–पटक छल गरि हिँड्दा माताले भिरमा टाँसेकी हुन भन्ने भनाइ छ । यो भिरलाइ लाहुरे टाँसिएको भिर भनिन्छ ।
सुपा मन्दिर हेर्दा अति सुन्दर छ । अझ पछिल्लो समय सडक निर्माण गर्ने क्रममा मन्दिर नजिकको खाँची खोला दोभानमा नयाँ गुफा भेटिएको छ । गुफा बाहिरबाट हेर्दा सामान्य भए पनि भित्र शिव लिङ्ग, गणेश जस्ता विभिन्न कलात्मक दृष्यहरु पनि देख्न सकिन्छ । देउरालीको दर्शन गरी भाकल गरेमा चिताएको पुग्ने विश्वासको आधारमा नेपालका ३० भन्दा बढी जिल्ला र भारतबाट समेत भक्तजनहरुको प्रत्येक दिन घुइँचो लाग्ने गर्दछ । नेपालका एकसय पर्यटकीय गन्तब्यमा समेटिएको यो मन्दिर अर्घाखाँचीको समृद्धिको आधार हो । यस्तै, पाणिनी ऋषिले तपस्या गरेको पाणिनी तपोभूमि पणेना संसारकै पवित्र ठाउँ मानिन्छ । विश्वको प्राचीन संस्कृत भाषा व्याकरणको उत्पत्ति भएको र रचना भएको अर्घाखाँचीको पाणिनि तपोभूमि पर्यटकीय गन्तव्य हो । हजारौं बर्ष पहिले पाकिस्तानको लाहोरवाट तपस्या गर्दै अर्घाखाँचीको खिदिममा आएका पाणिनि ऋषिले पणेनाको लेकमा तपस्या गरेर संस्कृत ब्याकरणको रचना गरेका थिए । पाणिनि तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुख स्थल हो ।

यसै क्षेत्रमा आएर पाण्निी ऋषीले तपस्या गरेपछि भगवान शिब प्रशन्न भएर डम्मरु बजाउँदै अइउण, रिलृक, एओ आदि चौध सूत्रको स्वर निकालेको र ती चौध सूत्रबाट संस्कृत ब्याकरणको रचना गरेको पंडित केशवानन्द मरासिनीको भनाइ छ । अधिकांश हिमशिखर र तराईका भू–भागको एकैठाउँबाट दृश्यावलोकन गर्न सकिने पणेनाको प्राकृतिक वातावरण साँच्चै चर्चा गर्न योग्य छ । जिल्लामा दर्जनौ सुन्दर पहाड, सयांै मठ मन्दिर, दह, पोखरी र प्राकृतिकगुफाहरु तथा बाइसे–चौबिसे राज्यका दरवार समेत छन् । यसले जिल्लालाई थप सुन्दरीकरण गरेको छ नै पर्यटन विकासका सम्भावनालाई थप बलियो बनाएको छ ।
जिल्लाको अर्को प्रमुख ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल खाँचीकोट दरबार हो । १५औं शताब्दीदेखि खाँचीकोट राज्य अस्तित्वमा थियो । उक्त अवधिमा विभिन्न राजाले शासन चलाएको इतिहास छ । स्थानीय काठ, ढुंगा, इँटा, टायल र धातुको संयोजनले दरबार बनाइएको यो दरबार साँच्चिकै हेन लायक छ । १५ फिट लामो, १५ फिट चौडा र १९ फिट उचाइको तेलिया इँटले बनाएको मुख्य दरबार ४० सालसम्म अस्तित्वमा थियो । आवासीय शैलीको दुईतले २२ फिट लामो, १० फिट चौडा र ९ फिट अग्लो इँटाले बनाएको पौवा यहाँ छ । मन्दिरको एक कुनामा माटोका विभिन्न आकृति बनाइन्छ । तरबार समाएको राक्षस, घोडा र महिषासुरलगायतको आकृति बनाउने प्रचलन छ । ती आकृतिमा देखिएका सबै महिषासुरका फौज हुन् भन्ने मान्यता छ । प्रत्येक वर्ष दसैंका दिन ती आकृति काट्ने परम्परा छ । ‘राक्षस भनेर ती सबै आकृति काट्ने गरिन्छ’, स्थानीय गोपाल पौडेलले भने, ‘रथयात्रा, सराय नाचलगायत गतिविधि गर्दै पूर्णिमाका दिन देवीको विसर्जन गरिन्छ ।’
१३ औं राजा दलजित शाहको खाँचीकोट दरबारमा जन्मिएकी छोरी चन्द्र प्रभावतीको गोरखाका राजा नरभूपाल शाहसँग बिहे भएको थियो । त्यसैले पनि यो दरबारलाई विशेष महत्वका रूपमा लिइन्छ । उनले पृथ्वीनारायण शाहलाई राजकीय व्यवहार, शासन पद्दति, हतियार सञ्चालन गर्न र बाइसे–चौबीसे राज्यलाई एकीकरण गर्न उत्प्रेरित गरेकी थिइन् । फलस्वरूप अहिलेको एकीकृत नेपाल देख्न पाइएको स्थानीय बताउँछन् । यसैले पनि जिल्लालाई थप गन्तव्यका रुपमा विकास गरेको छ ।
यस्तै, भगवति मन्दिर अर्घा, डमरुदह ठाडा, दुर्वासेश्वर गुफा खिदिम, उल्क छत्र महाराजको मन्दिर छत्रगञ्ज, जालकाँडा लेक, खन, बल्कोट पौवा र शिवालय बल्कोट, नर्तनाञ्चल पर्वत र रामवाण तपोभूमि नरपानी, मसिना र तीनपाने लेक धातिवाङ्ग, सेङलेङ्ग दहधनचौंर, सुपा देउराली खाँचीकोट, मनचिन्तेपानी मालारानी, सितखोलाको झरना, रावणको शंखसितापुर, भाले ओढार धारापानी, पकले बगैंचा र पौवा किमडाँडा, भूमिकास्थान मन्दिर, ढाकावाङ्ग, सिमे देउराली गोखुङ्गा, घेराको लेक खनदह, नृसिंह मन्दिर हंसपुर, राँगामारे मन्दिर हंसपुर, कोदारे झरना अर्घातोष, सरेपानी ठाडा, गौचौरको दह ढिकुरा, तिलखुवा झरना, जिखोदी गुफा वाङ्ला, हटियादेबी मन्दिर जिल्लाका प्रमुख ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल हुन् । यसैगरी ढावरखोला झरनाचिदीका, मधु लेकको गुफाचिदीका, धैरेनी राजाको दरवार, ठुलापोखरा, सिद्धबाबा स्थान खनदह, जालकाँडा मन्दिर खन, छहरा खोलाझरना खन, खन देउरालीगुफा खन, गोपेश्वर पीठ वाङ्ला, लामपाटी पौवावाङ्ला, ओडारपानीगुफा अर्घा, गोहोरथुम देउराली किमडाँडा, बान्द्रे गुफागोखुङ्गा, छहरे खोला झरना सिमलपानी, ठुलापोखरा, गुफा सिमलपानी, रानीओढार सुवर्णखाल, मेघनाथ गुफा सिद्धारा, गुरुङ भिरको गुफा सिद्धारा, कालीमाटीको लेक मैदान, मालिकामन्दिर खिदीम, कैलाश डाँडा पणेना अन्य आकर्षक स्थल हुन् । यी ठाउँलाई एकीकृत गरी विकास गर्नु पर्ने खाँचो छ । तर अहिलेसम्म विकास हुन सकेका छैनन् । एकीकृत विकास गरेर प्रदेशका अन्य पर्यटकीय गन्तव्यसँग जोडेका पक्कै पनि जिल्लामा पर्यटकको ओइरो लाग्नेमा दुईमत छैन ।
पर्यटन क्षेत्रको विकासबाट जिल्लाको आर्थिक अवस्थामा सुधार गर्नुका साथै स्थानीय बासिन्दाहरुको जीविकोपार्जनमा व्यापक सुधार ल्याउन सकिने पर्याप्त सम्भावना छ । सरकारी उदासीनता र संचार माध्यमको पँहुचको अभावमा जिल्लाका सम्पदाहरु सधैं ओझेलमा छन् । जिल्लाका हजारौं युवाहरु रोजगारीको लागि खाडी मुलुकमा जान बाध्य भएको अवस्थामा पर्यटकीय क्षेत्रको विकास गर्न सकिएमा स्थानीय तहमै रोजगारी सिर्जना गरी विदेश पलायन हुनबाट युवा जनशक्ति रोक्न सकिन्छ । प्रकृतिको स्पर्शका लागि लालायित पर्यटकीय मनहरुले सम्झिने अर्घाखाँचीको पर्यटनमा विकास नहुनु दुःखद् हो । पर्यटन क्षेत्र विकासका लागि कुनै पनि स्थानीयतहले कदम चालेको देखिन्न । एकातिर पर्यटन प्रबद्र्धनका लागि कुनै ठोस पहलकदमी नहुनु एउटा चुनौति छँदैछ भने अर्कातिर भएका नीतिनियमको पनि सहीरुपमा कार्यान्वयन गराउन नसक्नु अर्काे चुनौति छ । यसर्थ सुरुमा स्थानीय तहहरुले आफ्ना क्षेत्रमा पर्ने पर्यटकीय स्थलको संरक्षण गरी पर्यटक प्रबद्र्धनका कार्यक्रम अघि सार्नुपर्छ । प्रदशे र संघ सरकारको हातेमालो लिनुपर्छ । जिल्लाको आस्रोतको मुख्य माध्यम पर्यटनलाई नै बनाउनुर्छ । तवमात्रै अर्घाखाँचीको समृद्धि हासिल हुनसक्छ । अन्य स्रोत नभएको जिल्लामा भएका पर्यटकीय गन्तव्यको नै प्रबद्र्धन गरिएन भने स्रोत व्यवस्थापन कमजोर हुन्छ र विकास पछि धकेलिन्छ ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका